शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २२:२२ |सिड्नीको समय: २०:२२ |काठमाडौंको समय: १६:०७

सहयोग गर्ने रुपन्देही सञ्जाल, खुसी भो बुटवलको अस्पताल

एएनजेड खबरअगस्ट ३१, २०२१


अष्ट्रेलियालाई कर्मभूमि बनाउँदै आएका रुपन्देहीवासीहरुको संस्था रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाले बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा अस्पताल)लाई ७ लाख ४६ हजार ५० रुपँैया बराबरको ५ वटा प्यासन मोनिटर सहयोग गरेको छ ।

अष्ट्रेलियामै रहेका रुपन्देहीबासीहरुबाट संकलित रकमले आईसियु कक्षमा भर्ना भई उपचार गरिरहेका बिरामीको उपचार सजिलो बनाउने उद्धेश्यसहित विद्युतिय डिभाईस पेसेन्ट मोनिटर हस्तान्तरण गरिएको सन्जालले जनाएको छ ।
उक्त विद्युतीय डिभाइसको सहायताबाट शरीरको तापक्रम, ब्लड प्रेसर, मुटुको धड्कन, शरीरमा भएको अक्सिजनको मात्रा इत्यादि नाप्न सकिन्छ ।
आइतबार एक कार्यक्रम बिच संजालका प्रतिनिधि कांशीराम काफ्लेले अस्पतालका प्रतिनिधि डा. राजेन्द्रप्रसाद बस्याललाई मोनिटर हस्तान्तरण गरेका थिए ।
अनलाईन मार्फत भएको सो औपचारिक कार्यक्रममा प्रमुख अतिथि समेत रहेका डा.बस्यालले अष्ट्रेलियामा रहेका नेपालीहरुबाट सहयोग पाउँदा निकै खुसी लागेको भन्दै कृतज्ञता ज्ञापन गरेका थिए । उनले अहिले प्राप्त भएका मेसिनहरुबाट बिरामीको स्वास्थ्य उपचारमा अझ सहज हुने विश्वास लिइएको बताए ।

This image has an empty alt attribute; its file name is sahayog-1024x308.jpeg


रुपन्देही सञ्जालका अध्यक्ष ईश्वर पोखरेलले अष्ट्रेलियामा रहेका रुपन्देहीबासी नेपाली विद्यार्थी, व्यावसायी, एवं कर्मचारीहरुबाट आर्थिक संकलन गरी बिरामीको उपचारमा सहजता ल्याउन उक्त सामग्री खरिद गरिएको जानकारी गराएका थिए ।
सन् २०१५ मा स्थापना भएको सञ्जालले कोभिड महामारी प्रभावितलाई राहत वितरण, यौन हिंसामा परेका बालबालिकाहरुलाई सहयोग, क्यान्सर पीडितलाई सहयोग, भूकम्प पीडितलाई एनआरएनए मार्फत सहयोग, अनाथ आश्रममा फरक क्षमता भएका व्यक्तिहरुलाई सहयोग, शैक्षिक सामग्री प्रदान गर्दै आएको छ । सञ्जालका महासचिव दिवाकर काफ्ले भन्छन्, ‘आगामी दिनमा पनि यसप्रकारका सहयोगात्मक सामाजिक कामहरुलाई अझै बढी सक्रिय बनाउन सञ्जाल निरन्तर लागिरहने छ । ’
उक्त कार्यक्रममा जुम मार्फत अष्ट्रेलियाबाट सञ्जालका संस्थापक अध्यक्ष राज खनाल, पूर्व अध्यक्ष कृष्ण गैरे, कला साहित्य तथा सांस्कृतिक संयोजक मुक्तिराम पोखरेल, सल्लाहाकार डा.प्रकाश पौडेल, उपाध्यक्ष रोशन कोइराला, सदस्य एवं सामाजिक अभियन्ता सरोज पान्डे, रन्जिता भन्डारी, एवं पूर्व पदाधिकारी तथा सदस्यहरु जोडिएका थिए ।

तपाइँको प्रतिक्रिया