मंगलबार, जेठ १, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: ०४:०७ |सिड्नीको समय: ०२:०७ |काठमाडौंको समय: २१:५२

एनसीसीको विश्व भेलाद्वारा कामचलाउ अध्यक्ष पन्तप्रति खेद व्यक्त, सरकारविरुद्ध अदालतमा जाने हर्कतको चर्को विरोध

एएनजेड खबरडिसेम्बर ३, २०२१
This image has an empty alt attribute; its file name is NRNA1626851315.jpg


गैर आवासीय नेपाली संघ (एनआरएन)का काम चलाउ अध्यक्ष कुमार पन्तको विरोधमा विश्वभरका गैर आवासिय नेपालीहरुले चर्को आक्रोश व्यक्त गरेका छन् ।
महाधिवेशन प्रतिनिधि छनौटमा भएको धाँधलीबाट उत्पन्न विवाद हल गरेर मात्र निर्वाचन गराउनुपर्ने भन्ने विश्वभरका गैर आवासीय नेपालीको भावनामाथि कुठाराघात गर्दै काम चलाउ अध्यक्ष पन्तले संघको विवादलाई अदालतसम्म पु¥याएकोमा चर्को आपत्ति प्रकट गरिएको छ ।


एनआरएनको राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको दोश्रो विश्व सम्मेलनले स्पष्ट शब्दमा परराष्ट्र मन्त्रालयले पटक पटक दिएको निर्देशन कार्यान्वयन नगरीसरकारविरुद्ध नै अदालतमा जाने कामचलाउ अध्यक्ष पन्तको हर्कतले विश्वभरीका गैर आवासीय नेपालीको भावनामा ठेस पु¥याएको ठहर गरेको छ ।
आचार्यको गम्भीर आपत्ति
दोश्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै संघका पूर्व अध्यक्ष तथा सल्लाहकार कुल आचार्यले कार्यकाल समाप्त भइसकेको आइसीसीका अध्यक्ष कुमार पन्तले सिंगो संस्थालाई नै बदनाम गराएको बताएका छन् ।
संस्थाको कुनै पनि सदस्यले गर्न नहुने काम अध्यक्ष पन्तले गरेको भन्दै आचार्यले यसबाट सरकार र गैर आवासीय नेपालीहरुका बीचमा द्वन्द्व बढाएको बताए । सरकारसँग मिलेर अगाडि बढ्नुपर्ने समयमा उल्टै सरकारसँग निहुँ खोज्ने काम भएकोमा आचार्यको गम्भीर आपत्ति छ ।


‘संस्थालाई विधान विपरीत सन्चालन गर्ने, सामान्य विवाद पनि सुल्झाउन नसक्ने र तोकिएको समयमा महाधिवेशनसमेत गर्न नसक्ने, तर उल्टै सरकारविरुद्ध नै मुद्दा मामिला गर्ने कामले समग्र गैर आवासीय नेपालीहरुको शिर निहुरिएको छ,’, आचार्यले भनेका छन् ।


आचार्यको मतसँग सल्लाहकारहरु विश्व आदर्श पण्डित, त्रिलोक गुरुङ, एसी शेर्पा, एनसीसी अमेरिकाका सल्लाहकार यादव पण्डित लगायत पनि सहमत छन् । उनीहरुले पनि काम चलाउ अध्यक्ष पन्तको पछिल्लो व्यवहारले समग्र एनआरएनहरुमाथि कुठाराघात गरेको बताइरहेका छन् । ्


दशौं महाधिवेशनमा महासचिवका प्रत्यासी तथा एनसीसी अमेरिकाका पूर्व अध्यक्ष डा .केशव पौडेल भन्छन्, ‘विधान अनुसार महाधिवेशन गर्न नसक्ने हुतीहारा पन्तले दुनियाँको आँखामा छारो हाले ।’


रकारसँग शत्रुता प्रत्युत्पादक हुने
संघको दशौं महाधिवेशन अन्तर्गत भएका एनसीसीहरुको निर्वाचन र महाधिवेशन प्रतिनिधि चयनमा पन्त नेतृत्वले अपनाएको विधान विपरीतका प्रकृया र मापदण्डविरुद्ध परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि यसको हल खोज्ने जिम्मेवारी सघकै संरक्षक परिषदलाई दिइएको थियो ।

