मंगलबार, मंसिर २१, २०७८ |Tue Dec, 2021
अक्ल्याण्डको समय: २२:२३ |सिड्नीको समय: २०:२३ |काठमाडौंको समय: १५:०८

एमसिसी, संभावित संकट र हाम्रो नेतृत्व

डिल्ली राज पाण्डेयसेप्टेम्बर १३, २०२१
This image has an empty alt attribute; its file name is dilli-pandey-1017x1024.jpeg



दक्षिण अफ्रिकामा कुनै समय यस्तो पनि थियो जतिवेला कालाहरूलाई पटकपटक गोलीको निशाना बनाउने एउटा अपराधीले गोराहरूको अदालतमा सगर्व बयान दिँदै भन्थ्यो, “मैले कुनै अपराध गरेको छैन । मैले त गोली हान्ने अभ्यास मात्र गरेको हुँ ।”

नेपालमा युद्धका सरदारहरू आज कोही सत्तामा छन् त कोही बाहिर । जसको कलो खाएर नेपाली जनताको कंचटमा गोली दागिएको थियो तिनीहरूको दिमागमा पैसाको मान्यताबाहेक अरू केही रहेनछ भन्ने कुरा वर्तमानका घटनाक्रमहरूले पुष्टि गरिरहेका छन् । समाजले सबैभन्दा बढी विश्वास गर्ने व्यक्तिले नै समाजलाई ढाँट्छ भने त्यो व्यक्ति सबैभन्दा खराब हो । खराब ब्यक्तिले नै गलतलाई साथ दिइरहेको हुन्छ ।

केवल नाफा र नोक्सानको राजनीति भैरहेको छ । सकिन्छ शक्तिको पछाडि भाग, चाकडी गर, ताली र गालीमा भाग लेऊ । सकिँदैन चुप लाग अनि निष्पक्षताको वकालत गर । जब देश संकटमा पर्दछ त्यो वेला तटस्थताको वकालत गर्नेहरू सबैभन्दा अवसरवादी, लाछी र कायरहरू हुन् । हरेक तर्कले कर्मको अपेक्षा गर्दछ । निष्पक्षता जब ‘क्रसरोड’मा तमासे बन्दछ त्यसले बोक्ने मूल्य र आदर्श केवल नाफा या घाटामा परिणत हुन्छ । पैसाको मान्यतालाई आफ्नो दिमाखमा बोकेर हिड्नेहरूले राजनीति होइन ब्यापार गर्नुपर्छ ।

गधा धोएर गाई हुँदैन अनि भनिरहनु परोइन कुकुरको पुच्छर १२ बर्ष ढुंगामा राखेपनि बांगाको बांगै । तुइन काटेर एउटा नेपालीको हत्या गरिएको छ । पामर शासक जनताको मुखमा पट्टी बाँध्ने आदेश दिन्छ । दार्चुलाको नेपाली आकाशमा भारतीय हेलिकप्टर उड्छ सत्ताको कात्रो भिर्नेहरू चुँसम्म बोल्दैनन्, बरू हतारो छ एमसिसी पास गर्न । सिधा कुरा एमसिसी कार्यान्वयन होइन खारेज गर्नुपर्छ । सत्ता र पैसाको प्यास ५५ अरबको हड्डीमा –याल काढ्नुभन्दा अगाडि विज्ञहरूको सुझाव र सल्लाहमा लिएको भए आजको अवस्था नै आउने थिएन ।

“सवाल यो होइन कि तिमी कत्तिको सानो छौ । सवाल त यही नै हो कि सानै भए पनि आस्था, प्रतिबद्धता र कार्ययोजनाको शक्ति तिमीमा कत्तिको मात्रामा छ ।”

माथिका भनाइहरू ६० वर्षअघि अमेरिकाको एउटा अखबारलाई क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोले दिएको अन्तरवार्ताको हो । क्यास्ट्रोको बारेमा मान्छेहरूका आफ्ना बिमतिहरू हुन सक्छन् किन्तु स्वाभिमान र देशभक्तिपूर्ण उनका अडानका अगाडि विरोधीहरू समेत नतमस्तक देखिन्छन् ।

अमेरिकाको हज्जारौं हज्जार कोशिसका बाबजुद अमेरिकाको नाकैमुनि सग्लो भएर बाँच्न सक्ने क्युबा धेरै अर्थमा अर्थपूर्ण छ तर हाम्रो देश अमेरिकाभन्दा धेरै टाढा छ । दासता र आत्मसमर्पणको मामिलामा भने हामी क्युबाभन्दा अमेरिकासँग निकै नजिक हुने दौडमा छौं । यही दौड हाम्रो दुर्गतिको नयाँ खेल बन्ने वाला छ ।

