मंगलबार, मंसिर २१, २०७८ |Tue Dec, 2021
अक्ल्याण्डको समय: २१:२० |सिड्नीको समय: १९:२० |काठमाडौंको समय: १४:०५

हड्डीबाट अपराधीको तीनपुस्ते केलाउने जासूस

एएनजेड खबरजुलाइ ३, २०२१

संसारमा कहाँ अपराध हुँदैन र ? मुख्य त दोषीले दण्ड र पीडितले न्याय पाउँछ, पाउँदैन भन्ने हो । यो सामग्रीमा हामी न्यूजिल्याण्डका शताब्दीकै अद्भूत जासुसका विषयमा जानकारी दिँदैछौं । जो हड्डीको सानो टुक्राबाट अपराधका सम्पूर्ण नालीबेली पत्ता लगाउँथे ।

मिश्रको एक झिसमिसे विहानी । एक युवा डाक्टर सानो पोको बोकेर उभिइरहेका थिए । त्यो पोकोभित्र कुनै नौलो सौगात नभएर प्रहरीले एक निर्जन जंगलमा फेला पारेको तीनवटा हड्डी राखिएका थिए । हड्डीको प्रकृति हेर्दा कुनै मृत जनावरको हड्डी जस्तो लाग्थ्यो । तैपनि प्रहरीले परीक्षणका लागि त्यो हड्डी चिकित्सक समक्ष पठाए । हड्डी परीक्षणका निम्ति पठाइएको डाक्टरको नाम थियो– जोसेफ बेल ।

विश्व विख्यात डा. जोसेफ स्कटल्याण्ड निवासी थिए । डा. सर आर्थर कानन डोयलले तिनैबाट प्रभावित भई शर्लक होम्स नामको विश्व रंगमञ्चकै ख्यातीप्राप्त अद्भूत पात्रको जन्म दिएका थिए । प्रहरीले दिएको तीनवटा हड्डी केहीवेर आफूसंग राखेर तत्काल फिर्ता गरिदिए । जाँचपछि प्रहरीलाई दिएको प्रतिवेदनमा डा. जोसेफले लेखेका थिए– ‘हड्डी कुनै जनावरको नभएर एक युवतीको हो । उसको उमेर २३–२५ वर्ष बीच हुनुपर्छ । उनको मृत्यु तीन महिनाअघि भएको थियो । ती महिलाको पेटमा एक महिनाको गर्भ थियो । युवती हिँड्दा खुट्टा खोच्याउँथिन । उनको हत्या स्वदेशी बन्दुकको गोलीबाट भएको थियो । गोली लागेको आठ, दश दिनसम्म युवती जीवितै थिइन ।’

डा. जोसेफले दिएको प्रतिवेदन प्रहरीले पत्याएन । उनीहरुले जोसेफलाई उडाउन अनेकौं व्यंग्य गरे । जोसेफलाई मूर्ख बनाउन प्रहरीले सोध्यो– ‘त्यसो भए डाक्टर साब, तपाईंलाई मर्ने केटीको आँखाको रंग पनि थाहा होला । कृपा गरेर बताइदिनु हुन्छ कि ?’ ‘मेरो अनुमानमा ती युवतीको आँखाको रंग खैरो हुनुपर्छ ।’ डाक्टरले चश्मा झिकेर टेबलमा राख्दै ढुक्क भएर भने । जोसेफको कुराप्रति विश्वास नहुँदा नहुँदै पनि प्रहरी चुप रहे । जोसेफको कुरालाई चुनौति दिने तागत स्वयं प्रहरीमा पनि थिएन । यसअघि पनि जोसेफले दिएको सूचनाका आधारमा प्रहरीले दर्जनौं अपराधीलाई थुनेको थियो । आफ्नो क्षेत्रमा जोसेफ जादूगर भनेर कहलिएका थिए ।

उनमा एकप्रकारको विलक्षण प्रतिभा थियो । युवतीको हत्या सम्बन्धी अनुसन्धानमा लागेका प्रहरी त्यतिबेला आश्चर्यचकित बन्यो कि युवतीको हत्या भएको तीन महिना नै पुगेको थियो । र मृत युवती एउटा खुट्टा खोच्याउँथिन । अनुसन्धानपछि प्रहरीले युवतीको पितालाई गिरफ्तार ग¥यो । आफ्नो अपराध स्वीकार्दै उसले भन्यो– ‘मबाट मेरी छोरीको हत्या अन्जानमा भएको थियो । गाउँमै बनेको बन्दुक मर्मत र सरसफाई गर्न म व्यस्त थिएँ । बन्दुकबाट गोली फुत्किएर अकस्मात मेरी छोरीलाई लाग्यो । गोप्य तवरले छोरीको उपचारको बन्दोवस्त पनि मिलाएँ । अन्त्यमा मेरो केही लागेन । मैले उसलाई बचाउन सकिन । अपराधबाट बच्न मैले छोरीको लासलाई निर्जन जंगलमा मिल्काएँ ।’

