आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १५:५६ |सिड्नीको समय: १३:५६ |काठमाडौंको समय: ०९:४१

कन्सल्टेन्सीमार्फत जापान पठाउने गिरोहले ठग्यो तीन करोड

एएनजेड खबरमे ३, २०२४

काठमाडौं । भेट्टाएको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्दै आएका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी–७ स्थायी ठेगाना रहेका राजन श्रेष्ठ र झापा गौरादहका ईश्वरी पाण्डे रहेका छन् ।

पक्राउ परेका पाण्डे र श्रेष्ठले नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी ‘नियोनी एजुकेशन’ नामको कन्सल्टेन्सी चलाएर जापान पठाइदिने भन्दै ठगी गर्दै आएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार उनीहरुले जापन पठाइदिने भन्दै दुई सयभन्दा धेरै ब्यक्तिबाट करिब ३ करोड ठगी गरेका थिए ।

पाण्डे र श्रेष्ठले अर्काको नाममा कन्सल्टेन्सी दर्ता गरी पुतलीसडकमा अफिस राखेर सञ्चालन गरिरहेका थिए । उनीहरुले अध्ययन तथा रोजगारी जापन पठाइदिने भन्दै एक व्यक्ति बराबर ४ लाखदेखि ७ लाख रुपैयाँसम्म उठाउने गरेको प्रहरीले बताएको छ । नारायणबहादुर राईले भने आफ्नो नागरिकता करिब १५÷१६ वर्ष पहिला नै हराएको प्रहरीमा बयान दिएका छन् ।

उनीहरुलाई पक्राउ गर्दा प्रहरीले विभिन्न बैंकका चेकबुक, बैंकमा रकम जम्मा गरेको भौचर, ल्याप्टप, विभिन्न कम्पनीका मोबाइल, विभिन्न व्यक्तिहरुको राहदानी र विभिन्न व्यक्तिहरुको नामको एटीएम बरामद गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको हो ।

तपाइँको प्रतिक्रिया