नेपालमा यतिबेला एमसीसी बहस चर्को बन्दैछ । यसभित्रको सघनताका बारेमा बहस नित्तान्त आवश्यक छ । आखिर यो के हो ? र यसले वर्तमान र भविष्यमा पार्ने सकारात्मक र नकारात्मक प्रभावहरू के कस्ता हुनेछन् भन्ने बारेमा सार्थक छलफल र निष्कर्षको माग गर्दछ । देश कुनै व्यक्तिविशेषको सनकका भरमा अगाडि जानु हुँदैन । होशियार हुन सकिएन भने यो इन्डो प्यासिफिक रणनीतिले नेपाललाई अफगानिस्तान, इराक या सिरिया बनाउन सक्छ ।

जनता झुक्किए त अर्को निर्वाचनमा सच्चिने अवसर हुन्छ तर जब देश नै झुक्किन्छ सिंगो देश र भावी पुस्ताले दरार खेप्नुपर्छ । सबैभन्दा पहिले के कुरा प्रष्ट हुन जरूरी छ भने प्रचण्ड, बाबुराम, माधव, शेरबहादुर या ओलीभन्दा देश ठूलो हो । देशको अगाडि यिनीहरू एउटा भुसुना बराबर पनि होइनन् तर दुर्भाग्य यिनै भुसुनाहरूका कारण देशमा दुर्गन्ध फैलिएको छ ।

सरकामा हुँदा एउटा सरकारबाट बाहिर हुँदा अर्को बस् थुक्ने र चाट्नेको म्याराथौन दौड । सरकारमा हुँदा त्यही एमसीसी राम्रो सरकारबाट बाहिर निस्किदा त्यही एमसीसी खराब कसरी हुनसक्छ । यस मामलामा कमसेकम शेरबहादुर प्रष्ट छन् किनकि उनी समयको नाडी छाम्न सक्ने नेता नै होइन ।

आफ्ना खुट्टाहरू हेरौं, आफ्नो धरातल पहिचान गरौं । देशको आत्मगत र वस्तुगत अवस्था, अन्तराष्ट्रिय शक्ति केन्द्रहरूको सम्भावित प्रयोगशाला हुन नदिन एमसीसी पारित होइन खारेज हुनुपर्छ !!!

रणनीति भनेकै पर्दापछाडिको खेल हो । एमसीसी सम्झौतामार्फत् नेपाल छिर्ने अमेरिकाको सहजै वहिर्गमन होला तर इतिहास भन्छ, यो आफैमा सकसपूर्ण छ । अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले भनेका थिए, “इरानमा हाम्रो धेरै लगानी छ फर्केर जान मिल्दैन ।” फरकफरक देशमा लगानीका सम्बन्धमा यस्तै भनाईहरू बुस तथा रेगनले पनि भनेका थिए । भोलि नेपालको सन्दर्भमा यही कुरा भने त्यसको जिम्मेवारी कसले लिने ?

हरेक देशले आफ्नो राष्ट्रिय स्वार्थलाई नै प्रमुखता दिने कुरा स्वभाविक छ र हामीले हाम्रो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कुटनीतिक सुझबुझ अपनाउनुपर्दछ । आजको विश्वमा कुटनीतिक सफलता या असफलतासँग देशको भविष्य गम्भीर रूपमा जोडिन पुग्दछ ।

देश र जनतालाई केन्द्रमा राखेर नीति, नियम बनाऊ र त्यहीँ अनुरूप कर्म गर । दुई विशाल देशहरूका बीचमा अवस्थित हामीहरू अवसर र जोखिम दुवैको दोसाँधमा छौं । विशाल देशका आन्तरिक मामिलाहरूमा चोट पुग्नेगरी कुनै पनि कदम चाल्नु स्वयम् हाम्रा लागि आत्मघाती सावित हुन सक्छ ।

एमसिसीमा प्रवेश गर्नुअघि इरान, इराक, अफगानिस्तान, चिली लगायतका देशको इतिहास र वर्तमानको अध्ययन गर्नु सान्दर्भिक हुन्छ सँगसँगै विन लादेन, सद्दाम हुसैन, सोमोजा, बाटिस्टा या सुहार्तो जस्ता अन्तर्राष्ट्रिय व्यक्तिहरूको उत्थान र पतनको बारेमा जानकारी लिनु वाञ्छनीय हुन्छ । डलरका लागि देशको स्वाभिमान बेच्ने कठपुतलीहरू अन्ततः आफ्नै मालिकहरूबाट मारिएका छन् ।

नेपालका प्रमुख राजनीतिक दलका नेताहरू ढाँटहरूको प्राइभेट कम्पनीमा काम गर्ने कामदारहरू जस्ता देखिन्छन् । जनतालाई सम्पूर्ण रूपमा खुलस्त बताउने गरेको पाइदैन । हरेक सम्झौता पछाडिका खेलहरू केवल रहस्यमय र सत्ता स्वार्थका खेलहरूमा मात्र केन्द्रित देखिन्छन् । एउटा तीतो सत्य के हो भने नेतृत्वलाई जनताप्रतिको विश्वास पटक्कै छैन यदि विश्वास हुन्थ्यो भने जनतालाई सत्य बताउने आँट हुन्थ्यो ।

