शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०६:२५ |सिड्नीको समय: ०४:२५ |काठमाडौंको समय: ००:१०

अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरूको समस्याबारे एनआरएन अध्यक्ष  गुरुङको अपिल 

एएनजेड खबरमार्च ६, २०२३

एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले नेपाली विद्यार्थीले अष्ट्रेलियामा  भोगिरहेका समस्याको बारेमा चर्चा गर्नु भएको छ। उहाँले विभिन्न युनिभर्सिटी र कलेजहरूमा नेपाली विद्यार्थीहरूले राम्रो अङ्क ल्याएर अगाडी बढे पनि केही विद्यार्थी हरू भने कुलतमा फसेको बताउनु भएको हो । 

उहाँले राम्रो गरेर अगाडी बढेको विद्यार्थी सगसगै नराम्रो गर्ने विद्यार्थीहरूको समस्या आफूहरूले सामना गरिरहनु परेको बताउनु भयो । ‘एनआरएनएको हैसियतबाट हामीहरूले अष्ट्रेलियामा रहेका धेरै विद्यार्थीहरूको समस्यासँग जुध्नु परेकोले यस्ता कार्य नगर्न’ उहाँको अपिल  रहेको छ। 

अध्यक्ष गुरुङले  विद्यार्थीहरूमा समस्या उत्पन्न हुने मुख्य कारण गेम्लिंग भएको बताउनु भएको छ। जसमध्ये पनि ‘पोकर मेशिन’ खेलले नेपाली विद्यार्थीहरूलाई झनै समस्यामा पारेको  गुरुङको भनाइ छ। अध्यक्ष गुरुङ भन्नुहुन्छ,’ हाम्रा नेपाली विद्यार्थी भाइबहिनीहरू नेपालबाट आउनु हुन्छ केही पैसा कमाउनु हुन्छ, अभिभावक नभएको ठाउँमा युवाहरूलाई फ्रीडम पनि भयो यस कारण पनि पपमा जाने र लत बस्ने गरेको छ”,। 

मुख्यगरी डिप्रेसनको समस्या देखिएको अध्यक्ष गुरुङले जानकारी दिनु भयो । “हरेक हप्ता जस्तो केही विद्यार्थीहरूलाई हस्पिटलमा पठाउनु पर्ने र त्यहि भेट्नु पर्ने अवस्था रहेको छ” उहाँले भन्नु भयो । मानसिक समस्या नै प्रमुख समस्याको रूपमा देखिएको उहाँको भनाइ छ। 

उहाँले हरेक पपमा पाइने मेशिनेले सुरु सुरुमा खेल्ने नयाँ ग्राहकलाई जिताउने, खेलौँ खेलौँ बनाउने र अन्तिममा सबै पैसा मेशिनले नै  जित्ने र बिचल्ली बनाउने गरेको बताउनु भयो । अष्ट्रेलिया सरकारले बनाएको उक्त मेशिनले आफैलाई मात्रै फाइदा हुने गरि निर्माण गरिने भएकोले लत लाग्ने जो कोही समस्याको जन्जिरमा फस्न सक्ने खतरा रहेको गुरुङले जानकारी दिनु भएको हो। 

अष्ट्रेलियामा रहेर यस्ता कुलतमा फसेकाहरूका कारण सँगै बस्ने साथी सहकर्मीलाई समेत गम्भीर असर पारेको गुरुङले बताउनु भयो । मेशिनको लतमा परेपछि आफूसँग भएको सबै पैसा सकिने र साथीभाइ आफन्तलाई पैसाको लागी टचर हुने गरेको गुरुङ बताउनु हुन्छ।  

गुरुङले  ‘ पोकर मेशिन’को लतले आफूलाई मात्रै नभएर आफन्त साथीभाइ सबैलाई समेत नराम्रो असर गर्ने भएकाले यस्ता कार्यबाट टाढै रहन सम्पूर्ण अष्ट्रेलियामा रहनु हुने विद्यार्थी भाइबहिनीहरूलाई आग्रह समेतगर्नु भएको छ। 

अध्यक्ष गुरुङले उक्त लतको कारण पैसा सकिने र विद्यार्थीले कलेज फी नतिर्ने, ग्रोसरीको उधारो , घर भाडा नतिर्ने जस्ता समस्या देखिएको बताउनु भयो । साथै सँगै बस्ने साथीहरूको एटिएम कार्ड र पैसा चोर्ने समस्या बढेकाले लतको कारण अपराधीक घटना बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।

उहाँले कलेजको फी नतिर्दा भिसा क्यान्सिल हुने समस्या बढ्दै गएको समेत बताउनु भयो। सोही कारण विद्यार्थी डिप्रेसनमा जाने अल्कोहल, लागु औषध सेवन गर्ने भएकाले अपराधिक घटनाक्रम बढ्दै जाने गरेको बताउनु भयो । 

गुरुङले आफ्ना छोराछोरी अस्ट्रेलिया अध्ययनको लागी पठाउँदै हुनुहुन्छ भने सम्झाएर बुझाएर पठाउन अभिभावकहरूलाई आग्रह समेत गर्नु भएको छ। 

 एनआरएन अध्यक्ष गुरुङका अनुसार अष्ट्रेलियामा अध्ययनको शिलसिलामा आएका नेपाली विद्यार्थीहरूको सङ्ख्या ८० हजारको हाराहारीमा रहेको छ। 

तपाइँको प्रतिक्रिया