मंगलबार, मंसिर २१, २०७८ |Tue Dec, 2021
अक्ल्याण्डको समय: २२:२५ |सिड्नीको समय: २०:२५ |काठमाडौंको समय: १५:१०

मानव सभ्यता विकासक्रम झल्काउने तिहारका पाँच दिन

कुसुम भट्टराईनोभेम्बर २, २०२१
This image has an empty alt attribute; its file name is 1-IMG_6648-1.jpg


तिहार आउनासाथ हरेकको मनमा देउसी भैलो, झिलीमिली बत्ति, भाइटिका र रोटी मसलाको रमाइलो छाउँछ । यति मात्र तिहार हैन, यम पञ्चकका पाँच दिनले मानव सभ्यताको विकासको जनाउ दिन्छन् ।
संस्कृतिविद डा. जगमान गुरुङका अनुसार यमपञ्चकमा काग, कूकूर, गाई, गोरु र भाईको पूजा गरिनुको पछाडि मानव सभ्यता विकासक्रमको लामो सिलसिला छ ।


मानिसले लामो समयसम्म घुमन्ते भएर बितायो । चाल्र्स डार्विनका अनुसार आधुनिक मानवको विकास भएको १० लाख वर्ष मात्र भएको छ । मानवको उत्पत्तिको जरो चाहिँ १ करोड २० लाख वर्षअघि उम्रीएको हो, जतिबेला मानिस बाँदरको रामापिथेकस प्रजातीको रुपमा थियो ।
मानिसका पुर्खा सुरुमा गुफा, ओडार र रुखमा बस्थे । विस्तारै अग्ला, बुद्धीमान र लामा हातगोडा भएका नियान्डरथल, क्रोम्याग्नन, अस्टेलोपिथेकस आदि मानवका रुपमा उनीहरुको विकास भयो ।

ढुंगे युगमा मानिस आहाराको खोजीका लागि यताउता हिंडीरहन्थ्यो । जसरी काग यताउता हिंडीरहन्छ, मानिस पनि एक ठाउँमा नबसी फिरन्ते जीवन बिताउँथे । काग तिहारले मानव सभ्यताको यो कालखण्डको प्रतिनिधित्व गर्छ । कार्तिक कृष्ण त्रयोदशीका दिन कागको पूजा गरेर कागतिहार मनाइन्छ । यसपाली काग तिहार र कूकूर तिहार एकै दिन परेको छ ।

अत्यन्त चतुर र चलाख पंक्षी काग सर्वभक्षी प्राणी हो । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा फट्याङग्रा खान्छ । काग भनेको यमराजको सन्देश सुनाउने यमदूत पनि हो भन्ने विश्वास छ ।

यमराजको अत्यन्त प्रियभक्त भएकाले कागको पूजा गरि कागतिहार मनाउने गरिएको धार्मिक विश्वास छ । कागले मानिसको जीवनमा घटेका र हुनसक्ने घटनाबारे अग्रिम सूचना दिन्छ भनिन्छ । काग आएर घरको आँगनमा बसेर कसरी कराउँछ, त्यसबाट अनुभवीहरु कागको सँकेत बुझ्नसक्छन् । शुभ या अशुभ खबर खुटयाउन कागका संकेत बुझ्नुपर्छ ।

This image has an empty alt attribute; its file name is 1597839483.sidetrackimagekaag-tihar-1.jpg


विस्तारै मानिस शिकार गर्न थाल्यो । शिकार युगको प्रतिनिधित्व कूकूरले गर्छ । शिकार गर्न मानिसले कूकूरको उपयोग गर्दै आएको छ ।
कूकू्र एक बफादार रक्षक त भइहाल्यो । यसलाई यमराजको दूतका रुपमा पनि हिन्दु धर्मशास्त्तमा वणर्न गरिएको छ । बाचुञ्जेल रक्षा गर्ने मात्र हैन, मृत्यूपर्यन्त पनि मोक्षद्वारमा कुकुरले नै पहरा दिएको हुन्छ । मृत्युपर्यन्त कूकूरहरुले सहयोग र रक्षा गरिरहून् भनेर कूकूरको पूजाआजा गर्ने चलन छ । कुकुरलाई भगवान भैरवको बाहन पनि मानिन्छ ।


