बुधबार, साउन २, २०८१ |Thu Jul, 2024
अक्ल्याण्डको समय: ०५:१३ |सिड्नीको समय: ०३:१३ |काठमाडौंको समय: २२:५८

“सकम्बरी”बारे मेरो धारणा 

प्रदीप खड्काअप्रिल २२, २०२३
प्रदीप खड्का  

 हाम्रो समाज कुनै न कुनै तरीकाले विभाजित छ। चाहे त्यो सामाजिक, धार्मिक या त राजनीतिक हिसाबले होस्  कही-कतै खण्डित छ । सोही वर्ग विभाजित बिचार र समाजको उपज हो  गायक प्रकाश सपुतको  “सकम्बरी”।

  गायक सपुतको सो म्युजिक भिडियोले करिब ९ दिनको अन्तरालमा करोड भ्युज क्रस गरिसकेको छ। मानिसले मन पराएर हेरे या मन नपराएर त्यो सहजै अनुमान लगाउन सकिन्छ। टिकटकमा सर्वाधिक रुचाइएको गीतको रूपमा ‘सकम्बरी’ चिनिएको छ। यद्यपि यस गीत बारे विभिन्न पक्षबाट टिका टिप्पणी भइरहँदा गीतलाई विवादमा पारिएको छ  ।

  गायक सपुतले आफ्नो सङ्घर्षको बेला भोगेका,देखेका र अनुभूत गरेका विषय नै “सकम्बरी”को बलियो पक्ष हो । गीत सङ्गीतको क्षेत्रमा मात्रै नभएर सबै क्षेत्रका  विकृति र विसङ्गतिमाथि गतिलो झापड पनि हो । उनको यस प्रकारका सृजनाले गलत कार्यको भर्त्सना र संलग्नहरूको चेतनामा केही सुधारका किरणहरू छर्न सक्ने एउटा पाटो छदै छ । 

गायक सपुतले महिला माथि होच्याएर अपमान गरेको भन्दै केही पक्षले विरोध गरेको देखिन्छ।  “फुलमाया” पात्रले जस्तै गलत कार्यमा संलग्न हुने र शरीर बेचेर धन सम्पति जोड्ने गरेको भन्ने आशयले गीत ल्याएको भन्दै आलोचना उनको भइरहेको  हो । ‘राती तिरै काम ‘ यस्ता शब्दले राति अबेरसम्म काम गर्ने पत्रकार,डाक्टर,नर्स,महिला सैनिक तथा महिला प्रहरी र विभिन्न पेसा व्यवसाय गर्नेहरू जो गलत धन्दामा छैनन् उनीहरूको प्रतिष्ठामा गम्भीर आँच पुर्‍याएको भन्ने टिका टिप्पणी पनि आइरहेका छन्। यस्ता प्रश्नको जवाफ भने गायक सपुतले दिनै पर्ने देखिएको छ।  

 पुँजीवादी समाजलाई झनै प्रोत्साहन गर्ने प्रवृतिको “सकम्बरी” भन्ने हरूलाई गायक र सर्जकले जवाफ दिनै पर्छ । भिडियोमा देखिएका दृश्यले पुँजीवादको पक्ष पोषण गर्ने र बाध्यात्मक अवस्थामा आफ्नो जवानी पैसासँग साट्न बाध्य हुने पक्षलाई कुनै हिसाबले सम्बोधन गर्न सकेको देखिँदैन । गरिबिको बाध्यात्मक परिस्थितिले गर्दा भन्ने जस्तो सन्देश दिन खोजिएता पनि त्यो पूर्ण छैन । 

 ‘पेटको भोकैले सहर छिरायो ! मनको धोकैले बाटो बिरायो !!’ 

 फुलमाया जस्ता हजारौँ नारीहरू अभावमा जीवन गुजारिरहेका छन् । के जीवन सम्पन्न बनाउन फुलमाया नै बन्नु पर्ने हो र भन्ने गम्भीर प्रश्न गायक र सर्जक सामु तेर्सिएको छ यसको जवाफ तत्काल नै दिनु पर्छ सम्बन्धित पक्षले। साथै रात्रिकालीन काम व्यवसाय गर्ने दोहोरी साँझ र क्लब जस्ता ठाउँहरूमा के “सकम्बरी”मा फुलमायाले जस्तै गर्नुपर्छ ? यसबारे पनि सम्बन्धित पक्षलाई प्रश्न खडा भएको छ। 

अभाव, गरिबी, बाध्यता र विवशताका नाममा महिलाहरू गलत कार्यमा लाग्छन् भन्ने “सकम्बरी”को नकारात्मक पाटो पनि छ । देखाउन र भन्न खोजिएको समाजको संवेदनशील र यथार्थ कुरालाई कतै केही नमिलेको पो हो कि भने कुरामा निर्माण पक्षले पुनर्विचार गर्न जरुरी देखिन्छ। 