अमेरिका र भारतको समान स्वार्थ चीन र नेपाल बीच भएका सम्झौताहरू कार्यान्वयनको तहमा नजाउन् भन्ने छ । अमेरिका नेपालमा सम्पूर्ण रूपमा छिर्न चाहन्छ चाहे त्यो एमसीसी होस् या अरू कुनै माध्यममार्फत् । हेक्का राख्न के जरूरी छ भने अमेरिका केवल एउटा ढाड चाहन्छ जहाँ टेक्न सकियोस ।अमेरिकाको विदेशनीति निकै खतरनाक छ सियो भएर छिर्ने र हात्ती भएर बबण्डर मच्चाउने । कतिपयलाई आज यो चिन्तनको उग्रता पनि लाग्ला तर यो समयको अनिवार्यता हुनेछ ।

यस धर्तीमा अनेकन चोरहरू छन् जो अन्य राष्ट्रको सम्प्रभूतालाई कुल्चिने गर्दछन् तर आज आफ्नै पार्टी र देशमा ती चोरहरूका छिटाहरू सलबलाएका छन् । अमेरिकी ‘महाप्रभू’ ‘युरोपियन छोटेप्रभू’ तथा भारतीय कठपुतलीका लठैत अन्तरघाती र विश्वासघातीहरूलाई डलरको र्याल काड्नु परेको छ एमसीसीमार्फत् ।

निकारागुवाको घृणित युद्ध अनि हज्जारौंको ज्यान कसले लिएको थियो ? चिलीमा कत्लेआम अनि पिनोसेलाई धाप कसले मारेको थियो ? अर्जेन्टिनामा ३० हजार ब्यक्तिहरूलाई कसको इसारामा गायब पारिएको थियो ? पेरू, कोलम्बिया, बोलिभिया अर्थात् सिंगो ल्याटिन अमेरिकी महादेशमा लाखौं जनताको नरसंहारका लागि हतियार र निर्देशन कसले दिएको थियो ?

भियतनाम, कम्बोडिया र पूर्वी टिमोर, इराक, अफगानिस्तान अनि इन्डोनेशियामा निर्दोश जनतालाई कसले कसको इशारामा बम र बारुदले उडाएको थियो ? विश्वका कैयौं भागहरूमा निषेधित हतियार (Depleted Uranium Ammunition –DUA) अर्थात् यूरेनियमयुक्त हतियारहरु प्रयोग कसको इशारामा भैरहेको छ उत्तर सफाचट छ– अमेरिका र त्यसका पिछलग्गू सैन्य संगठन नेटो ।

यस्ता हज्जारौं उदाहरणहरु छन् जसले अमेरिकाको विदेशनीतिको वास्तविक चेहरा विश्व जनमत समक्ष देखिएको छ । अमेरिका आफ्नो देशको लागि लोकतान्त्रिक होला परन्तु त्यसको विदेशनीति भने गोमन सर्पभन्दा खतरनाक छ र त्यसैले अमेरिकासँग सहयोग लिनुभन्दा अगाडि हज्जारपटक सोच्नु बुद्धिमानी हुनेछ । आफ्ना खुट्टाहरू हेरौं अनि धरातल पहिचान गरौं । आजको गम्भीर भुलले भोलिको पुस्तालाई आफ्नै देशमा सास फेर्न कठिन नहोस्, आफ्नै देश आफ्नै सन्तानहरूका लागि गोलघर नबनोस् ।

आज व्रेनवाश गर्ने खेल हुँदैछ । औसत मानिसहरू दास बन्दैछन् । ब्रेनवाश गर्ने कलात्मक विधिमा पोख्त कथित बुद्धिजीवीहरू चतुरे तर्कहरू गर्दैछन् । जसले आफ्नै खुट्टाले टेक्ने सामथ्र्य राख्दैन बिहान के बोल्छ, दिउँसो र साँझ के बोल्छ तिनीहरूलाई जबरजस्त बुद्धिजीवीको पगरी गुथाइदैंछ । विस्तारै नकाब उत्रिदैछ, पटाक्षेप हुँदैछ । चोरहरूलाई महान् भन्दै दोसल्ला ओढाउने काम अब बन्द हुनुपर्छ । जब नेतृत्व बौलाइरहेको हुन्छ तब समाजमा आँधीको सम्भावना हुन्छ ।

इतिहास, समय, सन्देश, संकट सम्भावना र विज्ञानका साथ जो इमान्दारीपूर्वक खडा हुन सक्छ त्यसले मात्रै अबको नेतृत्व गर्न सक्छ । उमेरले युवा देखिए पनि मानसिक र वैचारिक रूपमा प्रष्ट हुन नसक्नेहरूको अल्पायुमैं मृत्यु हुन्छ ।

अमेरिकी “महाप्रभू”भन्दा खतरनाक नेपाली गोमन सर्पहरू छन् जसको टाउकोमा ढिलो या चाँडो प्रहार जरूरी छ यो चिन्तनको उग्रता होइन समयको अनिवार्यता हो ! चेतना भया !

तपाइँको प्रतिक्रिया