शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २३:५४ |सिड्नीको समय: २१:५४ |काठमाडौंको समय: १७:३९

एनआरएनए अष्ट्रेलियाको अध्यक्ष बनाउन राजनीतिक चलखेल

को बन्छ अध्यक्ष ?

एएनजेड डेस्कजुन १८, २०२१


गैरआवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया यतिखेर आगामी कार्यकाल २०२१–२३ का लागि नयाँ नेतृत्व चयन गर्न निर्वाचनको तयारीमा लागेको छ । आगामी जुलाई ३१ को दिन निर्वाचन गर्ने भनिए पनि सदस्यता वितरण लगायतका विभिन्न वाधाहरुलाई कारण देखाउदै अगष्टको २८ तारिखका दिन निर्वाचनको मिति सार्न एनआरएन कार्यसमितिले प्रस्ताव गरेको छ । तर एनआरएन अन्तराष्ट्रिय समितिले हालसम्म स्विकृति नदिएका कारण निर्वाचन कुन मितिमा हुन्छ भन्ने यकिन जवाफ कसैसंग नभएको अभियन्ताहरुले नै बताएका छन् ।
अष्ट्रेलियामा बढ्दै गएको चिसोमा पनि उम्मेदवारका आकांक्षीहरुको चर्चा परिचर्चाले यहाँका नेपाली समाजको माहौल तातेको छ । एनआरएन विशुद्ध सामाजिक संस्था भएपनि नेपाली राजनीतिक दलसंग निकट समूहहरुले प्यानल बनाउने र उम्मेदवारहरु तोक्ने तथा प्यानलवाट टिकट पाउनबाट वञ्चितहरुको समूहले विद्रोह गर्ने जस्ता गतिविधिले चर्चा पाईरहेको छ ।
विगतमा कांग्रेस र कम्युनिष्टवीच तीव्र प्रतिस्पर्धा हुने गरेपनि यसपटक कम्युनिष्टहरु स्पष्ट दुई खेमामा विभाजित भएकाले कांग्रेसले क्लिनस्विप गर्ने एकथरिको तर्क थियो । तर टिकट वितरण प्रकृयाप्रति कांग्रेसकै एक समूहले असन्तुष्ट ब्यक्त गर्दै विद्रोह गर्न सक्ने समेतको चेतावनी दिएपछि तिव्र राजनीतिक ध्रुविकरण हुन सक्ने संभावना रहेको बताइन्छ ।
नेपाली कांग्रेस निकट जनसम्पर्क समिति र नेपाल अष्ट्रेलिया डेमोक्रेटीक फोरमका प्रतिनिधि सम्मिलित स्टेरिंग कमिटी मार्फत छानिएको उम्मेद्वार छनौट समितिले अष्ट्रेलिया अध्यक्षका लागि हालका प्रवक्ता नन्द गुरुंगलाई आगामी निर्वाचनका लागि आफ्नो प्यानलको आधिकािरक उम्मेदवार भएको निर्णय गरेको छ । गुरुंगले यस अघिको निर्वाचनमा अध्यक्षको टिकट नपाएपछि असन्तुष्ट पक्षको तर्फवाट उम्मेद्वारी दर्ता गरेपनि अन्तिम दिनमा आधिकारिक उम्मेद्वार केशव कंडेललाई समर्थन गर्दै आफूले फिर्ता लिएका थिए । त्यसवखत उनीलाई यो पटक अध्यक्षमा आधिकारिक दिने प्रतिवद्धता गरिएको र एनआरएनका अभियानमा उनले देखाएको सकृयता, नेपालीमाझ उनले कमाएको लोकप्रियता तथा कार्यक्षमताका आधारमा टिकट दिईएको उम्मेद्वार छनौट समितिले जनाएको छ । आधिकारिक उम्मेद्वार घोषणा भएलगत्तै गुरुंगले फेसवुक स्ट्याटसमार्फत आफूले गरेका र गर्नसक्ने कामहरुको फेहरिस्त लिएर छिट्टै मतदाता समक्ष आउने र अष्ट्रेलियाको नेपाली समाजमा भएका समस्याहरुलाई सम्वोधन गर्ने वताएका छन् ।
