शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १७:१८ |सिड्नीको समय: १५:१८ |काठमाडौंको समय: ११:०३

एनआरएन अध्यक्ष प्रत्याशी कुल आचार्यले सार्वजनिक गरे यस्तो प्रतिबद्धता

एएनजेड खबरअक्टोबर ५, २०२१
This image has an empty alt attribute; its file name is kul-acharya.jpg


गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
सोमबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमार्फत आचार्यले अध्यक्षमा निर्वाचित भएको दुई वर्षमा सदस्य संख्या कम्तीमा पाँच लाख र एनसीसीहरुको संख्या एक सय पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।

0
हाल संघका पन्जीकृत सदस्य संख्या एक लाखको हाराहारी छ भने ८४ देशमा एनसीसी स्थापना भएको छ । तर, बीस वटा एनसीसी भने निष्कृय छन् ।
‘पद्धति र पारदर्शिता’को नारासहित असोज १० मा उम्मेदवारी घोषणा गरेका आचार्यले निर्णय प्रक्रियामा सहभागिता र कार्यान्वयनमा पारदर्शितालाई पहिलो शर्तका रुपमा अघि सारेका छन् ।
‘सीमित व्यक्तिले गर्ने निर्णय र अपारदर्शी व्यवहारबाट संस्थाको साख गिर्दै गइरहेको छ, मैले यसलाई पूर्णरुपमा सुधार गर्नेछु’ आचार्यले भने ।


नागरिकतामा फोकस
नेपालको संविधानले प्रदान गरेको गैरआवासीय नेपाली नागरिकताको अधिकार कार्यान्वयनमा ल्याउन आवश्यक सबै पहल गर्ने आचार्यको प्रतिबद्धता छ । संविधानसभामार्फत संविधान निर्माण हुँदादेखि नै नागरिकताको मुद्दा उठाइरहेका आचार्यले संविधानमा उल्लेख भएपनि आवश्यक ऐन बन्न नसक्दा गैरआवासीय नेपालीहरु नागरिकताको अधिकारबाट बन्चित भएको बताए ।
‘आगामी कार्यकालमा यसलाई निष्कर्षमा पु¥याउने छु’, उनले भने ।
नागरिकताको अधिकार कार्यान्वयन नहुँदा सम्पत्तिको अधिकार पनि उपयोग गर्न नपाएको र त्यसकै कारण नेपालबाट पूँजी पलायन हुन थालेको उनले बताए ।

‘नेपालको पूँजी नेपालमै राखेर विदेशमा आर्जन गरेको पूँजी नेपाल भित्रयाउन पहल गर्नेछु’, आचार्यले भने ।
कोभिड महामारीको कारणले प्रवासमा रहेका नेपाली मजदुरहरुको उद्धार गर्न दातृ निकायले दिएको अनुदानमा समेत आर्थिक अनियमितता भएको समाचारले संघ र सम्पूर्ण गैरआवासीय नेपाली परिवारको शिर निहुरिएको उनले बताए ।
‘आगामी दिनमा यस्तो अवस्था आउन दिइनेछैन’, उनले भने ।
सदस्यता र डेलिगेट्ससम्बन्धी पछिल्लो विवाद पनि व्यक्तिगत स्वार्थ, अपारदर्शी निर्णय र विधान विपरीतका क्रियाकलापका कारण उत्पन्न भएको उनको भनाइ छ ।

सुरक्षित वैदेशिक रोजगारी
वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रेमिट्यान्स मुलुकको अर्थतन्त्रको प्रमुख मेरुदण्ड भए पनि रेमिट्यान्स पठाउने दाजुभाइ तथा दिदीबहिनीहरुको पसिनाको सम्मान हुन नसकेको उनले बताए ।
वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने तत्कालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने उनले स्पष्ट पारे । वैदेशिक

रोजगारीका क्रममा दिवंगत भएकाहरुको शव व्यवस्थापन तथा सम्मानित दाहसंस्कारको लागि स्पष्ट नीति तथा कार्ययोजना बनाउने र विदेशमा जेलमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन संस्थागत रुपमै पहल गर्ने उनको योजना छ ।
सातै प्रदेशमा सीप विकास प्रशिक्षण केन्द्र स्थापना गरी स्वरोजगारका लागि अभिप्रेरित गर्ने तथा वैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक आधारभूत सीप प्रदान गर्ने आफ्नो लक्ष्य रहेको उनले जानकारी दिए । आचार्यले ‘एक एनआरएन एक रोजगार’ को अवधारणालाई कार्यान्वयनमा ल्याउने पनि बताए ।

