शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ००:४६ |सिड्नीको समय: २२:४६ |काठमाडौंको समय: १८:३१

एक शताब्दी मसानघाटमा विताएका अघोरी बाबाको जीवनगाथा

संकेत कोइरालाजुलाइ ६, २०२१

भारतमा जन्मिएर नेपाली भूमिमा जीवन अर्पिएका एक अद्भूत तान्त्रिक बाबाको जीवन गाथामा यो आलेख समर्पित छ । उनी भारतमा जन्मिए तर परिचय बन्यो– नेपाली बाबा । ११२ वर्ष बाँचेर अघिल्लो वर्ष देहत्याग गरेका डा.त्यागीबाबा नामले परिचित अघोरी तान्त्रिक बाबाको जीवन फिल्मभन्दा कम रोचक छैन् ।

१० वर्ष नपुग्दै नेपाल छिरेका उनले एक शताब्दी आर्यघाटमै विताए । आफ्नो जीवनकालमा राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको संगत गरेका यिनी राजा महेन्द्रबाट विशेष प्रभावित थिए ।

पाशुपत क्षेत्रभित्रको आर्यघाट । जतिसुकै तेज गतिमा दौडिने जीवन पनि यहाँ नविसाई प्रकृतिको कोर्स पूरा हुँदैन । दैनिक दर्जनौं नश्वर शरीर खरानी भइरहेका छन् । स्वजन बम्ह्लीन हुँदाको विक्षिप्त पीडामा छटपटिनेको संख्या पनि उत्तिक्कै छ । छोराले आफ्नै जन्मदिने बाबुलाई मुखाग्नि दिएर विदाई गर्नुपर्ने अन्तिम सत्यको यो घाटलाई साक्षी बनाएर एउटा १ सय १२ वर्षको दिव्यपुरुष एक शताब्दीदेखि जीवनको जोड घटाउमा व्यस्त रह्यो । यो उमेरमा पनि उसले जीवनको हिसाव मिलाउन सकेन । जीवनको सपाट उत्तर पाएन । कति जित्यो, कति हा¥यो ? त्यसको पनि हिसाव किताव छैन ।
आत्मा र परमात्मालाई जोड्ने सेतू बनेर उभिएको त्यो अद्भूत पात्र डा. त्यागीनाथ अर्थात नेपाली बाबा अस्ताएको वर्षदिन वितिसक्यो । २४ घण्टा आँखा अगाडि मृत्युको विस्कुन देख्दा पनि उनको जडभरत व्यक्तित्वमा कुनै प्रभाव पर्दैनथ्यो । त्यसैले त जन्म र मृत्युलाई फगत प्रकृतिको पात्रोको रुपमा बुझ्नु नै उनको दिनचर्या बन्यो ।

भारतमा जन्मिएको एउटा बालक डा. रामनाथ अघोरीबाबाको नाम पछ्याउँदै काठमाडौ हानियो । रामनाथ अघोरी राजा त्रिभुवनका समेत गुरु थिए । गुरुभक्ति स्वरुप राजा त्रिभुवनले आश्रममा मन्दिर बनाइदिए, जुन अहिले पनि देख्न सकिन्छ । पशुपति आर्यघाटको सम्पूर्ण चिता तिनै अघोरीबाबाले बनाएका थिए । त्यसको जीर्णोद्धार र सुधारमा त्यागीनाथ बाबा जीवनको शेष अवस्थासम्म क्रियाशील रहे ।

This image has an empty alt attribute; its file name is DSC_0262-1024x576.jpg



तात्कालिन युवराज महेन्द्रलगायत राजपरिवारका सदस्यहरु बाक्लै आश्रममा आइरहन्थे । राजा महेन्द्रप्रति उनको विशेष श्रद्धा थियो । त्यसो त राजा वीरेन्द्र, ज्ञानेन्द्रसम्म उनको पहुँच थियो । राजा त्रिभुवनसंग बाक्लै आउजाउ र उठबस रहेको बताउँथे ।
त्यो उत्साही किशोरलाई गुरुको मन जित्न कति पनि समय लागेन । अध्यात्म र विज्ञानलाई जोड्ने कडी खोज्दै दिनरात अध्ययन, चिन्तनमा लाग्यो ।