अर्को कुरा फुलमाया राजनीतिको केन्द्रमा रहेको पनि म्युजिक भिडियोको अन्तिममा देखाइएको छ । नेपालको राजनीतिमा फुलमाया छिरिन भने सपुतको अर्को  भाग झनै सशक्त बनेर आउन सक्ने आकलन एकातिर छदै छ भने फुलमाया जस्ता पात्र राजनीतिमा प्रवेश गरेको खण्डमा राजनीतिक वृतमा धान्ने नसकिने भूकम्प आउने निश्चित प्राय: छ। समाजलाई डोहोर्याउदै समाज रूपान्तरणको ठुला ठुला गफ हाँक्ने राजनीतिक पार्टी भित्र फुलमायाहरूको कमी नभएको प्रमाण छताछुल्ल भएकै छन् । 

 हो एउटा सर्जकले समाजलाई शिक्षा दिन्छ चेतना फैलाउँछ, अनि कलाको माध्यमबाट समाजको दृष्टिकोण बदल्छ ,साँच्चिकै सपुतको यस प्रस्तुतिबाट गुपचुप बसेका समाजका त्यस्ता खाले विकृतिलाई गतिलो प्रहार मात्रै गरेको छैन भित्र भित्रै गलत कार्य गर्नेहरूको पनि पर्दाफास भइरहेको छ। 

 व्यक्तिगत रूपमा गायक सपुतसँग मेरो कुनै सम्बन्ध छैन, छ त केवल उनी कालाकार हुन् उनको कला गला र सृजना उत्कृष्ट लाग्छ, बस यति नै हो मेरो सम्बन्ध ।सपुतको  ‘सकम्बरी” भन्दा अघि आएको “पिर” ले समाजलाई पनि उस्तै प्रभाव पारेको थियो । राजनीतिक विषय वस्तु जोडिएको कारण पुनः केही दृश्य सम्पादन गर्नु पर्ने बाध्यात्मक अवस्था आइलागेको थियो  गायक सपुतलाई। 

 एउटा गायकले आफ्नो सृजनालाई दर्शक सामु पस्कँदा समग्र पक्षलाई समेटेर ल्याउन कति सम्भव होला ?राजनीति,सामाजिक,आर्थिक अथवा समाजका सबै खाले घटना परिस्थितिलाई एकै साथ उजागर गर्ने हो भने कति घण्टाको प्रस्तुति ल्याउने हो त्यो कल्पना भन्दा बाहिरको कुरा हो तर उनले कलाको माध्यमबाट जे कुरा बाहिर ल्याए त्यो उत्कृष्ट छ समाजको एउटा विकृतिको पाटोलाई उजागर गर्दिएका छन् जो उनको भोगाइ सँग पनि मेल खान्छ  ।  यो कुरा उनी आफैले पनि सार्वजनिक रूपमै भन्दै आएका छन् ।  

 विशुद्ध मनोरञ्जन मात्र होइन गायक सपुतको कलाले देशको भाषा बोलेको हुन्छ। परदेशीयका पीडाको प्रतिनिधित्व गर्छ। “पिर”ले राजनीतिक वृतमा भूकम्प ल्याइदिएको थियो।  सकम्बरीले कलालाई कमाऊ धन्दाको गलत पेसा बनाइरहेका केही व्यवसायी र त्यही विकृतिलाई आय-आर्जनको माध्यम ठान्ने फुलमायाहरूलाई उदाङ्गो बनाइदिएको छ।

 ‘सकम्बरी’ले चित्रण गरेको यथार्थलाई समाजले बहिस्कार गर्छ भन्ने थाहा भएर पनि केही धन्दावालाहरू नै ठुलो स्वरमा कराइरहेका छन् । रात्रिकालीन मनोरञ्जन व्यवसाय गर्दै आएकाहरूले त  विज्ञप्ति नै निकालेर सपुतको विरोध जनाए। सबै पेसा व्यवसायले गायक सपुतले भने जस्तो नै गरेका छन् भन्ने पनि होइन। तर उनको पृष्ठभूमि पनि सोही क्षेत्र भएकाले पनि सपुतलाई यसबारे राम्रो ज्ञान छ र त सकम्बरीमा फूलमायाको चरित्र देखाएका छन् । 

 सपुतको “सकम्बरी”मा अभावमा भौँतारिएकी एक अबोध नारीको जिन्दगीसँग खेलेर कसरी जिन्दगी वर्वाद बनाइ दिन्छन्  भन्ने यथार्थ उजागर गरिएको छ । मनोरञ्जन क्षेत्रको अँध्यारोतिर झटारो हान्दै गर्दा सपुतले कलाकार बन्न चाहेकी तर गरिबिको दलदलबाट आएकी  युवतीमाथि कसरी यौन शोषण  हुन्छ त्यो समेत देखाएका छन् । समाजका अन्य क्षेत्रलाई विषय वस्तु बनाउँदै आएका सपुतले अन्ततः आफ्नै क्षेत्रलाई प्रहार गरेर वास्तविकता खोलिदिएका छन्।

तपाइँको प्रतिक्रिया