सोमबार, मंसिर २०, २०७८ |Mon Dec, 2021
अक्ल्याण्डको समय: २०:५५ |सिड्नीको समय: १८:५५ |काठमाडौंको समय: १३:४०

सम्भावनाको नायक या दुर्दशाको द्वारपाल ?

डिल्ली राज पाण्डेयजुलाइ २४, २०२१
This image has an empty alt attribute; its file name is dilli-raj-pandeuy-1024x818.jpg




यदि थोरै पनि विवेक बाँकी छ भने एउटा सन्नाटा, आक्रोश,चिन्ता र पिडा केपी तथा प्रचण्डमा भएको हुनुपर्छ । एमाले तथा माओवादीका कतिपय नेताहरूलाई समेत जानकारी नदिई गरिएको पार्टी एकता नामको तमसुक न कुनै विधि नत कुनै विधानमा टेकिएर गरिएको थियो । जब जग नै खराब हुन्छ त्यो घर ढिलो या चाँडो धुलिसात हुन्छ ।प्रचण्ड ओली प्राइभेट लिमिटेड भङ्ग भएको छ । प्रचण्ड देउवाको खुट्टा मोल्दैछन् भने श्रीमान् ओली आफ्नै घरको कौशीको खाँबो चिथोर्दैछन् । यी दुवै पराजित मनुवा हुन् । तर जनताको विश्वास माथि भने गम्भीर गद्दारी भएको छ ।

जुन सपनाहरू ओलीले देखाएका थिए ती सपनाहरूको मलामी बनेर आफै बालुवाटारबाट बालकोट छिरेका छन् । जनताको भावनासँग खेल्न माहिर ओली जनताको भावनाका हत्यारा हुन् या केवल एक नाटकबाज ? प्रश्न खडा भएको छ । जब जनताको भावनाको हत्या हुन्छ त्यसको पुर्ताल सिंगो राज्यले व्यहोर्न बाध्य हुन्छ । जनताको ऊर्जा र विश्वास निराशामा परिणत हुँदा त्यसको मूल्य भावी पुस्ताले चुकाउनु पर्छ ।

दोश्रोपटक सत्तामा जाँदा बागमतीमा धेरै पानी बगिसकेको थियो । दुई वामपन्थी पार्टीहरू मिलेर अत्यधिक बहुमतका साथ केपी प्रधानमन्त्री भए । उनका अगाडि स्वर्णिम अवसरहरू थिए । बहुमत प्राप्त पार्टीको अध्यक्ष र प्रधानमन्त्री दुवै श्रीमान् ओली नै थिए । देशको अभिभावक हुनुका नाताले उनले बोल्ने बोली र कर्म देशको भविष्यसँग जोडिएको थियो । उनलाई उत्ताउलो हुने सुविधा थिएन ।

कमजोरी सबैका छन् बाबजुद सबैभन्दा ठूलो कमजोरी ओलीकै देखिन्छ । ओलीले आफ्नो वास्तविक धरातल भुले । दुई पार्टीको एकताले मात्रै बहुमत प्राप्त भएको सत्यलाई नजरअन्दाज गर्नु । पार्टीका हरेक मिटिङहरू पार्टी कार्यालयमा होइन प्रधानमन्त्री कार्यालयमा राखिनु ।पार्टी संस्थागत ढंगले नचल्नु । गुटका आधारमा जिम्मेवारी । भ्रष्टहरूलाई प्रोत्साहन । संविधानको मर्म र भावनामाथि प्रहार । यतिसम्म कि राष्ट्रपतिको मर्यादामा समेत खेलबाड । शपथग्रहण, अध्यादेश लगायतका विवादास्पद विधेयक यी यस्ता विषयहरू थिए जुन विषयहरू ओलीले सहजै किनारा लगाउन सक्थे । भलै रकमी एकता नै भएको किन नहोस् प्रचण्डसँग भएको सहमति कार्यान्वयन गर्नुपर्थ्यो। विधि, मूल्य, मान्यता र इमान्दारिताका साथ अगाडि बढेको भए ओलीले आफ्नो नाम इतिहासमा स्वर्ण अक्षरमा लेखाउने अवसर थियो । तर आज निष्पक्ष र वस्तुनिष्ठ भएर बोल्ने हरेक मान्छेले भन्छ, “दुःख पाइस् मंगले आफ्नै ढंगले”

