सोमबार, मंसिर २०, २०७८ |Mon Dec, 2021
अक्ल्याण्डको समय: २१:२२ |सिड्नीको समय: १९:२२ |काठमाडौंको समय: १४:०७

जोत्न, खन्नदेखि सेलरोटी पकाउन सिकाउने स्कुल

एएनजेड खबरजुन १५, २०२१


नेपालको शिक्षा बेरोजगार जन्माउने कारखानाका रुपमा आलोचित छ । सीप सिकाउने भन्दा भएको सीप बिर्साउने हाम्रो शिक्षा प्रणाली तीनघण्टाको घोकन्ते विद्या नाप्ने यन्त्र बन्दै आएको छ । सबैभन्दा बढी बजेट शिक्षामै खन्याइए पनि हिजो, आज मात्र होइन, भोलि पनि शिक्षाले आलोचित हुनुपर्ने अवस्था छ । किनकी आज रोपिएको बीउअनुसार नै बाली लाग्ने हो । राजनीतिक क्रान्तिपछि बन्ने हरेक सरकारले प्रविधि, व्यावसायिक र व्यवहारपयोगी शिक्षा दिने उद्घोष गरेपनि ती सवै प्रतिवद्धता पानीको फोकाजस्तै बन्ने गरेका छन् । अन्धकारमा चाँदीको घेरो भनेजस्तै नेपालका दूरदराजमा रहेका तीन विद्यालयका विषयमा चर्चा गर्दैछौं । यी विद्यालयमा पढ्ने विद्यार्थी कागज थोरै, जीवन धेरै पढ्छन् । त्यहाँ काम सिकाइन्छ ।

This image has an empty alt attribute; its file name is photo-11-1024x681.jpg

कृषिविज्ञ मदन राईको सक्रियतामा खोटाङमा खोलिएको शुभद्रा–मदन फाउण्डेशनको खुल्ला शिक्षालयका विद्यार्थीहरुको दैनिकी सुन्दा नै रोमान्चक लाग्छ । त्यहाँ पढ्ने विद्यार्थीले दैनिक पाँच घण्टा शारीरिक श्रममा विताउनुपर्ने नियम छ । एकछिन अघि घोडा दौडमा व्यस्त विद्यार्थी केही छिनपछि गाई दुहुन व्यस्त हुन्छ । त्यही विद्यार्थी सुँगुरलाई चारो हाल्न पुग्छ । वृक्षारोपण गरिरहेको भेटिन्छ । घाँस काटेर भारी हाल्दै गरेको देखिन्छ । साँझमा त्यही विद्यार्थीका साना हात कम्प्युटरका किबोर्डमा रमाइरहेका हुन्छन् ।
१३ सय रोपनीमा फैलिएको यो संसार वृहद् गुरुकुल हो । आफूलाई चाहिने चीजवस्तु यहीँ उत्पादन हुन्छ । यहाँ पढेर निस्कने विद्यार्थी के जान्दछ भन्दा पनि के जान्दैन भन्ने हो । खेतीपाती, घाँसभात, गाईभैंंसी, भेडा, सुँगुर, कुखुरा, हाँस, टर्की बट्टाई, लुइँचेदेखि माछा, मौरीसम्म पालन गरिएको छ । पालनपोषणको सम्पूर्ण कर्म विद्यार्थीकै हातबाट हुन्छ । स्कुल हाताभित्रै बिजुली, सोलार बत्ती छ । काठको धुलो, झिक्रा, गोबर ग्याँसबाट इन्धनको आपूर्ति प्रयोग गरिन्छ । सबै उमेर समूहका लागि कामको पालो लगाइन्छ । यहाँ पढ्ने विद्यार्थीका लागि अंग्रेजी र चिनियाँ भाषा अनिवार्य छ । किताव घोक्न पूर्ण बन्देज छ । काम सम्पन्न गरिसक्दा उसले बाँचौं र बचाऊँको अकाट्य ज्ञान प्राप्त गरिसकेको हुन्छ । विद्यार्थीले जुन कर्म गर्छ , उसले गरेको काम कलमले कागजमा लेख्नुपर्छ । कागजमा लेखिएको विषय अन्त्यमा कम्प्युटरमा उतार्नुपर्छ । आफूले लेखेको विषय माइकमा उभिएर सबैलाई सुनाउनुपर्छ । यसबाट उभित्र बहुआयामिक प्रतिभा विकास हुने गरेको फाउण्डेशनका अध्यक्ष मदन राई बताउनु हुन्छ । टेलिभिजनमा प्रसारित कार्यक्रम मध्ये समाचार र सूचनाजन्य हेर्न अनुमति छ ।

