बुधबार, असोज १२, २०७९ |Thu Sep, 2022
अक्ल्याण्डको समय: ०६:०७ |सिड्नीको समय: ०३:०७ |काठमाडौंको समय: २२:५२

२०७९ का लागि १४ पात्रोलाई स्वीकृति

एएनजेड खबरजनवरी १८, २०२२

काठमाडौँ- विसं २०७९ का लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले १४ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र खप्तड तारानाथ पञ्चाङ्ग गरी १४ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । समितिबाट स्वीकृति पाएका पात्रो यही माघ १५ गतेदेखि बजारमा आउनेछन् ।

विसं २०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । त्यसअघि मन्त्रालयको पत्रका आधारमा मात्र समिति गठन भएर पात्रोलाई स्वीकृति दिने गरिएको थियो । गठन आदेशअनुसार समितिले स्वीकृति दिएका पात्रो मात्र प्रयोग गर्न आम मानिसलाई सूचना प्रकाशन गरी आह्वान गरिएको छ ।

पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्चाङ्ग भनिन्छ । पछिल्लो समय सामान्य मानिसले पनि बुझून् भनी घडीपलालाई बजेमा रुपान्तरण गरेरसमेत पात्रोमा राखिने गरेको छ । पात्रोलाई अझै सुधार गर्नुपर्ने माग पनि उठ्ने गरेको छ ।

तपाइँको प्रतिक्रिया