सोमबार, वैशाख २४, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: ०४:५९ |सिड्नीको समय: ०२:५९ |काठमाडौंको समय: २२:४४

सन्दीपविरुद्ध तेस्रो पटक थपियो चार दिन म्याद

एएनजेड खबरअक्टोबर २०, २०२२

क्रिकेटर सन्दीप लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले तेस्रो पटक चार दिनको म्याद थपेको छ।

प्रहरीको अनुरोधमा जिल्ला अदालत काठमाडौंले बुधबार थप चार दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

२० असोजमा पक्राउ परेका उनी विरुद्ध यस अगाडि पहिलो पटक सात दिन र दोस्रो पटक पाँच दिन म्याद थपिएको थियो। तेस्रो पटक गर्दा २५ दिनमध्ये १६ दिन प्रहरीले म्याद पाइसकेको छ।

प्रहरीले अनुसन्धानका लागि अधिकतम २५ दिन हिरासतमा राख्ने अनुमति पाउँछ। विशेष परिस्थितिको अवस्थामा थप १० दिन थपिन सक्छ।

योबीचमा प्रहरीले सन्दीपको प्रारम्भिक बयान लिइसकेको छ। बयानमा उनले युवतीसँग भेटेको र होटेलमा बसेको पनि स्वीकार गरेका छन्।

उनले युवतीको आग्रहमा भेटेको र होटेलमा सँगै बसे पनि अलग-अलग कोठामा बसेको र बलात्कार नगरेको दाबी गरेका थिए। तर, उनले गरेका दाबीहरू प्रहरीले सङ्कलन गरेको प्रमाणलाई काट्न सकेको छैन।

गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा उनी विरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो। जाहेरी पर्दा उनी नेपाल बाहिर थिए। अदालतबाट पक्राउ आदेश जारी भएपछि नेपाल आउँछु भनेका उनी भागेर अमेरिका पुगेर एक महिनापछि नेपाल आएपछि विमानस्थलमै पक्राउ परेका थिए।

तपाइँको प्रतिक्रिया