डा. जोसेफको चमत्कारपूर्ण प्रतिभाबाट आश्चर्यमा परेका प्रहरीको भीडले उनी घेरिन थाले । प्रहरीको प्रश्न थियो– ‘ के तपाईंको यो प्रतिभा दैवी प्रतिभा हो ? भूतलाई समेत काबुमा ल्याउने यस्तो जादू कहाँबाट प्राप्त गर्नुभयो ?’ जोसेफले हाँस्दै जिज्ञासाको जवाफ दिए– ‘भाइहरु, भूतको कुरा अनपढले मात्र विश्वास गर्छन । कुरा त्यति गा¥हो छैन । प्राप्त तीन मध्ये दुई हड्डी कम्मरको थियो । तेस्रो हड्डी ढाडको तल्लो भागको थियो । यी सवै हड्डी एकाकार भई छाती बन्न पुग्यो । हड्डीको प्रकृति हेरेर मैले उसको उमेर र लिङ्ग पत्ता लगाएँ । युवतीको कम्मरको हड्डी एकातिरको तुलनामा अर्कोतिरको केही भारी थियो । त्यसैले मैले ती युवती खुट्टा खोच्याउँथिन् भनेको हुँ । प्राप्त हड्डीमा स्वदेशी बन्दुकको छर्रा पाइएको थियो । यसकारण मैले उनको मृृत्युको कारण सहजसंग भन्न सकेँ । भाँचिएको हड्डीको जोडिने क्रम शुरु भएको देखियो । यसबाट ती युवती केही दिन जीवित रहेको पुष्टि भयो ।’

‘आँखाको रंग खैरो थियो भन्नुको आधार के ?’ प्रहरीको थप प्रश्नमा जोसेफको उत्तर थियो– ‘मेरो अनुमानमा ती केटी मिश्रकी हुन् । मिश्री नारीको आँखा स्वभावतः खैरो रंगको हुन्छ ।’ यो घटना आजभन्दा झण्डै एक शताब्दी अगाडिको हो । त्यस समयमा विज्ञानले पनि आजको जस्तो प्रगति गरेको थिएन । डा. जोसेफले त्यही समय अपराध प्रयोगशालाको आरम्भ गरिसकेका थिए । उनले आफ्नो जीवनीमा लेखेका छन्– ‘अपराधको छानबीन आज विज्ञान बनेको छ । आज विश्वमा जुन परिवर्तन भएको छ, त्यसको जस शर्लक होम्सलाई जान्छ । कानन डोयलले कितावी जासूस पात्र शर्लक होम्सको माध्यमबाट अपराध अनुसन्धानलाई यति सुक्ष्म र पारदर्शी बनाइदिए कि जसबाट अपराध नियन्त्रणमा ठूलो टेवा पुग्यो । डा. जोसेफ जासूसी पात्र शर्लक होम्सबाट अत्यन्तै प्रभावित थिए । जोसेफको प्रतिभाको प्रतिविम्ब शर्लक होम्स थियो । जासूसी क्षेत्रमा उनले अद्भूत काम गरे । ७८ वर्षको बृद्ध उमेरसम्म पनि विश्वभरका विभिन्न देशका प्रहरीहरु सुल्झिन नसकेका घटना सम्बन्धी गाँठो फुकाइ माग्न आउँथे । जोसेफ सहज ढंगले आफूले सकेको मद्दत गर्थे । आफ्नो कार्यक्षेत्र चिकित्सा भएपनि अपराध प्रयोगशालाका माध्यमबाट उनले सयौं रहस्यको पोको फुकाइदिए ।


