शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २३:३९ |सिड्नीको समय: २१:३९ |काठमाडौंको समय: १७:२४

दोस्रो अभ्यास खेलमा नेपालको जित

एएनजेड खबरमार्च ८, २०२२

काठमाडौं -आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबार दोस्रो अभ्यास खेलमा त्यहाँको स्थानीय टिम श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई ८१ रनले हराएको छ ।

दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङ थालेको नेपालले ४३.४ ओभरमा सबै विकेट गुमाएर १९६ रन बनाएको थियो । १९७ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभीले ३०.५ ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो । नेपालले सोमबार खेलेको पहिलो खेलको टिममा रहेका तीन खेलाडी परिवर्तन गरेको थियो । आसिफ शेख, करण केसी र कमलसिंह ऐरीको स्थानमा विवेककुमार यादव, भीम सार्की र पवन सर्राफलाई टिममा राखिएको थियो ।

नेपालले सुरुमै दुई विकेट गुमाएको थियो । ज्ञानेन्द्र मल्ल एक र कुशल भुर्तेल तीन रन बनाएर पवेलियन फर्किएका थिए । लगत्तै रोहितकुमार पौडेल र विनोद भण्डारी पनि चाँडै आउट भए । रोहितकुमार आठ र विनोदले दुई रन जोडे । पवन सर्राफ २२ रनमा आउट भए ।

दीपेन्द्रसिंह ऐरीले ६३ रन बनाए । दीपेन्द्रसिंहले पहिलो खेलमा पनि ४३ रन बनाएका थिए । भीम सार्कीले २८ रन बनाउँदा सन्दीप लामिछाने १४ रनमा अविजित रहे । सागर ढकालले आठ रन बनाए । श्रीलंका नेभीलाई ११५ रनमा समेट्न पवनले तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । विक्रम सोब, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक/एक विकेट लिए ।

नेपाल पहिलो खेलमा १११ रनले विजयी भएको थियो ।

तपाइँको प्रतिक्रिया