गुरुको सानिध्य र ठूलाबडाको संगतबाट माझिँदै गयो । अध्यात्म हुँदै उनको पठनपाठन आयुर्वेदिक उपचारतर्पm मोडियो । काठमाडौं र पटना आयुर्वेद कलेजमा उनले आयुर्वेदिक उपचार पद्दतिको ज्ञान लिए । एकपटक आयुर्वेद विभागको निर्देशककी बुहारी गम्भीर विरामी भइन । लाइसेन्स थिएन । मौका चौका हान्दै उनले सर्त तेस्र्याए– ‘मलाई लाइसेन्स दिनुस, म तपाईंकी बुहारी निको पारिदिन्छु ।’ कुरो मिल्यो, त्यागीनन्दले डा. उपाधि पाए, निर्देशककी बुहारी तन्दुरुस्त भइन् ।

सानैदेखि बैराग्य लागेर घर छोडेका त्यागीनन्द एकपटक पनि घर फर्किएनन् । एउटा जीवन त्यागेर, अर्को जीवनमा प्रवेश गरेपछि काम, क्रोध, मोह त्याग्नुपर्छ भन्ने लाग्यो । घर छोड्दा त्यागीनन्दका पिताको विहारमा आठ हजार विघा जग्गा जमिन थियो । सम्पत्ति त परै रह्यो, गृहस्थी गर्ने सोचसम्मले प्रवेश पाएन । नेपाली बाबा नामले भारतमा पनि उनको ठूलो ख्याती छ । लिनुको विकल्प दिनुलाई जीवनको दर्शन बनाएका नेपाली बाबाले लाखौं चन्दा दिएर धाार्मिक थलोको जिर्णोद्धार र नवनिर्माण गरेका छन् ।

डाक्टर त्यागीनाथ बाबाको जीवन दर्शन आम मानिसको भन्दा पृथक छ । बाबाले पशुपतिनाथ, विराटनगर, सुनसरीको बराहक्षेत्र, जनकपुरधाम, धरानको पिण्डेश्वरीजस्ता धार्मिकस्थलमा आफ्नै सक्रियतामा थुप्रै भौतिक संरचना बनाएका छन् । बाबाका दिव्यदृष्टि ज्योति, आरोग्य दर्शन, मृत्यु विचार, नयाँ युग, रुद्राक्ष महत्वजस्ता ६ वटा पुस्तक प्रकाशित छन् । आफूलाई सम्झिएर आउनेको अन्तिम अवस्थासम्म उपचार गर्थे ।

तर यस्ता कर्मयोगीले किन चेलाचपाटी जन्माएनन त ? किनभने उनलाई जीवनमा चेलाहरुको मोह भएन ।
विशेषणको जोगी भएपनि सस्ता र कर्महारा जोगीलाई घृणा गर्छन् । माछा, मासु, रक्सी, भाङ, धतुरोको सेवनले जोगी बिग्रिएको निष्कर्ष निकालेका नेपाली बाबा भन्छन– जो भएपनि काम नगर्नेलाई माम दिनुहुन्न । नेपाली बाबा सिद्धहस्त तान्त्रिक हुन । तन्त्रमा सिद्ध पाउन शुद्ध उच्चारण पहिलो सर्त भएको बताउँछन् । भूतप्रेत प्रति अलिकति पनि विश्वास छैन् । अघोरीबाबाका नाममा मान्छेको मासु खाने भनेर आतंक मच्चाउनेहरु प्रति उनको गम्भीर आपत्ति छ । उनी भन्छन– यी सब नाटक हुन् ।

भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ र आफू एउटै सम्प्रदायको बताउने नेपाली बाबा आदित्य चेला भएको बताउँथे । १ सय १२ वर्षसम्म स्वस्थ जीवन पाएका नेपाली बाबाको दीर्घजीवनको रहस्य के हो त ? व्यस्त जीवन र साकाहारी खानपान आफूलाई दीर्घजीवी बनाएको उनको बुझाइ थियो ।

तपाइँको प्रतिक्रिया