मंगलबार, मंसिर २१, २०७८ |Tue Dec, 2021
अक्ल्याण्डको समय: २१:२७ |सिड्नीको समय: १९:२७ |काठमाडौंको समय: १४:१२

इतिहास सहुलियतमा टुङ्गिनुहुन्न !

मोमिलानोभेम्बर १५, २०२१
This image has an empty alt attribute; its file name is Momila-4.jpg

न डुङ्गा सडकमा हिंडोस् ! न गाडा पानीमा हिंडोस् ! ! अँध्यारो विगत खेप्दै–खेप्दै उज्यालोको सँघारमा भविष्य खोजिएका आँखाहरूको वर्तमान रिमरिम जस्तो प्रसवपीडा झेल्दै रहेको मेरो भूगोलको स्वतन्त्रता, कसोकसो बर्सन नसकेको आकाशसँग मीतको साइनो बाँधिएर प्रेमको धुन रच्दैछ । म भावी विजयको उत्सव गीत रच्दैछु । यतिखेर सागरको वल्लो किनारबाट म डुङ्गामा यात्रा हिंडिसकेको छु; ऊ सडकको पल्लो किनारबाट गाडामा यात्रा हिंडिसकेको छ । म पल्लो किनार पुग्दा ऊ वल्लो किनार आइपुग्नेछ । अब डुङ्गा सडकमा नहिंडे पनि, गाडा पानीमा नहिंडे पनि अवश्य नै दुई किनारको मिलन हुनेछ ।



किनकि यहाँ आफ्नो मर्यादा आफैं बनाउनु छ र मर्यादाभित्र पनि आफैं रहनु छ । आफ्नै अन्तर्मनको उन्मुक्त संवेदनहरूको चमकमा आफ्नै जिन्दगी जीवन्त बाँच्नु छ अर्थात् हामीले महामानवका रूपमा आफ्नो ईश्वर आफैं खडा गर्नु छ । यथार्थतः ईश्वर र पशुबीचको वक्रयात्रा हो मान्छे; ऊ भयानक जरूर छ, खतरनाक जरूर छ तर भव्यतासहितको रुचिकर पनि जरूर छ । मानौं, जो सूर्यबाट उछिट्टिएर तेजस्वरूप धर्तीमा झरेको होस् र उसैका लागि सूर्य आफ्नो उज्यालो र न्यानो मृदुल किरण छरिरहेको होस्; जो बादलबाट बर्सेको एक सुन्दर बुँद होस् र उसैको प्यास भर्न बादल बर्सिरहेको होस्; जो हावाहुरीबाट उछिट्टिएको एक झोक्का प्राण होस् र उसैको प्राण भर्न हावा बहिरहेको होस्; जो पृथ्वीकै आत्मीय एक अंश होस् र उसैका लागि पृथ्वी अन्नपात भरिरहेको होस्; जो आकाशकै एक सितारा होस् र उसैका लागि आकाश जगमगाउँदो अनन्त स्पेस उभिएको होस् ! … ! ! … ! ! !

प्रिय सूर्यतेज ! ओ महान् सितारा ! ! साँच्चै जराथुष्ट्रले भने जस्तै यदि यो संसार नहुँदो हो त तिमी कसका लागि उज्यालो छथ्र्यौ ! के त्यतिबेला पनि तिमी यत्तिकै खुशी हुन्थ्यौ ! एकादेशको कथादेखि आजसम्म पनि मान्छेभित्रको अँध्यारोको अन्त्य गर्न हर–बिहान तिमी यो संसारमा प्रवेश गर्छौ र हरसाँझ तिमी हामीबाट ओझेल पर्छौ । अब मेरो जीवनको प्याला छल्किनुपहिले सिर्फ एकपटक मानवमनको अँध्यारो कन्दरा हुँदै मान्छेको निधारमा एक प्रभात चमक प्रसारित होइदेऊ, तत्पश्चात् मेरो जीवनको प्याला छचल्किएर पोखिनुमा, रित्तिनुमा या तिमी होइन आफैं ओझेल पर्नुमा ममा कुनै खेद बाँकी रहने छैन ।



