सोमबार, मंसिर २०, २०७८ |Mon Dec, 2021
अक्ल्याण्डको समय: २०:३२ |सिड्नीको समय: १८:३२ |काठमाडौंको समय: १३:१७

मनकारी अष्ट्रेलियन र ज्ञानबहादुरको दशैं

कुसुम भट्टराईसेप्टेम्बर १३, २०२१
This image has an empty alt attribute; its file name is kusum-bhattarai-1.jpg


म तिनताक ‘कान्तिपुर दैनिक’मा संवाददाता थिएँ । वि.सं. २०५५ को प्रसँग हो । कान्तिपुरको कार्यालय शान्तिनगरस्थित सेतो भवनमा थियो र सम्पादक थिए, योगेश उपाध्याय ।
राजनीतिक सरगर्मी खासै थिएन । दशैं संघारमा थियो । घटस्थापनाभन्दा चार दिनअघि सम्पादकले भने, ‘राजनीतिक खबर केही छैन भने पनि मानवीय अभिरुचीका खबर खोजेर ल्याउ, त्यसै बस्न कहाँ पाइन्छ ?’
मानवीय अभिरुचीका खबर फेला पर्छ कि भन्दै म नयाँ बानेश्वरतिर निस्कीएँ । आफ्नो न्यूज सेन्स (समाचार चेत) जगाउँदै भोटे कुकुरले झैं सुंघदै सडकमा यताउता नियालीरहेको थिएँ । दशैंको चहलहल सुरु भइसकेको थियो । फुटपाथमा कपडा बेच्ने र किन्नेहरुको कोलाहल थियो ।
वीरेन्द्र अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र (हालको संघीय संसद भवन)को मूलद्वारकै छेउमा एकजना मानिस निन्याउरो अनुहार लगाएर पर्खालमा अडेस लगाइ बसिरहेको देखें ।
हल्का फाटेको ढाका टोपी टाउकोमा थियो । पोसाक पनि झुत्रो झाम्रो । निधार चाउरी पार्दै ती मानिस टिठलाग्दो अनुहारमा झोक्राइरहेका थिए । लाग्यो, यी कुनै पिडामा छन् ।
ती श्रमजिवीजस्ता देखिने मानिसको मुहारमा कताकता कुनै मर्मस्पर्सी कथा लुकेको आभास भयो । उनको नजिक गएँ ।
‘के छ दाइ, किन झोक्राएर बसेको ?’, मैले सोधें ।
‘घरको न घाटको भइयो बाबु, साहुले धोका दियो’, उनले भने ।
‘साहुले धोका दियो’ भन्ने वाक्य सुन्नासाथ मैले त्यहाँ समाचार देखिहालें । अनि थालें, छिद्रान्वेशण गर्न ।
ज्ञानबहादुर भुजेल । उनी काभ्रे, कुसादेवीतिरबाट आएका रहेछन् ।
वर्षभरी गाउँमै खेती किसानी र ज्यालादरी मजदुरी गर्ने ज्ञानबहादुरजस्ता श्रमजिवी दशैंभन्दा दुई महिनाअघि काठमाडौं आउँदा रहेछन् । काठमाडौंमा जे जे काम पाइन्छ गर्ने र कमाएको पैसाले श्रीमती र छोराछोरीका लागि दशैंको लत्ताकपडा र आवश्यक चीजबीज किनेर घर फर्कदा रहेछन् । आवधिक रोजगारीका लागि काँठ क्षेत्रबाट आउने यस्ता कामदारको ध्येय दशैं र तिहारको खर्च जोहो गर्नु हुँदोरहेछ ।
