मंगलबार, मंसिर २१, २०७८ |Tue Dec, 2021
अक्ल्याण्डको समय: २२:२० |सिड्नीको समय: २०:२० |काठमाडौंको समय: १५:०५

एनआरएनए अस्ट्रेलिया राजनीतिक चलखेलहरूको गतिलो खेलमैदान

प्रवासीसँग प्रवासका कुरा

कोम खत्रीजुलाइ १८, २०२१
                                              

कङ्गारूको देश अचेल शान्त देखिन्छ । शान्त यस अर्थमा कि कोरोना कहरले यसको चलायमान स्वरूपलाई बदलिदिएको छ । कतिपय शहरका मानिसहरू सरकारी नियमको छेकबारले घरमैँ बस्न बाध्य छन् भने कति यो अतिसूक्ष्म जीवाणुप्रति सशङ्कित देखिन्छन् । कमसेकम सिड्नीले यतिबेला आफ्नो गतिमा निकै सुस्ताएको अनुभूति दिँदैछ । यहाँका चिल्ला सडकमा गाडीहरूको लस्कर निकै पातला छन् । विद्यार्थीहरू घरमैँ बसेर दूरशिक्षाका माध्यमले पढ्न बाध्य छन् भने ठूलाठूला शपिङ सेन्टरहरूमा चहलपहल प्रायः शून्य देखिन्छन् ।

सरकारले हरेक दिन सार्वजनिक गर्ने कोरोना तथ्याङ्क र कोरोना परीक्षण गर्न लागेको भिडले गर्दा शहरको समग्र स्वरूपलाई फरक अनुभूति दिन काफी छन् । यही सरकारले आफ्ना जनतालाई खोपको मात्रा छिटोभन्दा छिटो उपलब्ध गराउने बाचा पूरा गर्न नसकेपछि बेलाबेलामा प्रतिपक्षी पार्टीले संसदमा आफ्नो झिनो उपस्थितिको अनुभूतिसम्म जनतालाई गराउन पाएका छन् ।

कोरोना नियन्त्रण नै केन्द्रविन्दुमा रहेको अस्ट्रेलियाको राजनीतिलाई भने प्रवासमा एकत्रित केही नेपालीहरूले छायाँमा पार्ने सङ्केतहरू देखिन्छन् । दुई वर्षमा एकपल्ट आउने एनआरएनए अस्ट्रेलियाको चुनावको सेरोफेरोमा केही थान प्रवासी नेपालीहरूको चासो, चिन्ता र उत्तेजना पनि बडो गज्जबको हुन्छ । शायद, यही मेसोमा ऊ आफ्नो जीवनमा मातृभूमिमा भोगचलन गर्न नपाएको राजनीति र सत्ताको प्यासलाई केही हदसम्म भए पनि मेटाउन चाहन्छ । ऊ ठान्छ राजनीति गर्नु उसको जन्मजात अधिकार हो । फलस्वरूप उसले प्रवासमा समेत तिनै धेरथोर राजनीतिक चलखेलहरूको सानो अखडा यहाँ बनाएको छ ।

त्यसका लागि एनआरएनए अस्ट्रेलिया नामधारी संस्था एउटा गतिलो खेलमैदान बनेको छ । प्रवासको नीतिनियमलाई छेको लगाउन ऊ यसलाई समाजसेवाको लेप लगाउँछ किनकि ऊसँग सत्य स्वीकार्ने न त हिम्मत छ न त चाहना । राजनीतिबाट पर रहेर समाजसेवामा होमिन चाहने एकाध मानिसहरू पनि कि त यो मैदानबाट पर रहेर टुलुटुलु रमिता हेर्न बाध्य छन् या त त्यही फोहोरको पोखरीमा डुब्न । तर कोही पनि यसलाई सफा गर्ने आँट गर्न सक्दैनन् । लाग्छ, फोहोर भइसक्यो कि जोकोही पनि यसलाई सफा गर्ने सामथ्र्य राख्दैनन् । यो फोहोरको लहरो संसारका प्रत्येक देशहरूमा फैलिएका एनसिसीदेखि केन्द्रमा रहेको आइसिसीसम्म फैलिइसकेको छ । त्यसको केही झलकहरू काठमाडौँमा आइसिसी चुनावताका राम्रैसँग देखिने गरेको पनि छ ।

