सोमबार, वैशाख २४, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: २३:३८ |सिड्नीको समय: २१:३८ |काठमाडौंको समय: १७:२३

नेपाल महोत्सव तास्मानिया आईतबार होबार्टमा, तयारी पुरा : संयोजक राकेश शाक्य

एएनजेड खबरनोभेम्बर ३, २०२२

आगामी आईतबार अष्ट्रेलियाको तास्मानिया राज्यमा आयोजना हुन लागेको ‘नेपाल फेस्टिभल तास्मानिया २०२२’ को तयारी अन्तिम चरणमा पुगेको छ । आगामी नोभेम्बर ६ तारिख आईतबार तास्मानियाको पार्लियामेन्ट गार्डन सालामन्का होबर्टमा आयोजना हुने नेपाल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको एनआरएन तास्मानियाका संयोजक राकेश शाक्यले एएनजेड खवरलाई जानकारी दिए ।
तास्मानिया राज्यभर २० हजार र होबर्ट क्षेत्रमा मात्रै १५ हजार हाराहारी नेपालीहरुको बसोबास रहेका कारण पनि यो फेस्टिभलमा भब्य सहभागिता हुने र विशेष हुने विश्वास आफुलाई रहेको शाक्यले बताए।

तास्मानियामा नेपाली समूदायको बाहुल्यता बढिरहेको समयमा पहिलो पटक गर्न लागिएको फेस्टिभललाई विशेष बनाउन लागिएको स्थानिय नेपालीहरूले बताएका छन् ।
नेपाल फेस्टिभलमा नेपालका चर्चित कलाकार दिपक बज्राचार्यको ‘द रिदम’ व्याण्डले प्रस्तुति दिने छ । फेस्टिभलमा परेड, नेपाललाई चिनाउने नेपाल हाउस, नेपाली कलाकारहरुको सांगीतिक प्रस्तुतीका साथै स्थानीय कलाकारहरुको अर्थ ब्याण्ड र हिमालयन रकफिल्ड ब्याण्डका कलाकारको भब्य प्रस्तुती हुने पनि संयोजक शाक्यले जानकारी दिए । तास्मानियामा रहेका नेपाली भाषी समाजिक संघ–संस्था, खेलकुदसँग सम्बन्धित संघ–सस्थाको सहयोग रहेको महोत्सवलाई केबिए ग्लोबल एजुकेसन एन्ड माइग्रेसन र आरजिआइटी अस्ट्रेलियाले मुख्य प्रायोजन गरेका छन् ।
नेपाली र स्थानीय गरेर झण्डै १० हजार दर्शकहरु उपस्थित गराउने लक्ष्य एनआरएनले लिएको छ । यस पटक तास्मानियामा रहेका नेपाली भाषी भुटानीलाई पनि सहभागी गराउने प्रयास गरिएकाले सहभागिता बढ्ने आशा गरिएको छ । यसका साथै तास्मानियाका संस्कृती मन्त्री एलसी आर्चर, उपमन्त्री एला हाडड, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल लगायतका अतिथिहरूको सहभागिता हुनेछ ।
विहान १० देखी १२ बजेसम्म परेड, १२ बजेदेखी २ बजेसम्म औपचारिक कार्यक्रम र २ देखी ८ बजेसम्म सांस्कृतिक कार्यक्रम आयोजना गर्नेगरि तालिका बनाइएको छ । यसमा चाइनिज कम्युनिटिको विशेष प्रस्तुतीका साथै स्थानीय कलाकारका समेत विविध प्रस्तुती समेत पस्कनेगरी तयारी गरिएको छ ।

तपाइँको प्रतिक्रिया