केही समय मिश्रमा बिताएपछि जोसेफ एडिनवरा विश्व विद्यालयमा फोरेन्सिक मेडिसिनको प्रोफेसर बनेर गए । त्यहाँ उनका एक जासूसी मित्र विली मेरिलिसले एउटा समस्या सुल्झाइदिन आग्रह गरे । एउटा बाकस चोरबाट चोरिएको थियो । घटनास्थलमा प्राप्त एउटा सानो धागोको टुक्राबाट अपराधको नालीबेली पत्ता लगाउनुपर्ने बाध्यता थियो । त्यस टुक्रालाई लिएर जोसेफ अनुसन्धानमा लागे । विभिन्न रसायन एवं यन्त्रबाट परीक्षण गरेपश्चात उनी यस्तो निर्णयमा पुगे– ‘यो धागो कुनै व्यक्तिले लगाएको जुत्ताको हो । जुत्ताको आकार साढे नौ ईन्च छ । जुत्ता कालो रंगको छ । जुत्ता किनेको दुई वर्ष बितेको छ । जुत्ता इंगल्याण्डमा बनेको हो । जुत्ता लगाउने व्यक्ति केही समयअघि चुन भए ठाउँमा हिँडेको हुनुपर्छ ।’ यति सूचना पाएपछि विली एडिनवराको एक रक्सी पसलमा गए । त्यस पसलमा नगरका कुख्यात फटाहाहरु जम्मा हुन्थे । पसलमा जम्मा भएका मध्ये एकलाई विलीले शंकास्पद शैलीमा सोधे– ‘तिमी चुना भएको मैदानमा किन घुम्ने गर्छौ ?’ उसले निर्दोष शैलीमा जवाफ दियो– ‘म मेरो बुबालाई काममा सहयोग गर्न खेत जाने गर्छु ।’ विलीले उनलाई तुरुन्तै गिरफ्तार गरे । विलीले उसको जुत्ता फेरि जोसेफलाई पठाए । घटनास्थलमा प्राप्त धागो यही जुत्ताको भएको जोसेफले प्रमाणित गरिदिए । अन्त्यमा त्यो चोरले बाकस फोरेको स्वीका¥यो ।

This image has an empty alt attribute; its file name is bell2.jpg


जोसेफको जन्म सन् १८८३ मा भएको थियो । औषधि विक्रेताको रुपमा काम गर्दागर्दै उनले एडिनबराको चिकित्सा विद्यालयमा अध्ययन आरम्भ गरे । चिकित्सा क्षेत्रमा रहेको बेला भएको एउटा घटनाले जोसेफ चिकित्सा क्षेत्रबाट विरक्तिए । जुन घटना कारुणिक थियो ।
एकरात एकजना किसान उनीसंग आयो । उसकी गर्भवती पत्नी अस्वस्थ थिइन । जोसेफ किसानसंगै उनको घर जाँदा किसानकी श्रीमती ज्वरोको पीडाबाट छटपटाएको देखे । जीवनको अन्तिम अवस्थामा पुगेकी ती महिलाले हातको इशाराले जोसेफलाई प्राण बचाइदिन पटक पटक आग्रह गरिन । डाक्टरले भए भरको उपाय लगाएर उपचार शुरु गरे । काबु बाहिर रहेको महिलाको स्थितिलाई जोसेफले सुधार्न सकेनन् । अन्ततः ती महिलाको निधन भयो । तिनै महिलालाई बचाउन नसकेको पीडाको फलस्वरुप जोसेफले चिकित्सा पेशाबाट हात धोएर प्राध्यानपनतर्पm आफूलाई केन्द्रित गरे । यसको केही समयपछि उनले सेनामा प्रवेश पाए । जुनवेला प्रथम विश्वयुद्ध चलेको थियो । त्यतिवेलै मिश्री प्रहरीको औषधि प्रयोगशालामा एक प्राविधिकको जरुरी परेको थियो । जोसेफ त्यो ठाउँमा उपयुक्त ठहरिए ।