ऋगवेदमा देवकुकुर्नी शरमाले इन्द्रको दूत बनेर असुर व्यापारीसित वार्ता गरेको प्रसङ्ग रोचक छ । यस्तै अर्को पौराणिक प्रसङ्गमा शरमाका छाउरालाई सानो गल्तीका कारण यज्ञकर्ताले कुटेकाले कुकुर्नीले उनीहरूलाई श्राप दिएको प्रसंग छ ।
महाभारतमा युधिष्ठिर स्वर्ग जाँदा साथमा कूकूर पनि हुन्छ । युधिशिष्ठरले कूकूरलाई पनि स्वर्गमा प्रवेश दिनुपर्ने अडान राखेका थिए । युधिष्ठिर कति धर्ममा प्रतिबद्ध छन् भनेर जाँच्न कूकूरकै रुपमा यमराज वा धर्मराज युधिष्ठिरकोपछि लागेको कथा छ । कुकर तिहारको दिन कुकुरलाई नखुवाइ गर्दा यमराजबाट दण्ड पाइने विश्वास पनि छ ।

This image has an empty alt attribute; its file name is nepal-celebrates-dog-diwali-know-about-some-interesting-facts-soical.jpg


मानव सभ्यताको विक्रमक्रम अन्तिम ढुंगे युगमा आएपछि नदि सभ्यताको विकास भयो । गंगा नदि, मेसोपोटामियाको सभ्यता, रोमन र ग्रिक सभ्यता प्रारम्भ भयो । वास्तुकलाको विकास भयो । मन्दिर र पिरामिडहरु बन्न थाले । कलाको विकास हुँदै गयो । रँगोली, गायन, नृत्य, कला र साहित्यको विकास भयो ।

नव पाषाण युग हुँदै कृषि युगसम्म आइपुग्दा मानिस चेतनशील भइसकेको देखिन्छ । हस्तकला, भाँडाकुँडा, हतियार आदि बन्न थाले । इशापूर्व ७ हजार वर्षपहिलेबाट कृषि र पशुपालनको थालनी भएको थियो भने ५ हजार वर्षअघि ऋग्वैदीक आर्यकालमा आउँदा यो धेरै चरम उत्कर्षमा पुगेको थियो । कृषि कर्म शास्त्र, जीवन दर्शन र धर्मकै एक अँग बन्न पुग्यो । पानी पारिदिने इन्द्र, घाम दिने सूर्य र अन्न फलाइदिने धर्तीको पूजा हुन थाल्यो । यसक्रममा कृषि कर्ममा सघाउने प्राणीको पनि पूजा हुन थाल्यो ।

जब कृषि युगमा प्रवेश गर्‍यो, मानिसले खेतीपाती, अन्न संग्रहसँगै पशुधनका रुपमा गाइ र गोरु पालन गर्न थाले । गाईबाट दुध, दही, घिउ र मासुसमेत प्राप्त हुने भएकाले मानिसले गाईलाई धनकै रुपमा मान्यता दियो । ऋग्वैदिक आर्यकालमा गाइको मासु खान्थे । गोमेध यज्ञ गरिन्थ्यो । डा. जगमान गुरुङका अनुसार कालान्तरमा गोधन रक्षार्थ चेतना जाग्दै गयो । दुध, दही, घिउ, मल सबै दिने र कसैको हानी नगर्ने शान्त प्राणी गाईको रक्षा गर्नुपर्छ भनेर गाईलाई लक्ष्मीकै मान्यता दिइयो । किनकी, कृषि र पशुपालन यु्गमा जोसँग बढी गाइ हुन्थे, उही धनि कहलिन्थ्यो ।
मानिसले खेती किसानी गर्ने क्रममा जब धातुको फाली बनायो, तब हलोले खेत जोत्न थालियो । यसबेलासम्म धातुको आविश्कार भइसकेको थियो । सुरुमा मानिसले आफ्नै काँधमा राखेर हलो जुवा नार्थे । विस्तारै त्यो काम गोरुले गर्न थाले । हरेक घरमा खेत जोत्न हलगोरु पाल्न थालियो । गोरुको महत्व बढदै गयो र यो पनि सम्पन्नताको प्रतिक बन्नपुग्यो । कसको घरमा कति जोडा हलगोरु छन् भन्ने आधारमा उसको सम्पन्नताको पहिचान हुने भयो ।

