शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २३:५४ |सिड्नीको समय: २१:५४ |काठमाडौंको समय: १७:३९

महावाणिज्यदूत कार्यालयकै फोन प्रयोग गरेर सिड्नीमा नेपाली ठग्न स्क्यामरहरु सक्रिय

एएनजेड खबरजुलाइ १४, २०२१


‘गत जुलाई १० तारिख, लकडाउनका कारण बरउड स्थित आफ्नै निवासमा बसिरहेकी शिलु कार्की (गोपनियताका लागि नाम र स्थान परिवर्तन) लाई नेपाली महावाणिज्यदूत कार्यालयको नम्वरबाट फोन कल आयो । विद्यार्थी भिषामा रहेकी निलिमालाई ड्यानियल नाम गरेका व्यक्तिले आफू महावाणिज्यदूत कार्यालयको कर्मचारी भन्दै भिषा लगायतका विषयमा प्रमाणिकरणका लागि विभिन्न विवरण मागे । कन्सुलेट जनरलकै अफिसबाट फोन आएको भनेपछि निलिमाले सुरुमा आफ्नो ब्यक्तिगत विवरण संक्षेपमा बताइन् । तर जब उनले ट्याक्स फाइल नम्बर र बैंक डिटेल पनि मागे त्यसपछि उनको मनमा चिसो पस्यो । उनले आफू यतिखेर ब्यस्त रहेको बताउँदै पछि कल गर्न भन्दै फोन राखिदिइन् ।’ तत्कालै उनले आफन्त मार्फत कन्सुलेट जनरल कार्यालयकै अन्यसंग सम्पर्क गर्दा त्यहाँ ड्यानियल नाम गरेका कोही कर्मचारी नभएको र स्क्यामरहरुले महावाणिज्यदूत कार्यालयको फोन ह्याक गरेर उनीलाई फोन गरेको पत्ता लगाइन्, र ठगिनबाट जोगिइन् ।’


निलिमालाई गएको फोन कल त एक प्रतिनिधि घटनामात्र हो । केही दिनदेखि सिड्नीमा विशेष गरि विद्यार्थीहरुलाई लक्षित गर्दै महावाणिज्यदूत कार्यालयको फोन नम्बरबाट यस्ता फोनहरु निरन्तर गइरहेको रिपोर्ट आफूलाई आएको महावाणिज्यदूत दीपक खड्काले एएनजेड खबरसंगको टेलिफोन कुराकानीमा बताएका छन् ।


बिगत केही दिनदेखि महावाणिज्यदूतको कार्यालयको टेलिफोन नम्बरवाट स्क्याम कल गरेर बैंक खाता, ट्याक्स फाइल, भिसा स्ट्याटस लगायतका विषयमा जानकारीहरु मागिएका धेरै गुनासाहरु हामीहरुलाई आइरहेको छ, तर हाम्रो कार्यालयले कहिल्यै पनि त्यसरी फोनकल गरेर कसैको महत्वपूर्ण ब्यक्तिगत विषयको जानकारी लिने गरेका छैनौं । हाम्रो कार्यालयको फोन नम्बर ह्याक गरेर स्क्यामरहरुले ठगी गर्ने उद्धेश्यले यस्तो गरेको हुन सक्ने भएकाले यसलाई बेवास्ता गर्न र स्क्याम कलबाट सचेत रहन सबैलाई आग्रह गर्देछौं, महावाणिज्यदूत खड्काले भने ।


त्यसो त यसअघि पनि पटकपटक महावाणिज्यदूत कार्यालयको नाममा फोन गरि ब्यक्तिगत विवरण र बैंकिंग जानकारी लिन स्क्यामरहरु उद्धत रहेका बारेमा आफूहरुले स्थानीय प्रशासनलाई जानकारी गराएको पनि उनले बताए ।
हुन त जुलाई, अगष्टलाई अष्ट्रेलियामा स्क्यामरहरु सबैभन्दा बढि सक्रिय हुने समयको रुपमा पनि लिइन्छ । यतिखेर विशेष गरेर, अष्ट्रेलियन कर कार्यालय –(एटिओ) मार्फत ट्याक्स रिटर्न गर्ने समय भएकाले स्क्यामरहरु एटिओसंग सम्बन्धित रहेर स्क्याम कल गर्न सक्रिय रहन्छन् ।
स्क्यामरहरुले प्रविधीको प्रयोग गरि अष्ट्रेलियन ट्याक्सेसन अफिस ( एटिओ) र व्यक्तिको ट्याक्स एजेण्टकै नम्बरबाट कल गरेर मानिसहरुलाई फसाउने गरेका पनि छन्, जसलाई यहाँ एटिओ स्क्यामको नामले चिनिन्छ ।

यसमा सक्रिय गिरोहका व्यक्तिले बिभिन्न स्रोतबाट प्राप्त मोबाइल नम्बरमा फोन गरि कर चुक्ता गर्न बाँकी भएकाले तत्काल भुक्तानी नगरे प्रहरी पठाएर पक्राउ गर्ने धम्की दिन्छन् । प्रबिधी र सूचनामा जानकार गिरोहका सदस्यलाई ब्यक्तिलाई प्रहरी र कर सम्बन्धि कानुनको जटिलता देखाएर पैसा तिर्न बाध्य बनाउँछन् । भुक्तानी भने बैंक मार्फत नभइ, आइटिउन, गिफ्ट कार्ड र विट क्वाइन जस्तै बैकल्पिक माध्यमबाट गर्न लगाउँछन् ।


अवैतानिक दूतावास होस् या कर कार्यालय या प्रहरी कार्यालयका नाममा यस्ता गिरोहको कल आउने बित्तिकै त्यसलाई बेवास्ता गरेर सम्वन्धित निकायमा वा अन्य जानकार ब्यक्तिहरुलाई सम्पर्क गर्नेतर्फ लाग्न पनि अवैतानिक महावाणिज्यदूत खड्काले सुझाव दिए ।

तपाइँको प्रतिक्रिया