मंगलबार, मंसिर २१, २०७८ |Tue Dec, 2021
अक्ल्याण्डको समय: २१:४७ |सिड्नीको समय: १९:४७ |काठमाडौंको समय: १४:३२

फिरन्ते राउटेलाई कसले बनायो मगन्ते ?

एएनजेड खबरजुलाइ ३, २०२१


अघिल्लो साता सुर्खेतमा अनौठो घटना भयो । अरुलाई कोटको राजा, आफूलाई बोटको राजा बताउने सुर्खेतस्थित भेरीगंगा नगरपालिकाको छिन्चुखोलामा बस्दै आएका राउटे समुदाय असुरक्षाको कारण देखाउँदै सल्यान बसाइँ स¥यो । राउटे समुदायका दुई किशोरीलाई सहर लगेर अभद्र व्यवहार भएको, उनीहरु टीकटक, म्युजिक भिडियोमा भाइरल भएकाजस्ता विषय बाहिर आएपछि त्यो समुदायमा छटपटी बढ्यो । युटुबरको आतंकबाट जोगाउन सशस्त्र प्रहरीले पहरा दिनुप¥यो । धेरैका मनमा शंका उब्जियो– जंगलमा आफ्नो सुतीथाती गरेर बस्ने राउटे त सुरक्षित नहुने देशमा अरुको हालत के होला ?

This image has an empty alt attribute; its file name is Raute-2-1-1024x561.jpg


राउटे लोपोन्मुख समुदायभित्र पर्छ । उनीहरुको आफ्नै संस्कृति, काइदा कानुन छ । मुखिया उनीहरुको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका हो । यसो भन्दैमा मुखियालाई निरंकुश बन्ने छूट छैन । जनताप्रति सधैं उत्तरदायित्व रहन्छ । त्यहाँ परेका समस्याउपर सबैसंग रायसल्लाह लिएर मुखियाले फैसला सुनाउँछन् । सरसफाई र राउटे एकअर्काका दुस्मन हुन् । बोलचालको भाषामा अर्गानिक जीवन उनीहरुका जप, तप सबै हो । एक डेढ दशकअघिसम्म त पैसाको खेलोफड्को गर्नु त्यो समुदायमा पाप सम्झिइन्थ्यो । उनीहरुको हातबाट निर्मित कोसी, बेलना, ठेको, सन्दुस, तरैनी, चनौटो नजिकको गाउँमा दिएर त्यस बराबरको अन्नसंग साटेर जीविका गर्थे ।

This image has an empty alt attribute; its file name is Raute-3-1024x923.jpg


विरामी हुँदा डाक्टरी उपचार पुरै बन्देज छ । भुटुन हालेको तिहुन बर्जित छ । मेशिनले सिलाएको लुगा लगाउँदैनन । पढ्नु लेख्नु पाप कर्मभित्र पर्छ । आफ्नो बस्तीमा बाहिरका मानिस लग्दैनन् । गुना (बाँदर)को शिकार उनीहरुको सर्वाधिक रुचिको विषय हो । फिरन्ते जीवनशैली राउटेको अर्को फरक विशेषता हो । सुर्खेत, दैलेख, सल्यान गरी यिनीहरु जनसंख्या डेढसयको हाराहारीमा छ । ४६ परिवार समेटिएका छन् । जंगलमा बसोबास भएपनि उनीहरुको काइदा कानुन महिलामैत्री छ । त्यसैले महिला शोषणका घटना अपवाद हुने गर्छन् ।
एक्काइसौं शताब्दीमा पनि ढुंगेयुगको झल्को दिने यो समुदायको सुन्दर तलाउमा विभिन्न स्वार्थसमूहले हानेको ढुंगाका कारण उनीहरुको अवस्था न हाँस, न बकुल्लाको अवस्थामा पुगेको छ । युवापुस्तामा भाइरलको रोग छ । पैसाको कारोवारलाई अपराध मान्नेहरु अहिले फोटो खिचेको पनि पैसा माग्छन् । सानादेखि ठूलासम्म मदिराको लत छ । चुरोट, बिँडी, खैनी नभई हुन्न । वर्षेनी ४,५ जना राउटे त मदिराको अत्यधिक सेवनका कारण भीरबाट लडेर ज्यान गुमाइरहेका हुन्छन । उनीहरुले बनाउने सीपका साधन एकादेशका कथा भइसके । देशविदेशबाट आयातीत आकर्षक भाँडाका कारण उपभोक्ताको आकर्षण घटेर गएको छ । अव्यवस्थित बसोबास, जताततै घरघडेरी, बाटोघाटोका लागि डोजर आतंकका कारण उनीहरुको सुरक्षित बासस्थान पनि संकटमा पर्दै गएको छ । यसो भएपछि गैरराउटेहरुको सामाजिक प्रभावबाट उनीहरु अछुतो रहन सकेनन ।

