आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०९:४१ |सिड्नीको समय: ०७:४१ |काठमाडौंको समय: ०३:२६

एनएनआईपीए स्पोर्ट्स अवार्ड :फुटबलका विराज र भलिबलकी अरूणा सर्वोत्कृष्ट खेलाडी

एएनजेड खबरमार्च २, २०२२

काठमाडौं – राष्ट्रिय फुटबल टिममा पूर्व कप्तान विराज महर्जन र महिला भलिबल टिमकी कप्तान अरूणा शाही नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले प्रदान गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

मंगलबार ललितपुरको गोदावरी नगरपालिकास्थित बज्रबाराहीमा सम्पन्न कार्यक्रममा विराज पुरुषतर्फ र अरुणा महिलातर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । त्यस्तै जुडोकी निमा घर्तीमगर महिलातर्फ र ब्याडमिन्टनका प्रिन्स दहाल पुरुषतर्फ उदीयमान खेलाडी घोषित भए । करातेकी पार्वती गुरुङ र ट्रायथलनका हिमाल टमाटा प्रतिभाशाली खेलाडीबाट सम्मानित भए ।

सर्वोत्कृष्ट महिला खेलाडी अरुणा र पुरुष खेलाडी विराजले समान एक लाख रुपैयाँ नगद पुरस्कारबाट सम्मानित भए । प्रतिभावान महिला खेलाडी पार्वती र पुरुष खेलाडी हिमाल समान ५० हजार रुपैयाँ नगद पुरस्कारबाट सम्मानित भए । त्यस्तै उदीयमान खेलाडी निमा र प्रिन्स पनि समान ५० हजार रुपैयाँ नगद पुरस्कारबाट सम्मानित भए ।

यसपटकको अवार्डमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) लाई पनि समावेश गरिएको आयेजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले जनाएको छ । एथलेटिक्सका प्रशिक्षक पुष्पराज ओझालाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गजराज आदर्श खेल व्यक्तित्व अवार्डबाट सम्मानित गरेको छ । सम्मानित पुष्पराज ओझाले ३५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे । त्यस्तै कान्तिपुर दैनिकका हिमेशरत्न बज्रचार्यलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कारबाट सम्मानित भए । उनले २५ हजार रुपैयाँ नगद पुरस्कार जिते ।


नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले विभिन्न २७ खेलको उत्कृष्ट खेलाडीलाई सम्मान गरेको छ ।mआर्चरीमा ज्ञानु अवाले, एथलेटिक्समा किरणसिंह बोगटी, ब्याडमिन्टनमा विश्व वरीयाताको जुनयरतर्फ नम्बर एक प्रिन्स दाहाल, बास्केटबलमा महिला टिमकी कप्तान सदिना श्रेष्ठ, बक्सिङमा सुष्मा तामाङ, साइक्लिङमा राजेश मगर, फेन्सिङमा अनिता कार्की र गल्फमा कस्मिरा शाह उत्कृष्ट घोषित भए ।

ह्यान्डबलमा विशाल बस्नेत, हक्कीमा अन्जना चन्द, जिम्न्यास्टिकमा रोहन बुढाथोकी, करातेमा विप्लव श्रेष्ठ, र्‍याफ्टिङ एन्ड क्यानोइङमा सुमन तामाङ, जुडोमा सुमित्रा राई, स्कीमा सफलराम श्रेष्ठ र पौडीमा अनुभव सुब्बा, सुटिङमा कृष्णा थापा, कबड्डीमा नागेश्वर थारु, टेबलटेनिसमा स्यान्टु श्रेष्ठ, तेक्वान्दोमा पार्वती गुरुङ, ट्रायथलनमा हिमाल टमटा, लनटेनिसमा अभिलाषा विष्ट वर्षको उत्कृष्ट खेलाडी घोषित भए ।

फुटबलमा विराज महर्जन, भलिबलमा अरूणा शाही, भारोत्तोलनमा कमला श्रेष्ठ, उसुमा निमा घर्तीमगर र कुश्तीका सुरेश चुनारा उत्कृष्ट घोषित भए । सबै खेलमा उत्कृष्ट हुने सबैले समान १० हजार रुपैयाँ नगद पुरस्कार जिते ।
पारा एथलेटिक्सकी पलेसा गोवर्द्धनले उत्कृष्ट पारा खेलाडी सम्मानबाट सम्मानित भइन् । पलेसाले पनि दश हजार रुपैयाँ नगद पुरस्कार जितिन् ।

तपाइँको प्रतिक्रिया