प्रिय जलधि ! प्रिय बादल ! ! तिमी बर्सिनुको मजासँग सारा जीवन अस्तित्वमा झुम्दै आएको कथा सबैभन्दा पुरानो भएर पनि आजसम्मको सबैभन्दा नयाँको लेबल स्वीकृत छ । अब झन् नयाँको मेरो विशिष्ट सोखमा एक प्यासभरि नेपाली माटोका नाममा सीमान्त तृप्ति बर्सिदेऊ, त्यहींनेर म पूर्णविरामित हुन चाहन्छु ! त्यसपश्चात् मेरो कुनै गुनासो बाँकी रहने छैन ।

प्रिय वायुचेत ! प्रिय हावा ! ! तिम्रो स्पर्शचेतमा पुलकित म तिम्रो प्रचूर दृश्यअस्तित्व खोजिरहेछु । जीवात्माको एकमुठी प्राण धान्न मात्र तिमी कति नर्मिएर धाइरहन्छौ ! यहाँका सारा अदृढ, भ्रष्ट र अस्वस्थ मूलहरू भाँचिने गरी एक भूगोलभरिको झोक्का हुरी हुर्रिएर आऊ ! यहाँ हामीलाई आफ्नो कमजोरीस्वरूप स्थापन गरिएको अर्को लोकको सुन्दरता कल्पनु छैन । यही लोकको दृढनिश्चयी स्वस्थ सिर्जनामा डुल्नु छ, रम्नु छ ! पश्चात् अर्को कुनै आकाङ्क्षा बाँकी रहने छैन ।

प्रिय धर्ती ! प्रिय माता ! ! ! तिम्रै अंश यो अस्तित्व तिमीलाई सहृदय सम्मानगारत अर्पण गर्न चाहन्छ । नसा–नसामा तिम्रै सुगन्ध बहेको मेरो रक्तप्रवाहमा अझ तिम्रोपन भर्न चाहन्छु । तिम्रो तत्परता, तिम्रो आत्मीयता र तिम्रो मायालुपनले किन सधैं–सधैं यस्तरी आकर्षित गरिरहन्छ मलाई ! तर, मान्छेको विशिष्ट चेतना नभइदिए तिम्रो अनुगृहीत पात्र अरू को हुन्थ्यो होला र ! आफ्नै सापेक्षमा भए नि तिमीलाई विशिष्ट अर्थ दिने उही मान्छे न हो ! आऊ ! आज तिम्रो मौलिक सुगन्धले आम नसामा एक नेपाली भूगोलभरिको एउटै गर्विलो नश्लचेत भरिदेऊ ! सबैसबै तिम्रो इशारामा एक आवाजले दर्बिलो महत्ता उठ्न सकून् ! !

प्रिय आकाश ! तिम्रो जुन स्पेस ममा समाहित छ; म त्यतिभरि नै छु र त्यही स्पेस म, तिम्रो वन्दना गरिरहेछु । तर म जुन स्पेसको जुन मर्यादामा उभिएको छु; त्यो मेरो आफ्नो कामना हो, मर्यादा हो । यद्यपि, म उभिएको भीडमा ममात्र छैन । भीडभित्र पनि आफ्नै मर्यादाको उँचाइतिर उन्मुख म आफैंमा बेग्लो छु; जुन उँचाइ मात्र मेरो हो; जो सँगैको भीडले पनि देख्न सक्नेछन् । यद्यपि एउटै छतको मतमा ओत लागेर पनि दुई ताराबीचको स्पेसमा बेग्लो–बेग्लो अनेकौं सिताराहरू जग्मगाउन सक्छन् ! यसैले प्रिय ! अविभाजित सग्लो छत ओढाइदेऊ धरतीलाई ! ताकि कसैको गर्विलो प्रेमिल अनुरोधमा एउटै छतमुनि एकसाथ एउटै सुर र तालमा प्रेमगीत गाउन सकियोस् ।

