सोमबार, मंसिर २०, २०७८ |Mon Dec, 2021
अक्ल्याण्डको समय: २०:३३ |सिड्नीको समय: १८:३३ |काठमाडौंको समय: १३:१८

काँग्रेसमा नेतृत्व चयनको सकस, नेतृत्व दोश्रो पुस्तामै जानुपर्छ

कुसुम भट्टराईसेप्टेम्बर ६, २०२१
This image has an empty alt attribute; its file name is kusum-bhattarai.jpg


नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनको सरगर्मीसँगै भावी सभापति पदको जोडघटाउ सुरु भएको छ । नेतृत्वको यो होडमा कसले बाजी मार्ला, अहिल्यै भन्न सकिन्न ।
सभापतिका लागि मौजुदा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र नीधि, रामशरण महत, अर्जुन नरसिंह केसी लगायतका अन्य केहीले पनि दावी फर्माएका छन् । काँग्रेसको इतिहासमै सभापतिका यति धेरै दावेदार कहिल्यै देखा परेका थिएनन् ।


२००७ सालको क्रान्तिअघि नेपाली कांग्रेस स्थापना हुँदा सर्वसम्मतीले मातृकाप्रसाद कोइराला पार्टी सभापति भएका थिए । हो, उनीसँग विमती राख्ने एकजना मात्र थिए, डिल्लीरमण रेग्मी । रेग्मीले पछि राष्ट्रिय काँग्रेस स्थापना गरे ।
क्रान्तिपछि दाजुभाई मात्रीका बाबु र विपी कोइराला बिच खटपट भयो । काँग्रेस बिभाजित भयो । मात्रिकाले प्रजा परिषद गठन गरे, विपीले काँग्रेसको मूलधारको नेतृत्व गरिरहे, बाँचुंजेल ।


विपीको नेतृत्वको ओज र क्षमता यसबाट पनि स्पष्ट हुन्छ कि उनको विकल्प खोज्ने साहस या अभिष्ट कसमैमा रहेन । हुन त, विपीकै समकालीन एक से एक दिग्गज नेताहरु सुवर्णशमसेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, डा. तुलसी गिरी, विश्वबन्धु थापा आदि नभएका हैनन् । डा. गिरी र विश्वबन्धु पञ्चायततिर लागे, बाँकी नेताहरुले विपीको बिकल्प खोज्ने आवश्यकता नै देखेनन् ।


विपीको बहुआयामिक (वैचारीक, साँगठनीक, साहित्यीक आदि) व्यक्तित्व सामु अन्य नेताहरुको कद केही तलै थियो । हो, दरबारविरुद्ध शसस्त्र संघर्ष गर्ने कि शान्तिपूर्ण संघर्ष गर्ने भन्ने सवालमा सुवर्ण शमसेरले विपीको अडानप्रति केही समय विमती जनाएका थिए । २०१७ सालको राजा महेन्द्रको कदमपछि सुवर्ण शमसेरले भारत निर्वासनमै रहेर शसस्त्र संघर्षको तयारी पनि थालेका थिए, तर विपी त्यसको पक्षमा रहेनन् ।
२०३९ सालमा विपीको देहावसान पछि कृष्णप्रसाद भट्टराई काँग्रेसको कार्यवाहक सभापति बने । किसुनजीलाई चुनौती दिनसक्ने उनकै हाराहारीको नेता अर्को कोही थिएन । गणेशमान सिंह त सर्वोच्च नेता भइहाले, उनी पार्टी सभापति बन्ने भन्दा पनि समग्र पार्टीको अभिभावक बन्ने बाटो रोजे, यही कारण त उनी आज पनि उत्तिकै सम्मानीत छन् ।


२०४६ सालको परिवर्तनपछि चाहिँ किसुनजीको नेतृत्वलाई तात्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाले चुनौती दिए, जुन स्वभाविक थियो । विराटनगर जुट मीलमा भएको आन्दोलनको नेतृत्व गरेका र साढे तिन दशक काँग्रेसमा शक्रिय रहेका गिरिजाबाबुले त्योबेला किसुनजीको नेतृत्वको विकल्प खोज्नु अन्यथा थिएन ।