This image has an empty alt attribute; its file name is Raute-4-460x1024.jpg


पछिल्ला केही वर्षयता त अध्ययन अनुसन्धानका नाममा एनजीओ, आईएनजीओको प्रवेश ह्वात्तै बढ्यो । उनीहरुलाई खुशी पारेर आफ्नो स्वार्थपूर्ति गर्न राउटेको रुचिका चीजबस्तुले प्रवेश पाउन थाले । जन्मदै राउटेका सन्तति अम्मली भए । आवश्यकताभन्दा पनि इच्छा हावी बन्दै गयो । उनीहरुको जीविकाका लागि संघीय सरकारले दिने ३ हजारमा स्थानीय सरकारले २ हजार थपिदियो । राउटे उत्थानका लागि दिइएको त्यही सरकारी सहयोग पतनको कारण बन्यो ।
पछिल्ला दिनमा सेलिब्रटी बनाउने नाममा उनीहरुको इच्छा परिपूर्ति गर्ने काम बाह्य समुदायले गर्ने गरेको टिप्पणी छ । जंगलमा रहेर फिरन्ते जीवनमा रमाउने, आफ्नै श्रम सीप कला र संस्कारमा रमाउने राउटेलाई भत्ता र सरकारी राहतले परनिर्भरता बढाएको हो । ऐनबहादुर, नैनबहादुर, मैनबहादुर, सूर्यबहादुर, वीरबहादुर मुखिया बने । आर्थिक अपचलनका नाममा समुदायले मुखियालाई कारवाही गरेको उदाहरण यो समुदायमा छ । यसको मतलव उनीहरु सतप्रतिशत प्रजातान्त्रिक अभ्यास गर्छन् ।

This image has an empty alt attribute; its file name is Raute-11-1024x827.jpg


सन्तानको जन्ममा छेकबार गर्नु प्रकृति विरुद्ध मानिन्छ । जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायका मुखिया वीरबहादुर शाहीको नौ जनाको परिवार छ । मुखिया वीरबहादुरसहित तीन छोराको कमाईले उनको चुल्होमा आगो बल्छ । श्रीमतीलाई चार छोराछोरी स्याहार्न र खाना पकाउन ठिक्क हुन्छ । कोरोना संक्रमण रोक्नका लागि भइरहेको बन्दाबन्दीका कारण राउटेको जीवन झन् सकसपूर्ण बन्दै गएको छ । सरकारले दिने सामाजिक सुरक्षा भत्ता र काठका भाँडाकुँडा विक्री गरेर हुने आम्दानीनै राउटे समुदायको मुख्य स्रोत हो । अर्का राउटे चन्द्रमान शाहीको पनि नौ जनाको परिवार छ । उनको परिवारमा काम गर्न सक्नेको संख्या तीन जना मात्रै छ ।
राउटे समुदाय कोरोना संक्रमणको उच्च जोखिममा छ । सरसफाई नगर्ने, महिनामा एक पटक मात्रै नुहाउने, सौचालय प्रयोग नगर्ने र एउटै ठाउँमा झुम्मिएर बस्ने प्रचलन यो समुदायका लागि खतराको घण्टी हो । बस्तीमा कोरोना संक्रमण रोक्नका लागि सररफाई र खानपानमा ध्यान केन्द्रीत गर्नुपर्ने आवश्यकता छ । प्रदेश सरकारले घरबार बसाउने योजना बनाएपनि उनीहरु स्वीकार्न तयार हुँदैनन् । सधैं एकै ठाउँ नबस्ने हुनाले पनि स्थायी संरचना बनाउन समस्या छ ।

तपाइँको प्रतिक्रिया