सरकारको निर्देशनलाइ समेत अटेर गरी पन्तले सरकारविरुद्ध नै उच्च अदालतमा मुद्दा दायर गरेकोमा एनसीसीको दोश्रो विश्व भेलाका सहभागीहरुले तिब्र विरोध जनाएका हुन् ।


सरकारसँग मिलेर गैर आवासीय नेपालीका समस्या समाधान गर्नुपर्ने बेलामा काम चलाउ अध्यक्ष पन्तले उल्टै सरकारसँग शत्रुता मोल्ने हर्कत गर्नु अक्षम्य भएको विश्व भेलाका सहभागीहरुको मत रहेको छ ।
सरकारसँग सँघले सत्रुता मोल्दा धेरै एजेन्डामाथिका प्रकृया अवरुद्ध हुन सक्छन् । गैरआवासीय नेपाली नागरिकता, सम्पत्तिको अधिकार, लगानीको सुरक्षा आदि एजेन्डामा सरकारसँग सहकार्य गर्नुपर्ने बेलामा पन्त नेतृत्व गुटले सरकारलाई दागा धरेपछि संघकै भविश्य अन्यौलमा परेको एनसीसी विश्व भेलाका सहभागीहरुले बताएका छन् ।


‘सरकारविरुद्ध मुद्दाबारे संस्थालाई नै जानकारी छैन’, आइसीसी उपाध्यक्ष मन केसी भन्छन्, ‘कामचलाउ अध्यक्ष पन्तले सरकारविरुद्ध अदालतमा मुद्दा दायर गर्दा आइसीसीका कुनै पनि निकायमा छलफल गरेनन् । यो उनको स्वेच्छाचारिता हो । आइसीसीको सचिवालय, पदाधिकारी तथा सिंगो कार्यसमिति कुनै पनि तहमा छलफल नगरेर उनले आफुखुसी संस्थाकै साख दाउमा राखेका छन् ।’


यति मात्र हैन, सरकारविरुद्धको मुद्दामा आम पन्जीकृत सदस्यहरुले सदस्यता वापत दिएको पैसाको दुरुपयोग गरिएकोमा धेरैको आपत्ति छ । सदस्यहरुले तिरेको शूल्कको उपयोग सरकारविरुद्ध मुद्दा हाल्न दुरुपयोग गरिनु निन्दनीय भएको बताउँदै उपाध्यक्ष सोनाम लामा र यूरोप क्षेत्रीय संयोजक नारायण आचार्यले चर्को विमती जनाएका छन् ।


एनसीसीका अध्यक्ष तथा पदाधिकारीहरुले संघको नेतृत्वले विधान विपरीत एनसीसीहरुलाई अनावश्यक दबाब दिने काम गरेको बताएका छन् । एनसीसी अस्ट्रियाकी अध्यक्ष भवानी तिवारी, एनसीसी कतारका अध्यक्ष मोहम्मत मोक्तदालगायत अन्य एनसीसी अध्यक्षहरुले पनि आइसीसीको व्यवहार विधान बमोजिम नभएकोमा तिब्र विमती जनाएका छन् ।


एनसीसीहरुको दोश्रो विश्व सम्मेलनले संघको वर्तमान गतिरोध अन्त्य गर्न संरक्षक परिषदलाई नै क्रियाशील बनाउनुपर्ने ठहर गरेको छ । सरकारले विवाद समाधान गरी दशौं महाधिवेशन तथा निर्वाचन गराउने जिम्मेवारी संरक्षक परिषदलाई दिने निर्णय गरेकोमा स्वागत गरेको छ ।


गत अक्टोबरमा सम्पन्न पहिलो सम्मेलनले नै संरक्षक परिषद्लाई जिम्मेवारी दिनुपर्ने ठहर गरेको थियो । सरकारले सोही बमोजिम विवाद समाधानको पहल गरेकोमा विश्व भेलाले स्वागत गरेको हो । आयोजक समितिका संयोजक एवम् एनसीसी अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले अब एनआरएन अभियान केही व्यक्तिहरुको इच्छा अनुसार मात्र चल्न नसक्ने बताएका छन् ।

तपाइँको प्रतिक्रिया