प्रहरीले सुल्झाउन नसकेका सयौं समस्या समाधान गरेपछि उनको ख्याती बढ्दै गयो । सन् १९०२ मा मिश्रमा राजनीतिक हत्याकाण्ड तीब्र रुपमा मच्चियो । हत्यालाई किनारा लगाउन उनले न्यायालय प्रक्षेप्यास्त्रको अभियानलाई उनले बृहत रुप दिए । यसखाले वैज्ञानिक पद्दतिको विकासबाट अमूक गोलीको प्रयोग कुन किसिमको हतियारबाट चलाइएको थियो भन्ने प्रष्ट हुन्थ्यो । मिश्रका आतंकवादीहरुले तात्कालिन शासकलाई धराशायी बनाउन यसप्रकारको हिंस्रक नीति अंगालेका थिए । हत्याराहरु हत्या गर्नासाथ गायव हुन्थे । ठोस प्रमाणविना प्रहरी कारवाही गर्न सक्दैनथ्यो । यस अवस्थामा हत्याराको दसी प्रमाण जुटाउने काम यिनै डाक्टरले गरे । मारिएका मानिसको शबबाट निकालिएको गोलीबाट हत्याराको रहस्य खोलिदिए । हत्याराले बत्तीस क्यालिबरको कोल्ट, ब्राउनिङ, लिविया र काउस्टर नामको बन्दुक प्रयोग गरेको थियो भन्ने तथ्य सार्वजनिक गरिदिए । परीक्षणपश्चात् आश्वस्त हुँदै जोसेफले प्रहरीसंग भने– ‘यदि तपाईंहरुले मलाई बन्दुक दिनुभयो भने म हत्याराको प्रकृति पत्ता लगाउने प्रयास गर्नेछु । जसबाट तपाईंहरुलाई अपराधीमाथि कारवाही गर्न सहयोग पुग्नेछ ।’
सन् १९२४ को नोभेम्बर महिनामा एउटा यस्तो घट्ना भयो, जसले डा. बेललाई विश्वविख्यात बनाइदियो । लि स्टाक पाशा सुडानका गभर्नर थिए । एउटा सार्वजनिक उत्सवमा भाग लिएर फर्कदा फर्कदै उनीमाथि गोली प्रहार भयो । गोली लागेको दुई दिनपछि पाशाको मृत्यु भयो । गभर्नरको हत्याले पुरै देशमा विद्रोहको आगो सल्कियो । अपराधी फरार भएकाले अनुसन्धान प्रक्रिया प्रहरीका लागि निल्नु न ओकल्नु बनेको थियो । डा. बेलले राजनीतिक व्यक्तिका हत्याराबाटै गभर्नरको हत्या भएको दलील पेश गरे । परीक्षणको क्रममा त्यसै समय एउटा चमत्कारपूर्ण घटना भयो । शंकास्पद अपराधीलाई सोधपुछकै क्रममा नजिकै रहेको तरकारीको टोकरी अकस्मात ढल्न पुग्यो । त्यही टोकरीमा कोल्ट र ब्राउनिङ नामका दुई पेस्तोल लुकाएर राखेको अवस्थामा फेला प¥यो । सोही बन्दुकको दिनरात अनुसन्धान गरेपछि डा. जोसेफले दृढतापूर्वक प्रहरीसंग भने– ‘यही हो त्यो पेस्तोल जसबाट गभर्नरको हत्या गरिएको थियो ।’ उनीसंग अदालतमा सोधिएको थियो– ‘तपाईं कसरी भन्न सक्नुहुन्छ यही पेस्तोलले गभर्नरको हत्या गरिएको थियो ?’


‘निश्चय नै’ बेलको छोटो जवाफ थियो । बेलको जवाफले अदालतभरि सन्नाटा छायो । बचाउ पक्षका वकिललाई जोसेफको भनाई प्रतिरक्षाका लागि आग्रह गर्दा उनी मौन बसे । उनीसंग कुनै तर्क बाँकी थिएन । जोसेफले भने सप्रमाण आफ्नो भनाइलाई प्रमाणित गरिदिए । उनका अनुसार कुनै अपराध पूर्ण हुँदैन । हाम्रो हेराइ अपूर्ण हुनसक्छ । अपराधीले घटनास्थलमा औंठाको छाप मात्र हैन, थुप्रै प्रमाण छोड्छ । सूक्ष्म अध्ययन गरिएमा कुनै अपराधी फुत्कन पाउँदैन । फुर्सदका समयमा जोसेफ औषधि विज्ञान सम्बन्धी ग्रन्थ लेख्थे । उनले लेखेका ग्रन्थ विश्वका १२ भाषामा प्रकाशित भइसकेका छन् । जोसेफले आफ्नो जीवनी पनि लेखेका छन् । उनले क्यानाडा निवासी एक डाक्टरकी छोरीसंग विवाह गरेका थिए । जोसेफका पुत्र गुडसर वेल स्कटल्याण्डका नामी साहित्यकार भए । जोसेफ पनि छन्द शैलीका मुक्तक र कविता लेख्थे । बाबु छोरामा साहित्य विधामा समान रुचिको संयोग देखाप¥यो । पेसाले चिकित्सक भएपनि वैज्ञानिक जासूसीमा उनले देखाएको विलक्षण प्रतिभा अहिले पनि अनुकरणीय मानिन्छ ।

तपाइँको प्रतिक्रिया