सोमबार, वैशाख २४, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: ०३:४१ |सिड्नीको समय: ०१:४१ |काठमाडौंको समय: २१:२६

नवौँ राष्ट्रिय खेलकुदमा एनआरएनएकी एस्ले सापकोटालाई तीन स्वर्ण

एएनजेड खबरअक्टोबर २०, २०२२

नवौँ राष्ट्रिय खेलकुदमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले शनिवार तीन स्वर्ण जित्यो। तीनै स्वर्ण अमेरिकाबाट आएकी एस्ले सापकोटा डङ्गोलले जित्न सफल भइन्।

उनले शनिवार पोखराको फिस्टेल एकेडेमीको २५ मिटरको कोर्समा ५० मिटर बटरफ्लाइमा पहिलो स्वर्ण जितिन्। उनले ३० सेकेन्डमा पौडिएर स्वर्ण जित्दा आर्मीकी डुवान लामाले ३२.१५ सेकेन्डको समयका साथ रजत हात पारिन्। पुलिसकी मेघन गुरुङ ३२.५२ सेकेन्डमा पौडिँदै कास्य पदक जितिन्।

एस्लेले सय मिटर फिस्टाइलमा अर्को स्वर्ण जितिन्। उनले १ मिनेट १.४२ सेकेन्डमा निर्धारित दूरी पौडिइन्। आर्मीकी अनुशिया तन्डुकार १ मिनेट १.६० सेकेन्ड समयका साथ रजत पदक हात पार्दा पुलिसकी मेघन गुरुङ १ मिनेट १.६० सेकेन्डमा कास्य जितिन्।

दुई सय मिटर ब्याकस्ट्रोकमा तेस्रो स्वर्ण जित्ने क्रममा एस्लेले २ मिनेट ३६.०४ निर्धारित दूरी पौडिइन्। बागमतीकी आरजु थापा मगर ३ मिनेट १७.९९ सेकेन्डका साथ दोस्रो र प्रदेश एककी उपासना राई ४ मिनेट २८.८६ सेकेन्डसहित कास्य जितिन्।

स्वर्ण जित्न सफल भए पनि टाइमिङमा भने उनी सन्तुष्ट छैनन्।

नेपाली मूलका आमाबुबाकी सन्तान एस्लेले एक महिनाअघि मात्र नवौँ राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्ने पक्का भएको थियो। नेपालमा प्रतिस्पर्धा गर्ने पक्का भएपछि उनले अमेरिकाको क्यालिफोर्नियामा तयारी गरेकी थिइन्।

नवौँका भाग लिन सोमबार नेपाल ओर्लिएकी उनी बुधवार पोखरा आइपुगेकी हुन्।
१६ बर्सिया एस्लेले प्रतियोगितामा आठ वटा इभेन्टमा भाग लिएकी छिन्। प्रतियोगितामा उनले सबै खेलाडीलाई प्रतिस्पर्धीको रूपमा लिएकी छिन्।

‘डुवाना, गौरीकाको नाम सुनेको छु। गौरीकाको प्रदर्शन राम्रो छ,’ उनले भने, ‘तर सबै खेलाडीसँग प्रतिस्पर्धा हुन्छ जस्तो लाग्छ।’

अमेरिकी नागरिक एस्लेले नेपालबाट खेल्ने विषयमा भने सोचिसकेकी छैनन्। नेपालबाट खेल्नका लागि दोस्रो देशको पासपोर्ट त्यागेर नेपालको पासपोर्ट बोक्नुपर्छ।

‘नेपालबाट पनि खेल्ने कुरा अहिलेका लागि सोचेको छैन। बुबा-आमासँग सल्लाह गरेर भन्न सक्छु,’ उनले भनिन्।

उनका बुबा सञ्जय डङ्गोल कीर्तिपुरका हुन् भने आमा रेणुका सापकोटा झापाकी हुन्। उनीहरू सन् १९९८ मा अमेरिका गएका थिए। अहिले आमा रेणुका छोरी र छोरा लिएर नेपाल आएकी छिन्।

(जनसवालबाट)





तपाइँको प्रतिक्रिया