गिरिजाबाबु सभापति भएपछि त झन् उनलाई चुनौती दिनसक्ने कोही देखा परेन । गणेशमानजी र किसुनजीले शक्रिय राजनीतिबाटै सन्यास लिए । गिरिजाबाबुलाई एकजना चिरंजीवी वाग्लेले बाहेक अरुले सभापतिमा चुनौती दिन सकेनन् । तिनताक हुने काँग्रेस महाधिवेशनमा गिरिजाबाबुको बिरुद्ध खडा हुने आँट कसैले गर्दैनथे ।


सभापति शेरबहादुर देउवाकै पालामा हो, उनको विकल्पमा यति धेरै अनुहार देखा परेको । यसबाट पनि नेतृत्व कति ओजपूर्ण छ भन्ने बुझिन्छ । देउवाले आफुूलाई सर्वसम्मत नेताको रुपमा स्थापित गर्न सकेनन् । काँग्रेस नेतृत्वको पुरानो परम्परा अब भत्किएको छ, सभापतिको विकल्पमा एक हैन, दुई हैन, अनेक देखा परेका छन् । अर्थात् देउवाइतर समूह खडा भएको छ ।
देउवालाई यतिबेला रामचन्द्र पौडेलले चुनौती दिएका छन् । तर, सभापतिमा पौडेल मात्र छैनन्, अन्य थुप्रै अनुहार छन्, जो कोहीभन्दा कोही कम छैनन् । कसैको योगदान कसैको भन्दा कम छैन । कसैले कोइराला परिवारको ‘लिग्यासी’ बोकेका छन्, कसैले चाक्सीबारी (गणेशमान सिंह)को ‘लिग्यासी’ बोकेका छन् । अनि कसैले लामो शक्रियताको ‘लिग्यासी’ बोकेका छन् । यस्तोमा कार्यकर्ताले कसलाई रोज्ने, कसलाई नरोज्ने ?


एउटै मर्यादाक्रमका जर्नेलहरु धेरै भए भने सेनापति छान्न कठिन हुन्छ । काँग्रेसको हालत अहिले यस्तै छ । नेता पौडेलबाट आजको चुनौतीपूर्ण अवस्थामा पार्टीको नेतृत्व होला भन्ने कमैलाई विश्वास छ । उनको व्यक्तित्व विपी, किसुनजी र गिरिजाबाबुजस्तो पनि हैन । गगन थापा या विश्वप्रकाश शर्माको जस्तो लोकप्रियता पनि उनको छैन । तर, गगन या विश्वप्रकाश पुस्ताले अहिले नै सभापति ताक्ने बेला पनि भइसकेको छैन ।
यस्तो बेला या त सभापतिमा देउवालाई नै निरन्तरता दिने या दोश्रो पुस्ताका शशांक, शेखर, प्रकाशमान, विमलेन्द्र आदिबाटै कसैलाई सभापति छान्नुको विकल्प काँग्रेससँग छैन । तर, यी नेताहरुबिच मतैक्यता होला त ? समस्या यहींनेर छ ।

देउवाइतरबाट सर्वसम्मत सभापति छान्न अहोरात्र चलीरहेको कसरतले अहिलेसम्म कुनै निकास फेला पार्न नसकेको बेला या त पौडेललाई नै सभापति बनाउनुपर्ने हुन्छ, या देउवालाई नै निरन्तरता दिनुपर्ने हुन्छ ।
देउवा र पौडेलमध्ये जो सभापति भए पनि काँग्रेसले फड्को मार्ने देखिंदैन । नेतृत्व दोश्रो पुस्तामै हस्तान्तरण हुनुपर्छ भन्ने काँग्रेसजन र आम समर्थकको चाहना छ । तर, एउटै मर्यादाका जर्नेलहरु बिच कुरा मिल्ला त ? काँग्रेसको गाँठो यहींनेर आएर अडकिएको छ ।

This image has an empty alt attribute; its file name is 20200917091641_Clipboard38.jpg




तपाइँको प्रतिक्रिया