ज्ञानबहादुर पनि दशैं खर्च जुटाउन दुई महिना पहिला काठमाडौं आएका रहेछन् । उनले सिनामंगलस्थित एकजना धनाढ्यकहाँ काम पाएछन् । धनाढ्यको गाडी पुछ्नेदेखि भाँडा माझ्नेसम्मका काम उनले गरेछन् । दशैंको मुखमा जब उनले आफ्नो पारिश्रमिक मागे, तब ती धनाढ्यले ६ महिना काम गरेपछि मात्र एकमुस्ट रकम दिने कुरा गरेछन् ।
‘दशैंमा घर जान पाउन्नस्, अहिले तँलाई पैसा दियो भने तँ भाग्छस्, ६ महिना काम गर, अनि मात्र पैसा दिन्छु भनेर साहुले भन्यो, मैले दशैंमा घर जान पाउँ भनेर बिन्ती गर्दा उल्टै एक सुको नदिएर साहुले घरबाटै निकालीदियो हजुर’, ज्ञानबहादुरले सुनाए ।
दुई महिना काम गरेको उनले पारिश्रमिक पाएनन् । साहुले लात्तै लात्ताले हानेर कामबाट निकालेछन् ।
अब घर कसरी फर्कने ? उनीसँग बाटा खर्चसमेत थिएन । दशैंको मुखमा गरिब नेपालीको ‘दर्दभरी कहानी’ सुनेपछि एउटा संवाददाताको मन पनि भावुक भयो । मैले कान्तिपुर दैनिकमा ज्ञानबहादुरको दुःखबारे एंकर स्टोरी बनाएँ, जुन भोलीपल्ट प्रथम पृष्ठमा प्रकाशित भयो ।
तिनताक ‘द काठमाडौं पोष्ट दैनिक’मा कविता शेरचन कार्यरत थिइन् । उनलाई ज्ञानबहादुरको स्टोरी मन परेछ, अंग्रेजीमा अनुवाद गरेर काठमाडौं पोष्टमा पनि प्रकाशित गरिदिइन् ।
बडा मार्मिक कथा थियो, जसले धेरैलाई भावुक बनायो । स्टोरी प्रकाशित भएकै दिन मलाई भेट्न एकजना अष्ट्रेलियन नागरिक कान्तिपुरको कार्यालयमा आए ।
दाह«ी पालेका । अग्ला अनि गोरा । कुनै पादरीजस्ता देखिने ती अष्ट्रेलियनले मलाई सोधे, ‘ज्ञानबहादुरलाई कहाँ भेट्न सकिन्छ ?’
मोबाइल फोनको चलन आइसकेको थिएन । ज्ञानबहादुरको ठेगाना पनि मैले टिपेको थिइन ।
‘उनको घर काभ्रेको कुसादेवीतिर हो, तर मेरो सम्पर्क छैन, कसरी भेट्ने होला ?’, मैले अन्यौलता प्रकट गरें ।
ती अष्ट्रेलियन नागरिकले आफ्नो नाम पनि बताएनन् । कालो व्यागबाट एउटा खाम निकालेर मलाई दिंदै भने, ‘यसमा पाँच हजार रुपैयाँ छ, ज्ञानबहादुरलाई दिनुहोला, ताकि उनले दशैं मनाउन पाउन् ।’
हाम्रो हिन्दु सनातन वैदिक धर्ममा दान धर्मको ठूलो महत्व छ । दान विभिन्न खालका हुन्छन् । दान दिएर शिलालेखमा भँगेरे अक्षरमा नाम लेखाउन चाहने दानी हुन्छन् । दान दिएर दाताका रुपमा ख्याती कमाउने दानी पनि हुन्छन् । चार कोसा केरा कुनै असहायलाई दिएर सेल्फी खिचाउने दानी पनि हुन्छन् ।
यी सबै दानमध्ये गुप्त दानलाई सबैभन्दा उच्च कोटिमा राखिएको छ । ती अष्ट्रेलियन नागरिकले गुप्त दान दिएका थिए ।