पहिलोपटक प्रधानमन्त्रीको कुर्चीबाट विदा लिँदै संसदमको रोष्टममा उभिँदा ओलीमा विजयी भाव देखिन्थ्यो भने जनतामा उनी प्रतिको विश्वास । कुर्चीबाट ओर्लिदा सबैभन्दा अग्ला देखिएका थिए । लोकप्रियता चुलिएको थियो । नेताहरूका लागि निकै दुर्लभ देखिने त्यो क्षण शायद ओलीको राजनीतिक जीवनको सबैभन्दा प्रिय क्षण हुनुपर्छ । नाकाबन्दी विरूद्ध उनको चट्टानी अडान तथा जातीय राज्य विरूद्धको उनको आवाज नै उनको ब्यक्तित्व निर्माणको प्रमुख आधार थियो । मदन भण्डारीको एउटा भनाइ छ “कसैको इमान्दारिता जाँच्नुछ भने उसलाई बेइमानी गर्न सक्ने प्रशस्त सम्भावना भएको ठाँउमा पठाउनु पर्छ ।”

दोश्रोपटक सत्ताबाट बाहिर निस्किदा जुन लाखे नाँच देखियो त्यो निकै उदेकलाग्दो थियो । सडकमा गाइजात्रा मात्र थिएन लाग्थ्यो त्यो ओलीको राजनीतिक शवयात्रा हो । केही समयअगाडि आफूलाई बहुलाह कुकुरले टोकेको छ र ? भन्ने ओली यो कोरोना कहरमा आफ्नै घरको कौशीको खाँबो चिथोर्न तम्सिए । देशको प्रधानमन्त्री र सबैभन्दा ठूलो राजनीतिक दलको अध्यक्षको उदण्डतालाई कौशीको मुनि लामबद्ध लस्करले ताली र गालीका साथ अनुमोदन गर्यो । गोकुल, महेश, सूर्य र गुरू भट्टराईहरूको रमिता त देखिएकै थियो तर प्रदीप, सुवाश र विष्णुहरूको मौनतामा कोलाहल थियो या लाचारी ? यो प्रश्न भने सदा उठिरहने छ ।

केही समय पहिले पूर्व प्रधानमन्त्री केपी ओलीले भन्दै थिए देशमा कुनै संकट नै छैन परन्तु उनी आफै संकटको भुमरीमा थिए । उनको संकट विकृतिको चाङले भरिएको थियो । सामन्त गोयलसँगको मध्यरातको भलाकुसारीपछि श्रीमान् ओलीलाई लाग्यो होला दामोदर दास मोदीले अब उनको काँध थप्थपाउने छन् शायद धेरै कुरामा छिपछिपे ज्ञान राख्ने तर एउटा कुरामा पनि विशेष ज्ञान नराख्ने ओलिको रकमी चिन्तन नै उनको पतनको कारण बन्यो । छिपछिपे ज्ञानलाई नै महाज्ञानी ठान्दै ओलीको देवत्वकरण गर्नेहरू नै ओलीको अहंकारका वास्तविक सारथी थिए ।

त्यसो त १८० डिग्रीको फन्को मार्ने नेपालको राजनीतिका बारेमा अनुमान लगाउन निकै कठिन छ । को कहाँबाट संचालित छ ? राजनीति जब संदिग्धतामा परिणत हुन्छ तब त्यो केवल चलखेल बन्छ अपराध बन्छ कहाँ कतिबेला के हुन्छ थाहै हुँदैन । परन्तु पार्टीभित्रको आन्तरिक मतभेदलाई सम्बोधन गर्न नसक्नु नै केपी ओलीको सबैभन्दा ठूलो कमजोरी हो । कमजोरी जब छिप्पिदै जान्छ त्यो अपराधमा रूपान्तरित हुन्छ ।

देशको प्रधानमंत्री सिंगो पार्टीको अध्यक्षले गुनासो गरेको सोभा दिदैनथ्यो तर उनी आश्चर्यजनक ढंगले अशोभनीय देखिंदै गए । माधव, प्रचण्ड र झलनाथहरूलाई खिसिट्युरी गर्नतर्फ लागे । यतिसम्म कि जीवित आफ्नै सहयोद्धाहरूलाई श्रद्धाञ्जली दिन थाले ।मजाक, ताली र गालीमा उनले आफ्नो ऊर्जा खर्चिए ।भर्खरै फेरी उदघोष गरेका छन् कि “सबै आउनुस् मैले माफी दिएँ “ब्यवहारका डोबहरूमा हेर्दा मदन,मनमोहनको यो पार्टी नै होइन ।हुकुम र दुई चार सलामी बाहेक बाँकी के नै छर !

