सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: १७:३३ |सिड्नीको समय: १५:३३ |काठमाडौंको समय: ११:१८

अष्ट्रेलियाको सपनाले उब्जाएका केही प्रश्नहरू

प्रदीप खड्कामार्च ८, २०२३

नेपाली विद्यार्थीहरूको लागी अमेरिका क्यानडा जस्तै अष्ट्रेलिया अध्ययनको लागी प्रमुख गन्तव्य बनेको छ। नेपालको सन्दर्भमा अध्ययन गर्न जाने युवा युवतीहरूको लागी ‘हब’ जस्तै बनेको यो देश जिन्दगीको परिवर्तनमा पनि महत्त्वपूर्ण कोसेढुंगा साबित समेत बन्ने गरेको छ। पढाई सँगसँगै आर्थिक उपार्जन र जीवनको एउटा सपना पुरा गर्ने अर्को माध्यम पनि बनेको छ अष्ट्रेलिया। उच्च शिक्षा हासिल गर्ने एउटा पाटो त छदै छ तथापि कठोर मेहनत र परिश्रमले आर्थिक उपार्जनको श्रोत समेत बनेको छ।

विद्यार्थीहरूको लागी प्लस टू सकिन साथै करिअर निर्माणको लागि विदेश जानै पर्ने बाध्यात्मक अवस्था छ नेपालमा । आफूले चाहे अनुसारको शिक्षा हासिल गर्न नेपालमा मुस्किल पर्ने साथै आर्थिक रूपमा पनि सम्पन्न हुनु पर्ने कारणले अभिभावकहरूले आफ्ना सन्तानलाई विदेश पठाउने प्रचलन जस्तै बनेको छ।

परिवारले लाखौँ खर्चेर छोराछोरी विदेश पटाउँदा लागेको ऋण तिर्न पनि विदेश पुगेका विद्यार्थीहरूले अनिवार्य श्रम गर्नु पर्ने परिस्थिति छ। घर परिवारको ऋणको बोझिलो भारीलाई हलुका बनाउनकै लागि भए पनि पढाइको सिलसिलामा विदेश पुगेका विद्यार्थीहरूले श्रममा मेहनत गर्ने पर्ने हुन्छ।

मनभरि सपनाका चाङ बोकेर परदेशिएका मन कलेजको शुल्क तिर्न र परिवारको मुहारमा खुसी भर्नको लागि कठोर मेहनत गर्नुपर्दाको पिडादायक अवस्थालाई जो कसैले अनुमान मात्रै लगाउन सक्छन्। ‘खुकुरीको चोट अचानोलाई मात्रै थाहा हुन्छ’ भनेझैँ अष्ट्रेलियामा कल्पना गरिएको भन्दा फरक अवस्थाबाट गुज्रिनु पर्ने हुन्छ।

एकातिर पढाइको प्रेसर अर्को तर्फ परदेश लाग्दा बैङ्कबाट लिएको ऋणले झनै तनावमा पारिदिन्छ उनीहरूलाई । घर परिवार आफन्त साथीभाइले अष्ट्रेलियामा डलरमा कमाइ हुने भनेपछि लाखौँ कमायो होला भन्ने सतही अनुमान गर्ने र अनेकौँ डिमान्ड गर्ने अर्को ठुलो समस्या पनि उस्तै छ।

घर भाडा, खाने खर्च, गाडी भाडा र कलेजको शुल्क डलरमै तिर्नु पर्दा हिसाब बराबर भएको कसैले बुझिदिए हुन्थ्यो नि भन्ने उनीहरूको मनोभावनालाई सायदै कसैले बुझ्छ। डलरलाई नेपाली पैसामा हिसाब गर्दा मात्रै सय गुणा बढी देखिने हो तर तर यहाँको जीवन शैलीमा डलर नेपाली पैसा जस्तै तरिकाले खर्च हुन्छ । यस बाध्यात्मक अवस्थालाई कसले बुझिदिने र खै ?

यी यावत कठिनाइको बावाजुद नेपाली विद्यार्थीहरूले आफूलाई सम्हालेर हिँडाउने कोसिस गरेको देखिन्छ। फोटोमा देखिने एकै छिनको खुसीलाई सदाबहार खुसी भएको अर्थ्याउने आफन्तजन साथीभाइलाई कसरी बुझाउने यो अर्को समस्या छ। मनै देखि मिलेको खुसी र दैनिक जीवनयापनबाट पाउने खुसीमा आकाश पतालको फरक छ अष्ट्रेलियामा।