यहाँसम्म आइपुग्नुमा जति दृश्यहरू बदलिएका छन्, जति दृश्यहरू छुटेका छन्– तेज, जल, थल, वायु, आकाश ! यिनै पाँच संवेदनहरूमा आवद्ध म, मेरा चरणबद्ध अनुभूतिहरूको सगोल एकल काव्य, मेरो अस्तित्वको प्रथम प्रमाण र साक्षी ! तिनलाई मेरो संचेतनाको प्रथम वन्दना !
यद्यपि, आफ्नै एकल काव्यमा प्रमाणित म अनि मेरो मर्यादा, मेरै विचारभन्दा अलग कुरा हुन् मेरै कर्म ! अनि कर्मभन्दा पनि फरक कुरा हुन् कर्मप्रतिको धारणा ! ! यहींनेर मान्छे सभ्यताको निर्माणमा बारबार फेर पर्दछ र यहींनेर हिलो छ्यापिएको मन लिएर मान्छेले कति मान्छे र मान्छेत्वको हत्या गरिसकेको छ । बाँकी रह्यो केवल मान्छेले उल्टा हिंड्नु ! … सभ्यताको चिहानघारीतिर ! ! … ! ! ! यतिखेर मान्छे बाटोखर्च जुटाउन आफ्नो खुट्टा बेचिरहेछ, तर म होसमै पुनः सम्भावनाको शिखरयात्रा प्रारम्भ गर्न चाहन्छु !

जीवन्त हिंड्दामा आफूबाहेकको मतलब गरेर आफू, आफैंमा नरहेको कैयौं परम आनन्दको रमरम पल झङ्कृत भइरहँदा पनि कालान्तरमा आफ्नै अस्तित्वले सचेत धिक्कार्दा उही तथ्य कस्तरी पीडामा रूपान्तरित हुन पुग्दोरहेछ ! त्यहींनेर थप दुःखहरू कम्प्लिमेन्ट्रीका रूपमा प्राप्त हुन्छन् । प्रिय भावक ! यसर्थमै जीवन तिमीले भनेजस्तो सोच्नलायक भन्दा बढी भोग्नलायक छ । हुन त सोच्दामा पनि जीवन दुई आत्मगत समन्वयको सङ्ग्रहालय जस्तो लाग्छ, तर त्यसको रहस्य पछि उद्घाटित हुन्छ; र भोग्दामा पनि जीवनले आत्मगत समन्वयमै पूर्णता प्राप्त गर्दछ, तर त्यो तत्क्षण नै परम आनन्दको क्षण हुनेछ … । यद्यपि, सुन्दर पुस्तकका परिच्छेदहरू जस्तै जीवनका हरेक पहेंलीहरू रुचिकर छन् !

वर्षा ऋतु हँुदै यतिखेर चिसोको साम्राज्य मौसममा छायाङ्कित छ । र मानिस अप्राकृतिक हुँदै जानुको उपहारस्वरूप शायद मानिसलाई पोल्टा भरिभरि बाढी, पहिरोसँगै कोरोना पनि पीडा मिलेको छ । प्रिय मान्छे ! यहाँनेर तिम्रो अक्कलहीन विद्रोह होइन; म चाहन्छु प्रथमतः तिमी पनि मसितै प्रकृतिस्थ होइदेऊ ! र, त्यही निर्धारित प्रारम्भ र अन्त्यबीचको मध्यान्तरमा अनि अस्तित्वको कुरा गर, पीडाको कुरा गर, प्रेमको कुरा गर, आँसुको कुरा गर, सुखको कुरा गर, जीवनको कुरा गर ! ! ! ! अन्ततः मृत्युसँग अँगालिएर प्रकृतिमै शरणागत हुनु त छँदैछ… ! फेरि पनि मेरा सपनाहरू जलिरहेको साँझ नै किन नहोस् ! भोलिको उज्यालो पक्षमा हस्ताक्षर गर्न म चुक्नेछैन ! … ! ! सपनाको हार विपनामा खोज्ने आदतबाट पूर्णतः मुक्त छु म ।