आधुनिकताले गाँजेसँगै अचेल ट्रयाक्टर र अन्य औजारले खेत जोत्न थालेकाले गोरुहरु सँकटमा छन् । गाउँघरमा गोरु जन्मिएमा छाडा छाडने प्रवृत्ति छ । त्यस्ता गोरुलाई दलालहरुले सिमा पारी कटाउने या अन्य जनजातीले काटेर खाने प्रवृत्ति छ । कृषि र पशुपालन युगका अनन्य सहयोगी भएकाले हिन्दु समाजमा अहिले पनि गोरुको उत्तिकै सम्मान गरिन्छ र तिहारमा गोरु तिहार, हल तिहार वा गोवर्धन पूजाको रुपमा मनाइन्छ ।

This image has an empty alt attribute; its file name is gI-1024x584.jpg


यसको पौराणिक पक्ष झन रोचक छ ।
भगवान कृष्ण गोकुलमा गोपालहरूसँग बस्थे । गोपाल वंशी देवताका राजा इन्द्रको पूजा गर्थे । इन्द्रबाट उनीहरूले केही पाउँदैनथे । कृष्णले एकदिन गोकुलवासीलाई भने, ‘केही नदिने इन्द्रको पूजा गर्नुभन्दा खनिज, घाँस, पानी र दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो ।’
कृष्णको सल्लाह सबैले मान्छन् र गोवर्धन पर्वतको पूजा गर्छन् । आफ्नो सट्टा गोवर्धन पर्वतको पूजा गरेको देखेपछि इन्द्र क्रोधित हुन्छन् र गोकुलमा असिना र पानी वर्षाइदिन्छन् । भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीलाई आश्रय दिन्छन् । अन्त्यमा आफ्नो हार मानि इन्द्रले गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् । गोवर्धन पूजाको आरम्भ सोही कृषि र पशुपालन कालमै भएको हो । घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई पूजा गरिन्छ ।


अब आउँ भाइटिकाको महत्वतर्फ । कृषि र पशुपालनसम्म मानिसको यौन जिवन व्यवस्थित थिएन । नाता सम्बन्धको सिमा थिएन । स्त्री र पुरुषबिच जसको जोसँग पनि यौन सम्पर्क हुन्थ्यो । मानिस चेतनशील, सभ्य, सुसंस्कृत हुँदै गएपछि एउटै बाबु-आमाका सन्तानबिच यौन सम्पर्क गर्न नहुने चेतना विकास भयो । सगोलमा जन्मीएका स्त्री पुरुषविचको पवित्र नाता कायम गर्न भाइटिकाको प्रचलन सुरु भएको डा. जगमान गुरुङको दाबी छ ।

This image has an empty alt attribute; its file name is Bhai-Tika.jpg


कार्तिक शुक्ल द्वितीया तिथिका दिन पर्ने भाइटिकामा दिदीबहिनी र दाजुभाईबिच टिका आदान प्रदान गरिन्छ । दाजु भाइलाई दिदी बैनीले सम्मानका साथ विधिपूर्वक पूजाआजा गरी मेवा मिष्ठान्न दिन्छन् । दाजु भाइले दिदीबहिनीलाई दानदक्षिणा एवं वस्त्र दिन्छन् ।

भाइटिकाको पौराणिक महत्व छ । बहिनी यमुनाले यसैदिन दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको मानिन्छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने धार्मिक विश्वास छ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गरिन्छ । यमराजको आह्वान गर्दै बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिबाट आफ्ना दिदीबहिनीले दाजुभाइको सुख,समृद्धि, अरोग्य एवं दीर्घायूको कामना गर्छन् । ओखर फुटालेर शत्रुको नास होस् भनिन्छ ।

दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले राजधानीको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पूजाआजा गरि टीका लगाउने चलन छ ।
यस वर्ष भाइटिकाको साइत
नेपाल पंचाञ्ग निणर्ायक विकास समितिका अनुसार यस वर्ष भाइटिकाको साइत कार्तिक २० मा विहान ११ बजेर २ मिनटमा तोकिएको छ ।

तपाइँको प्रतिक्रिया