This image has an empty alt attribute; its file name is photo-3-1024x472.jpg


यसैगरी सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा पर्ने कालिका गाउँमा रहेको स्कुलको बेग्लै प्रतिष्ठा छ । यहाँ सीमान्तकृत माझीको बसोबास रहेको छ । यो गाउँ चरम गरिबीको खुल्ला पुस्तकको परिचय बोकेर वर्षौंदेखि बसिरहेको छ । तर, तिनै गरिबका सन्तान पढ्ने उखुबारीमा रहेको यो विद्यालयका विद्यार्थीहरुको दैनिकी लोभलाग्दो छ । सामुदायिक भएर पनि निजी विद्यालयलाई टक्कर दिन सक्ने क्षमता भएको कालिका आधारभूत विद्यालयले आफ्ना विद्यार्थीहरूलाई शिक्षा हैन, ज्ञान बाँड्छ । जुन विद्यालयमा घोकन्ते विद्या पूरै बर्जित छ । जहाँ चक, डस्टरको प्रयोग हुँदैन । कक्षा कोठामा शिक्षक र विद्यार्थीबीच साथीभाइजस्तो व्यवहार हुन्छ । पाठ नघोकेको या गृहकार्य नगरेको नाममा कुनै शिक्षकले विद्यार्थीलाई कुट्नु त परै जाओस, कर्के नजरसम्म लगाउन पाइँदैन ।
आफ्ना विद्यार्थीलाई जीवन उपयोगी शिक्षा दिन शिक्षकहरू दिनरात मेहनत गर्छन । पाठै पिच्छेका प्रयोगात्मक सामाग्री तयार गर्नु शिक्षकको दैनिकी बन्दै आएको छ । शिक्षकहरूको मेहनत हेर्दा लाग्छ– उनीहरू दिनैपिच्छेको अग्निपरीक्षामा छन । घोकन्ते विद्या भन्ने परम्परागत उक्तिलाई यहाँको वातावरणले मिथ्या सावित गरिदिन्छ । एउटा सानो विद्यालयले नौलो तरिकाबाट बाल मस्तिष्कमा शिक्षाको आलोक छर्न गरेको प्रयास यसक्षेत्रकै लागि नमूना बनेको छ ।

This image has an empty alt attribute; its file name is photo-school1.jpg


विद्यार्थी कहिले ढिकी, जाँतो, ओखल कुटेर शिक्षाको अभ्यास गरिरहेका हुन्छन त कहिले मदानी र ठेकीको घार्रघुर्रमा रमाइरहेका हुन्छन । हलगोरु बनेर हलो जोत्नेदेखि असारे गीतमा छुपुछुपु रोपाइँ गर्ने विद्यार्थीको उत्साह उत्तिक्कै चाखलाग्दो देखिन्छ । व्यावहारिक र सिर्जनात्मक विधिबाट विद्याथीले धेरै सिक्न सक्छन भन्ने विश्वव्यापी मान्यता हो । विज्ञान होस या गणित, अंग्रेजी होस या नेपाली सबै विषयको प्रयोगात्मक अभ्यास हुन्छ । पढ्ने क्रममा विद्यार्थी यसरी रमाएर पढ्छन कि उनीहरु पढेको पत्तै पाउँदैनन । संगीतका माध्यमबाट मनोरञ्जनपूर्ण बनाएर सिकाइएको यो विधि आफैंमा रोमाञ्चक छ ।
पढाइमा मात्र हैन, खेलाइमा समेत विद्यार्थीको वृत्ति विकास र स्वास्थ्यमा ध्यान दिने गरिएको छ । स्वास्थ्यलाई हानी पु¥याउने रबर जोडेर केटाकेटी बीच खेलिने लोकप्रिय चुंगी खेल यिनीहरू स्थानीय वनस्पतिको उपयोग गरेर खेल्छन । पढाइको यो विधिले शिक्षासँगै समाजबाट लोप हुने क्रममा रहेका परम्परागत वस्तुका विषयमा भावी पुस्तालाई जानकारी दिने काम पनि भएको छ । यस्तो शिक्षाको परिणाम के त रु विद्यार्थीमा सीपमूलक क्षमताको विकास र घर व्यवहारमा सहभागिता बढेको शिक्षकहरूको अनुभव छ । बाउआमालाई कामकाजमा सघाउने चरित्रको विकास उनीहरूमा भएको छ । यतिमात्र होइन, प्रयोगात्मक ज्ञानले आर्जेको ज्ञान चिरस्थायी बनाउन सहयोग गरेको छ ।