‘ज्ञानबहादुरलाई यो पैसा मैले दिएको नभन्नुहोला, मेरो नाम पनि पत्रिकामा नछाप्नुहोला, ज्ञानबहादुरको दुःखको कथा पढेपछि मलाई लाग्यो, उनको दशैं निराश बित्नुहुन्न, त्यसैले सहयोग गरेको हुँ’, अष्ट्रेलियनले भने ।
मैले उनलाई सम्पादक योगेश उपाध्याय, चिफ रिपोर्टर तारानाथ दाहाल र वरिष्ठ संवाददाता नारायण वाग्लेसँग भेट गराइदिएँ । सबैको रोहबरमा ज्ञानबहादुरको नासो त्यो पाँच हजार बुझिलियौंं ।
ती अष्ट्रेलियनमा कत्रो करुणा, कत्रो उदात्त अनुराग । एउटा नेपाली धनाढ्यले आफ्नै गरिब नेपालीलाई ठगीरहँदा सात समुद्र पारीबाट आएका अष्ट्रेलियनको त्यो सहयोगी भावना साँच्चै महान् थियो । २३ वर्षअघिको पाँच हजार रुपैयाँ चानचुने रकम थिएन । ज्ञानबहादुर र उनका सन्तानका लागि त्यो रकम प्रशस्त थियो ।
भोलीपल्ट कान्तिपुरमा बक्स समाचार प्रकाशित भयो, ‘ह्याप्पी दशैं ज्ञानबहादुर ।’
सोही समाचारमा एक विदेशी मनकारीले ज्ञानबहादुरलाई पाँच हजार सहयोग गरेको उल्लेख गर्दै ज्ञानबहादुरलाई रकम ग्रहण गर्न कान्तिपुरको कार्यालयमा सम्पर्क राख्न आग्रह गरियो ।
एक कान, दुइ कान, मैदान हुँदै त्यो खबर ज्ञानबहादुरको कान पनि परेछ । उनी हुर्रिंदै कार्यालयमा आए । सम्पादक र सम्पादन शाखाका सहकर्मीहरुको रोहबरमा त्यो रकम ज्ञानबहादुरलाई हस्तान्तरण गरियो ।
‘म रित्तो हात कसरी घर फर्किने होला भनेर झोक्राएर बसिरहेको थिएँ, तपाइँ त देउता बनेर आउनु भो सर’, ज्ञानबहादुरले मसँग भने ।
मैले भनें, ‘मलाई नारदसम्म भन्न सक्नुहुन्छ, असली देउता त ती अष्ट्रेलियन हुन्, जसले कुनै होहल्ला नगरी गुपचुप तपाइँलाई यतिका रकम सहयोग गरे ।’
गरिबको दुःखमा गुपचुप दान धर्म गर्ने ती अष्ट्रेलियन नागरिक अहिले यो लोकमा छन् कि छैनन्, थाहा छैन । लोकमा भए पनि, परलोकमा भए पनि उनको भलो होस् ।
केही सातापछि लैनचौरस्थित अष्ट्रेलियन दूताबासमा आयोजित एउटा कार्यक्रममा मैले दुतावासका मिडिया सेक्रेटरीलाई यो प्रसँग सुनाएँ । उनले भनेका थिए, ‘हामीलाई नेपाल र नेपालीको माया लाग्छ । यति धेरै प्राकृतिक सम्पदा भएर पनि नेपालीहरु गरिबीमै बाँच्नु परेको देख्दा दुःख पनि लाग्छ ।’
फेरी दशैं आएको छ । ज्ञानबहादुरहरु दशैं खर्च जुटाउन काठमाडौंलगायत अन्य शहरमा आए होलान् । कोरोना कहरको मारमा परेका ती गरिबको लागि सरकारले दश हजार रुपैयाँ दिने घोषणा गरेको छ । ज्ञानबहादुरहरुको ठाउँमा ‘टोपबहादुर’हरुले त्यो रकम पचाउन नपाउन्, यत्ति कामना ।

तपाइँको प्रतिक्रिया