ज्ञान र सीप पनि नेपालमा
अध्यक्ष पदका उम्मेदवार आचार्यले विदेशमा ख्यातिप्राप्त नेपाली ज्ञानलाई आफ्नै मातृभूमिमा फर्काउनु आफ्नो उद्देश्य रहेको बताए । संघमा युवा तथा महिला सहभागिता वृद्धि गर्दै नयाँ पुस्तालाई नेपालसँग जोड्नु पनि आफ्नो उद्देश्य रहेको बताउँदै आचार्यले विदेशमा हुर्किरहेको दोश्रो र तेश्रो पुस्तालाई मातृभूमिसँग जोड्न पुलको काम गर्ने पनि स्पष्ट पारे ।

आचार्यले प्रवासमा नेपाली भाषा, कला र संस्कृति प्रचार प्रसार गर्दै विदेशमा नेपाललाई चिनाउने अभियान सन्चालन गर्ने बताए । विदेशी पर्यटकलाई नेपाल भित्रयाउन संघका आम सदस्यलाई सद्भावना दूतको रुपमा परिचालन गर्ने योजना पनि आचार्यले सार्वजनिक गरेका छन् ।
आचार्यले बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरुको मुद्दा कहिल्यै नबल्झिने गरी समाधान गर्न निर्णायक पहल गर्ने बताएका छन् । त्यस्तै, मध्यपूर्वको श्रम समस्या, यूरोप, अमेरिका र अष्ट्रेलियाको विद्यार्थी समस्या तथा अफ्रिका क्षेत्रको भिसा लगायतका समस्याका बारेमा आफू जानकार रहेको भन्दै उनले यी समस्या समाधानका लागि पनि योजनाबद्ध रुपमा अगाडि बढ्ने स्पष्ट पारेका छन् ।

‘एनआरएनए ः भिजन २०२० एण्ड बियंड’ दस्तावेजमा गरिएका सिफारिसहरुलाई कार्यान्वयनमा ल्याउने, केन्द्रीय कार्यालयलाई थप प्रभावकारी र उत्तरदायी बनाउने, राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई स्वायत्त, स्वावलम्वी र प्रभावकारी बनाउने योजना पनि आचार्यको छ ।
आचार्यले गैरआवासीय नेपालीलाई मात्रै नभइ नेपाली मूलका विदेशी नागरिकलाई पनि नेपालसँग जोड्ने योजना सार्वजनिक गरेका छन् । विश्वका थुप्रैै मुलुकमा नेपाली मूलका मानिस रहेको बताउँदै उनीहरुलाई नेपालसँग जोड्ने आफ्नो उद्देश्य रहेको उनले बताए । ‘पिपुल अफ नेपाली अरिजिन, पिएनओ’ हरुलाई नेपालसँग जोड्न सकेमा नेपालको विकास र समृद्धि तथा भावनामा पनि थप बल पुग्ने उनको विश्वास छ ।


कार्यक्रममा उपाध्यक्ष पदका उम्मेदवारहरु एसी शेर्पा, त्रिलोक गुरुङ, महासचिव पदका उम्मेदवार डा. केशव पौडेल, सचिव पदका उम्मेदवार नारायण आचार्य, प्रबिण गुरुङ तथा गंगाधर गौतम, युवा उपाध्यक्ष पदका उम्मेदवार हिमाल गुरुङ, महिला संयोजक पद्की उम्मेदवार जुनु गुरुङ, युवा संयोजक पद्की उम्मेदवार बिमला सापकोटा, सह–कोषाध्यक्ष पदका उम्मेदवार नारायण सुबेदी, गोविन्द श्रेष्ठ ‘रोविन्द’, युरोपबाट उप क्षेत्रीय संयोजक पदका उम्मेदवार भिम केसी कमल लगायतले आफ्नो मन्तव्य राखेका थिए । यसअघि पहिले बद्रि केसीको टिमबाट चुनाव लड्ने भनेर चर्चामा आएका लोक दाहालले आफुले केन्द्रीय सहमति अनुरुप कुल आचार्यको टिमबाट कोषाधक्ष उम्मेदवारी दिने बताए ।



तपाइँको प्रतिक्रिया