सुरुमा भनेजस्तो जागिर भेटिँदैन जागिर पाइहाले पनि भनेजस्तो हुँदैन। नेपालमा रहँदा कुनै कठोर मेहनत नगरेको मान्छे एक्कासि ठुलो सपना र परिवारको दायित्व समेत बोकेर अष्ट्रेलिया पुगेको हुन्छ। कामको तनाव एकातिर छदै छ भने अर्को तर्फ ‘होम सिक’ भएर डिप्रेसनमा जाने उत्तिकै खतरा हुन्छ । डिप्रेसनको सिकार बनेका युवा युवती कुलतमा लाग्ने रिफ्रेसमेन्टको बहानामा क्लब धाउने अनि कुलतको सिकार बन्ने गरेको उदाहरण धेरै छन्।

परिवारले जिम्मेवारीको ठुलो भारी बोकाएर पटाउँदा र ठुलो अपेक्षा राख्दा निम्तिने खतरा हुन् यी सबै। अझ भनौँ स्वतन्त्रताको भरपुर दुरुपयोग गर्दै अष्ट्रेलिया आउँदा लागेको ऋण सम्झँदा विद्यार्थीहरू कुलतमा फस्ने गरेको पाइएको छ।निन्द्रा नलाग्ने चिन्तित देखिने मानसिक रूपमा विक्षिप्त हुँदा पढाइमा झनै समस्या पर्ने गरेको छ।

अष्ट्रेलियामा रहेका विद्यार्थीहरू गलत बाटोमा लाग्ने प्रमुख कारकतत्व भनेकै अभिभावकको नजरबाट टाढा भई स्वतन्त्रता हुनु पनि हो । नेपालमा रहँदा घरपरिवारको अलावा समाजको डर हुन्थ्यो , छिमेकी, नातागोताका डरका कारण पनि अनुशासनमा बस्नु नेपालीहरूको सस्कृति पनि थियो। तर अष्ट्रेलियामा उनीहरूले ती सबै नियमबाट टाढा रहेर आत्मनुशासनालाई लत्त्याएर अनेकौँ प्रकारको यौन, ड्रग्स, पप, जुवा तासजस्ता कुलतको सिकार बन्ने गरेको पाइन्छ। लगभग ८० हजार नेपाली विद्यार्थी रहेको अष्ट्रेलियामा केहीमा मात्रै यी यावत समस्या हुने गरेको छ।

अष्ट्रेलियाको जीवनयापन र समाज खुल्ला प्रवृत्तिको छ । हामी नेपालीहरू त्यही समाजलाई फलो गर्न खोज्दा कहाँनेर पुगेर चिप्लिन्छ भन्ने हेक्का नभएकोले पनि समस्या उत्पन्न भएको पाइन्छ। सपनाको देश सम्झेर अष्ट्रेलिया आएका नेपाली विद्यार्थीहरूले पारिवारिक दायित्वलाई पनि सँगै लिएर आउँदा सोचेको जस्तो नहुँदा आत्महत्या गरेको कयौँ उदाहरण रहेका छन्। कुलतमा फसेर लागु औषधको ओसारपसारमा अष्ट्रेलियन प्रहरीले गिरफ्तार गरी जेल चलान गरेको घटना पनि छन्।

परिश्रम गर्न डराएर सोचे झैँ जिन्दगी नहुने ठानेर गलत बाटो अपनाएका युवायुवतीहरूले परिवारको सपना र आफ्नो शैक्षिक करिअरलाई सम्झेर आफूलाई सुधार गर्नु पर्ने हो। केही पात्रहरूको कारण अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरू नै सामाजिक उपेक्षा र अनेकौँ लाञ्छनाबाट अछुत रहन सकेका छैनन्।

आफ्ना छोराछोरीहरूलाई अध्ययनको सिलसिलामा अष्ट्रेलिया पठाउने समयमा अभिभावकले पढाइलाई र पैसा मध्ये कुनलाई प्राथमिकता दिने हो भन्ने बारे स्पष्ट हुनुपर्ने देखिन्छ। २०/२२ बर्सको उमेरदेखि विदेशी भूमिमा एक्लै सङ्घर्ष गर्नुपर्दा त्यसबाट उत्पन्न हुने मानसिक र भौतिक समस्याबारे परिवार नै जिम्मेवार हुनुपर्ने हो । राम्रो बुझाएर अनि बुझेर आफ्ना सन्तानलाई जिम्मेवार बनाई अष्ट्रेलिया पठाउने हो भने आधा समस्या हल हुन्छन् भने आधा समस्या सामना गर्ने प्रेरणा पनि मिल्छ उनीहरूलाई।

सोचेको जस्तो करिअर र परिवारले चाहे जस्तो सुख प्राप्तिको लागी शारीरिक र मानसिक हिसाबले पहिले नै तयारी गरेर अष्ट्रेलिया आएमा मात्रै यहाँको जीवनयापन सहज हुनसक्छ ।

तपाइँको प्रतिक्रिया