हुन त विचारको आ–आफ्नै महल हुन्छ, माहोल हुन्छ, तर पनि महान् लेखकहरू आफ्नो गहन स्नेह दिएर त्यसको तरङ्गमा आफ्ना भावकलाई पनि आफूसँगै डुबाउँछन् । यसर्थ व्यक्तिको हत्याबाट विचारको हत्या गर्न सकिन्न, व्यक्तिको हत्याबाट व्यक्तित्व मर्दैन । बरु, एक विचारको फैलावटमा अर्को विचार छोपिन सक्छ, मधुरिन सक्छ; तर अन्त्य होइन ।

विचारकै फैलावटमा उभिएर भन्दा भौगोलिक सीमा मात्र राष्ट्र होइन, भौगोलिक सीमामा बाँधिनु नै राष्ट्रियताको उद्घोष होइन, त्यहाँको प्रकृति जप्नु मात्र राष्ट्रप्रेम होइन; यदि त्यो भूगोल जनता विनाको छ भने त्यो राष्ट्र नै हुन सक्दैन, यदि जनताको रगत आँसु बगिरहन्छ भने त्यस राष्ट्रको अस्मिता स्वयंमा पहाडजत्रो प्रश्न हो; जुन पहाडको पहिरोमा जोकोही पुरिन सक्छ, जुन पहिरोले जोकोहीको घर बगाउन सक्छ र देश भनिएको भूगोल पनि नामेट हुनसक्छ । यसर्थमा पोल्टामा आगो थाप्नु महान् भूल हो जानेर जानाजानी लुगा डढाउनु छैन, अस्तित्व नङ्ग्याउनु छैन ।
चराहरू गुँड फर्कने बेला भएको छ, म पनि आफ्नो वासतिर फर्कन चाहन्छु । धीत नमरुन्जेल शान्तिमा निदाउन चाहन्छु, तर मलाई रातभन्दा लामो सपना देख्नु पनि छैन ।

विपरीतमा जीवन जति विपत्तिपूर्वक बाँच्छु, घृणाको प्रहारले जति घाइते बन्छु; तिनै पीडाको झङ्कारमा पीडामुक्तिको आकाङ्क्षासहित आफूलाई सुरक्षित महसूस गर्छु । मेरा तिनै पीडाहरूको पासोमा झुन्डिएर मेरो वर्तमानले आत्महत्या गरेको त्यो बदनाम रूख हिजोआज कुनै सपनाहीन एकै ठाउँमा कुँजो भएर झोक्राइरहन्छ । लाग्छ, ऊ कुनै निचोडहीन सोचमा मौन छ । उसबेलाको पीडाको भारले लच्किएका हाँगाहरूमा नानीहरू सैसैला खेल्छन् ।

अब अरू आत्महत्या थाम्ने सम्भावना भने छैन, तर कम्तीमा ऊ मान्छेजस्तो कृतघ्न छैन । अफसोस छ आफ्नै कृतघ्न बस्तीप्रति; जुन बस्तीबाट मेरो भूगोलका खुशीहरू वर्षेनि मुग्लान झर्छन् । यदि म उभिएको भूमि आम जिन्दगीको करोडौं आँसुको सामूहिक सङ्कलनहीन सङ्ग्रहालय बन्दछ भने, यदि प्रिय भूमि तथ्य इतिहास रित्तिएको अभिलेखालय हुन्छ भने चिसोतातो सम्झौता नमिलेर कुनै घरलाई नसुहाउने पसाङ्गिएको ढोकाजस्तो विरुपताबाट या घरको छेउमा कतै निरर्थक थुप्रिनुपर्ने नियतिबाट पूर्ण मुक्ति खोज्नु छ । इतिहास सहुलियतमा टुङ्गिनुहुन्न । यसरी पीडाको जादूमय मन्त्रोच्चारणमा नै अस्तित्वजनित जीवनांश लिपिबद्ध हुँदोरहेछ ।



तपाइँको प्रतिक्रिया