त्यसो त गुरुंग समूहवाट महासचिवको उम्मेदवार वनेका राजु अधिकारीको राजधानी क्यानेवेरा देखि अन्य अन्तरराज्यमा समेत राम्रो प्रभाव रहेकाले त्यसको फाइदा अध्यक्षको उम्मेदवारले उठाउने आँकलन गरिएको छ । ‘सिड्नीमा केही साथीहरुले अहिले केही समय असन्तोष ब्यक्त गर्नुभए पनि यहाँदेखि अन्य राज्यवाट समेत नन्दुजीलाई जिताउन सवै साथीहरु एक भएर लाग्नुहुनेछ, नाम प्रकाशित नगर्ने शर्तमा एक नेताले एएनजेडलाई वताए ।’
यता अध्यक्षका आकांक्षी रहेका वर्तमान महासचिव डाक्टर ज्ञानेन्द्र रेग्मीलाई छनौट समितिले टिकट नदिएपछि उनका समर्थकहरुले एकतर्फी र विना सल्लाह निर्णय गरेकाले विद्रोह हुन सक्ने या नयाँ प्यानल नै वनाएर निर्वाचनमा जान सक्ने समेत बताउदै आएका छन् । डा. रेग्मीको लोकप्रियता र राजनीतिक क्षमतालाई कम आक्न नहुने उनी पक्षधरले दावी गरेका छन् । एनआरएनका हालका कोषाध्यक्ष अनिल पोखरेलले महासचिव पदको टिकट नपाएकोप्रति असन्तुष्ट रहेका एक समूह आफ्नै पक्षमा आउने दावी उनीहरुको छ । तर, कार्यक्षमता देखाईसकेका र समयमा सुझबुझपूर्ण निर्णय गर्न सक्ने शालिन ब्यक्तित्वको परिचय वनाएका युवा अनिलले त्यस्तो कठिन र फूटको राजनीतिक वाटो समाउलान् भन्ने विश्वास आफूहरुलाई नरहेको र उनीलाई महासचिव वाहेकको उचित र सम्मानजनक स्थानमा लैजाने अझैपनि समय रहेको आधिकारिक पक्षले वताएका छन् ।
त्यस्तै एनएसडब्ल्यू राज्यको स्टेट कोअरडिनेटरका लागि प्रतीज्ञा अधिकारीलाई कांग्रेस समर्थकको आधिकारिक उम्मेदवार तोकिएको छ । अनुभव र कार्यशैलीले खारिएकी र विगतमा एनआरएनको नारी निकुञ्ज अध्यक्ष लगायतका विभिन्न जिम्मेवारी निर्वाह गरिसकेकी प्रतीज्ञा दरिलो उम्मेदवार हुने आशाका साथ संयोजकको उम्मेदवार घोषणा गरिएपनि संयोजकको टिकट पाउने आशामा रहेकी नारी निकुञ्जकी वर्तमान अध्यक्ष सन्ध्या शाहले आफूले टिकट नपाएपछि प्यानलविहीन नै भएर पनि निर्वाचनमा भाग लिएरै छोड्ने घोषणा गरेकी छन् । शाहले उम्मेदवारी घोषणा गरेको विषयलाई चर्चामा ल्याउन समाचार वनाएर उक्साउने काम भएको समेत आरोप लागेको छ । शाहले अधिकारीसंग एउटै पदमा प्रतिस्पर्धा गर्दा यसको सोझो फाइदा समावेशी (कम्युनिष्ट) तर्फका उम्मेदवार घोषणा गरेका धर्म अधिकारीलाई हुन सक्ने चर्चा चलेको छ ।