This image has an empty alt attribute; its file name is photo-4.jpg


माध्यम हलो, जुवा, ढिकी जाँतो भए पनि त्यसको गन्तव्य आधुनिक शिक्षा पद्दति नै हो । अंग्रेजी भाषा लेखन र बोल्नमा पनि विद्यार्थी दक्ष छन । त्यहाँ कार्यरत शिक्षक शिक्षिका यसलाई ‘अर्गानिक’ शिक्षा भन्न रुचाउँछन । यसले दिएको अर्को सन्देश के हो भने शिक्षक शिक्षिका स्वयं विद्यार्थीभन्दा बढी मेहनत गर्छन । यहाँको पठनशैलीबारे देशदेशावर चर्चा हुने गरेको छ । अरू जिल्लाका शिक्षाप्रेमीहरू समेत यहाँ आएर आफ्नो विद्यालयमा समेत यही शैलीको पठनकला भित्र्याउन चाहेको बताउँदा यहाँको व्यवस्थापन, शिक्षक शिक्षिका दंग पर्छन । सानो मेहनतले उनीहरूले विद्यालयलाई यो ठाउँमा पु¥याएका होइनन । शुरुशुरुमा अभिभावकले ‘हली’ बनाउन स्कुल पठाएको हैन भन्दै धेरै विरोध गरे । कतिले भर्ना भएका बच्चा अन्यत्र लगे । जब शिक्षाको सकारात्मक प्रभाव बढ्दै गयो, गएकाहरु फिर्ता हुन थाले । विद्यालय परिवारले यसलाई विजय ठानेको छ ।

This image has an empty alt attribute; its file name is photo-6-1024x498.jpg


यसैगरी तनहूँको व्यास नगरपालिका–१२ भड्खालास्थित मत्स्यकन्या आधारभूत विद्यालयको गाथा त्यस्तै विचित्रको छ । यहाँ पढ्ने शिक्षक तथा विद्यार्थीले दिउँसोको खाजा चार रुपैयाँमा खाँदै आएका छन । उक्त विद्यालयले नेपाली पराम्परागत कला, सीप र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्ने गरेको छ । गुन्द्री बुन्ने, दही मथ्ने, जाँतो चलाउने, ढिकी कुट्ने, मकै भुट्ने र हलो जोत्ने सीप विद्यार्थीको दैनिक रुटिनभित्र पर्छ । सरकारले नमूना विद्यालयका रुपमा अवार्डसमेत प्रदान गरिसकेको छ । अहिले त व्यावहारिक शिक्षालाई बढाएर दुनाटपरी गाँस्ने, डोको तथा भकारी बुन्नेसम्म विस्तार गरिएको छ । विद्यार्थीहरु आफ्नै हातले मकै भुटेर खाजा खाने गर्छन ।
तनहूँको घाँसीकुवामा रहेको माया एकेडेमी पनि यस्तै व्यवहारोपयोगी शिक्षाका लागि परिचित छ । यहाँ त झन् युरोप, अमेरिकाको लेभलमा अंग्रेजी ज्ञान दिइन्छ । विदेशी स्वयंसेवक पढाउनकै लागि विदेशबाट आउँछन । विद्यालय हातामै कृषि, पशुपालन गरिएको छ । तिनीहरुको रेखदेख विद्यार्थीले गर्नुपर्छ । जंगलको बीचमा रहेको यो विद्यालयमा आवासीय सुविधा छ । त्यसैगरी समता स्कुलले पनि एकसय रुपियाँ फि लिएर पढाई सञ्चालन गर्दै आएको छ । देशका विभिन्न भागमा यसका शाखा सञ्चालित छन् ।
गाउँका एकाधवटा कुनाको विद्यालयमा बालिएको प्रयोगात्मक शिक्षाको यो दियोलाई देशव्यापी बनाउनु आवश्यक छ ।

SONY DSC

तपाइँको प्रतिक्रिया