प्रवासीको चेतनाको अधिकांश प्रभाव मातृभूमिबाटै भएको देखिन्छ । नहोस् पनि त कसरी ? आखिर त्यतिका वर्ष त्यहाँ राजनीतिमा होमिएपछि त्यसको प्रतिबिम्ब त रहने नै भयो । अथवा त्यहाँ पार्टीको सानोतिनो पदमा रहे पनि यहाँको सानो समाजमा ‘मैँ हुँ भन्न पाइने सुविधाको लाभ पनि लिन पाइन्छ । त्यसैले पनि ऊ आफ्नो चेतना र विचारको घेरालाई त्यो भन्दा फराकिलो बनाउन चाहन्न । अनि त प्रवासमा लामो समय बिताएर देखेको अनि भोगेको तुलनात्मक रूपमा सुसंस्कृत राजनीतिको गन्ध ऊ पटक्कै मन पराउँदैन । त्यसलाई अवलम्बन गर्न त परै जाओस् त्यस्ता शिष्ट प्रणाली र पद्दतिका बारेमा कुरा समेत सुन्नै चाहन्नँ ।

तैपनि ऊ गर्वसाथ छाती खोलेर भन्छ, म त समाजसेवा गर्न एनआरएनए अस्ट्रेलियामा उम्मेदवारी दिएको छु । मलाई समाजप्रति गम्भिर चासो र चिन्ता छ । नत्र त के खानलाई यो खाइ न पाइको बोझको भारी बोक्नु पथ्र्यो र ? कोरोनाकै प्रभावले सञ्जालमा सीमित रहेका उसका पर्चा र पोष्टरहरू यस्तैखाले मतदातालाई तिरिमिरी झ्याइँ पार्ने खालका छन् ।

गैरराजनीतिक संस्थाका रूपमा दर्ता भए पनि प्रविधिका माध्यमले नेपालका बडेबडे नेताहरूको उपस्थितिमा औपचारिक कार्यक्रम गरेरै ऊ चुनावी अभियानको घोषणा गर्छ, तैपनि बडो गर्वसाथ घोषणा गर्छ, ‘हामी राजनीति गर्दैनौं ।’ शायद ऊ आफू र आफ्ना गुटका मानिसबाहेक सबैलाई बेवकुफ सम्झन्छ । माथिकाले यस्तो कार्य किन भयो ? भनेर उत्तर पठाउन आदेश त दिन्छ तर सबलाई थाहा छ यो औपचारिकताको कुनै अर्थ छैन किनकि माथिल्लो पदमा रहेकाहरू पनि यो फोहोरको थुप्रोबाट मुक्त वा ओभानो छैनन् ।

विधान त छ अनि त्यसभित्र नियमहरू पनि लेखिएका छन् तर आफैँले बनाएको विधान पालना गर्ने र गराउने चासो कसैलाई देखिँदैन । चासो मात्र होइन, नियमलाई बर्खिलाप गरे कस्तो सजाय दिने भन्ने व्यवस्था स्पष्ट रूपमा लेखिएका छैनन् । यदि कसैले त्यस्ताखाले चासो राखे कि त उनीहरू अल्पमतमा पर्छन् या त सुनुवाइ नहुने यथार्थले आवाज उठाउँदैनन् । जबरजस्ती सदस्य बनाउन पाइँदैन भन्ने यथार्थ थाहा त छ तैपनि विधानमा रहेका अनेक जस्केलाहरू खोज्दै धेरै सदस्य बनाएर आफू सर्वश्रेष्ठ संस्था रहेको प्रमाणित गर्न आतुर छ । लाग्छ, ऊ यो झुठो श्रेष्ठतालाई आइसिसी चुनावमा रवाफ देखाउन प्रयोग गर्न चाहन्छ ।

समाजसेवीको मुकुण्डो लगाएका अधिकांश मानिसहरूको यो रमिताले आगामी पुस्तालाई कस्तो नजिर पेशा गर्लान् ? वा समाजसेवाकै लागि आफ्नो परिवारलाई समेत तहसनहस पार्न उद्दत यी मुकुण्डोधारीले कति दिन आफ्नो अनुहारलाई छोप्न सफल होलान् ? त्यो प्रश्नको धेरथोर उत्तर आगामी दिनहरूले अवश्य देलान् यद्यपि साँचो मनले समाजका खातिर आफ्नो जीवनको समय, ऊर्जा र परिश्रम लगाउनेहरूलाई समेत यस संस्थाभित्र रहेका विकृतिहरूका थुप्रोले चेप्दै जानु झन् लज्जाजनक छ । यो फोहोरलाई सफा गर्ने आँट नगरे दुर्घटना अवश्यम्भावी छ । समयमै सबैले चेतौं ।

तपाइँको प्रतिक्रिया