अध्यक्षको आधिकारिक उम्मेदवार आफू हुन पर्ने दावी गरेका एनआरएनए अभियन्ता एवं युवा ब्यवसायी डिला खरेलले टिकट वितरण प्रकृयामा आफूलाई कसैले साथ र सहयोग नगरेको गुनासो गरेपनि त्यसयता भने उनी मौन रहेका छन् । यतिबेला गुपउपगुटको चर्चा चलेकाबेला उनको मौनतालाई अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेस निकट जनसम्पर्क समितिका पुराना र सकृय नेता प्रेम सापकोटा, एनआरएनएका पूर्व अध्यक्ष गणेश केसी लगायतका समूहले आफूहरुमाथि निषेधको राजनीति गरिएको र समाजमा गरेको योगदानको अवमूल्यन भएकाले नयाँ समिकरणका साथ अगाडी जानसक्ने बताउदै आएका छन् । त्यसो त जनसम्पर्क समितिका कृष्ण गिरीले सार्वजनिक रुपमा कुनै अभिब्यक्ति नदिएपनि आन्तरिक रुपमा छलफल अघि बढाएको बताइन्छ । यद्यपी, अष्ट्रेलियाको नेपाली राजनीतिमा सकृय रहेका दुर्गा आचार्य, सोम गुरुंग, देवेन्द्र वस्नेत, विवेक थापा, महेन्द्र लम्साल,सुरेन्द्र सापकोटा, थानु शाक्यलगायतका नेताहरु भने प्रजातान्त्रिक आस्था बोकेका साथीहरु एक ढिक्का भएर अघि बढ्नु र साझा उम्मेदवारलाई जिताएर एनआरएनएलाई सबल बनाउनु नै अहिलेको विकल्प भएको बताउदै आएका छन् । उता युवा नेता मधुकर गुरुंगपनि अहिले कांग्रेस समर्थितको तर्फवाट गरिएको उम्मेदवार घोषणाप्रति सन्तुष्ट नरहेको बुझिएको छ ।
यता नेकपा ओली पक्षधरको तर्फवाट उम्मेदवार बन्न सक्ने आंकलन गरिएका र अध्यक्ष पदका तीव्र दावेदार मानिएका देव गुरुंगले आफू कुनै राजनीतिक दलको निगाहमा नभई स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन् । ओलीपक्षीय नेता रमेश पाण्डे समूहले यसपटक आफूहरुले प्यानल घोषणा गरेर नजाने र एनआरएनलाई राजनीतिमुक्त संस्था बनाउनुपर्ने बताएका छन् । सामाजिक सकृयतामा सधै अग्रपंक्तीमा देखिने पूर्व सैनिक देव गुरुंग स्वतन्त्र उम्मेदवार बने चुनावी परिणाममा निक्कै पछाडि पर्ने विश्लेषण गरिएको छ । उता कम्युनिष्टहरुको अर्काे राजन बस्नेत नेतृत्वको समूहले समावेशी समूहको नाममा अच्यूत थपलियाको नेतृत्वमा प्यानल नै घोषणा गरेको छ । जसको महासचिवमा निराजन गौली, सचिवमा तिर्थराज कार्की, कोषाध्यक्षमा प्रेम घिमिरे,सहकोषाध्यक्षमा सुदिप ढकाल तोकिएका छन् । तर कांग्रेसभित्र देखिएको विवादले उत्साहित यो समुहले आवश्यक परेको खण्डमा घोषित उम्मेदवारहरुलाई फेरवदल समेत गर्ने अवस्था रहेको स्रोतले वताएको छ ।
एनआरएन अभियानमा सकृय विभिन्न संस्था, ब्यक्ति र समूहले आफ्नो पक्षमा पल्लाभारी पार्न सदस्य बनाउने क्रमलाई तिव्रता दिएको बताएपनि शुक्रवार बिहान सम्ममा ३ हजार २ सय ७६ जनाले मात्र सदस्यताका लागि आवेदन दिएका छन् भने १५ सय ५० जनाको सदस्यतामात्र स्विकृत भइसकेको छ । अघिल्लो पटक १२ हजार भन्दा बढी सदस्य रहेको एनआरएनएमा यसपटक ९ दिनमात्र बाँकी रहँदापनि सदस्य संख्या यति कम हुनुमा झझण्टीलो प्रकृया भएको अधिकांशको आरोप छ ।

तपाइँको प्रतिक्रिया