आश्चर्य लाग्छ केपि ओली अझै पनि एमाले जस्तो लोकतान्त्रिक पार्टीको अध्यक्ष छन् । एक मिनेट मात्र होइन एक सेकेण्ड पनि ओली अध्यक्षमा रहनु पार्टीका लागि अझ विषाक्त हुनेछ ।दोश्रो पुस्ताको सृजनशील युवालाई नेतृत्व सुम्पिनु खुद ओलीका लागि भलो हुनेछ ।

देश संकटापन्न घडीको दोसाँधमा खडा छ । अदालतको परमादेशमार्फत् शेरबहादुर प्रधानमन्त्री नियुक्त भएका छन् । यो परमादेशका खास पिता चोलेन्द्र शम्सेर होइनन् पूर्व प्रधानमन्त्री केपी र बहालवाला राष्ट्रपति विद्या भण्डारी नै हुन् । चेतनशिल समाज, विवेक र नैतिकवान नेतृत्व भइदिएको भए अदालत यहाँसम्म आउने नै थिएन । नेतृत्वको असक्षमता र सत्ता स्वार्थका कारण अदालत अरुचि पूर्ण नै सही यो ठाँउमा आएको हुनुपर्छ । सांसदहरू आफू जीवित भएको प्रमाण दिन अदालतमा उपस्थित भएर लाइन लाग्न बाध्य किन भए ?

नेपालको वर्तमान राजनीतिक घटनाक्रमहरूलाई हेर्दा मानिसहरूलाई लाग्छ सक्छ अब नेपालमा इमानको राजनीति सिद्दियो । आदर्श त केवल भन्ने र लेख्ने कुरा न हुन् के साँच्चै इमान, मूल्य र आदर्शको राजनीति सिद्दिएकै हो त ? होइन किमार्थ होइन यो कमजोर भएको र पटकपटक प्रहारको निशानामा परेको भने सत्य हो ।

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । गलत बाटो समाएरै क्षणिक सफलताको आत्मरतिमा रमाउनेहरू ढिलो या चाँडो दुर्घटनाग्रस्त हुनैपर्छ । राजनीतिक जीवन होस् या ब्यक्तिगत जीवन गलत कर्मबाट सफलता हासिल गरेकाहरू जीवनको अन्तिम घडीमा पश्चातापको अग्निमा जल्ने गर्छन् फरक के मात्रै हो भने कसैले देखाउँछन् कसैले देखाउँदैनन् ।

हिजो ब्वाँसाका धापहरू तिम्रा काँधहरूमा थप्थपाइएका थिए यसर्थ तिमी आफूलाई शक्तिशाली ठान्दै गयौ तर आज उनीहरूका लागि तिम्रो औचित्य समाप्त भएको छ त्यसैले उनीहरूबाटै पालित बहुलाहा स्यालहरूको लखेटाइमा पर्दैछौ । तिमी डरपोक मात्र होइन उल्लु पनि रहेछौ । आज कहाँ छौ ? हुनुपर्ने कहाँ थियो ? अनि कता जाँदैछौ ? आफ्नै घाँटीमा सुर्केनी लगाउने पटमूर्ख शासक !!!

मृत्यु र महाविनाशको पसल थापेर सत्ता चलिरहेको छ । जनता कष्ट र क्लेशमा छन् लाग्छ घर घरमा मृत्युको बम राखिएको छ । खुलम खुला आदर्श, मूल्य,खनिष्ठा र विचारलाई लुगा धुने फल्याक बनाइएको छ, जो यसको वकालत गर्दछन् तिनीहरूलाई हाँसो र ठट्टाको पात्र बनाइएको छ हामी कता जाँदैछौ ? जसलाई समाज र राष्ट्रले विश्वास गर्यो तिनीहरू आफ्नो धरातलबाट चिप्लिए । नैतिकता र इमान्दारिता केवल देखाउने दाँत भयो । जसलाई सुनौलो सम्भावनाका नायक ठान्यौ तिनीहरू नै दुर्दशाका द्वारपाल बने ।

बेलग्रेडको मुटुमा साभा, लण्डनको मुटुमा थेम्स, सुदूर पश्चिमको मुटुमा कर्णाली तर काठमाण्डुको मुटुमा बाग्मती होइन भ्रष्टहरूको विकृत धारा बगिरहेको छ । आजको राजनीतिक यथार्थको निर्मम समीक्षा गर्दै सम्भावनाका नायकहरू अगाडि आउन अब ढिलो गर्नु हुँदैन अन्यथा केही समय यिनै दुर्दशाका द्वारपालहरूबाट शासित हुनुपर्नेछ । किन्तु ढिलो या चाँडो देशमा नयाँ रक्तसंचार हुनेछ, कालो बादल फाट्ने छ ।बारूदको धुँवाले मुक्तिको आकाशलाई छोप्न सक्दैन ! इतिहासको पांग्रा पछाडि फर्किने छैन !!!

तपाइँको प्रतिक्रिया