शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २०:५५ |सिड्नीको समय: १८:५५ |काठमाडौंको समय: १४:४०

 पूर्व प्रधानमन्त्री माधव नेपाल सिड्नीमा !

एएनजेड खबरमे २६, २०२३

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा  पूर्व प्रधानमन्त्री माधव नेपाल शुक्रवार अष्ट्रेलिया आइपुगेका छन्। सिड्नी हुदै न्यूजिल्याण्डको भ्रमणमा निस्किएका उनी प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको आयोजनामा हुन लागेको साक्षात्कार कार्यक्रममा सहभागी हुन आगामी ३ जुनमा पुन अष्ट्रेलिया आउने छन् ।

करिब एक साताको भ्रमणका क्रममा अध्यक्ष नेपालले अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिने साक्षात्कार कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुने बताइएको छ। उक्त साक्षात्कार कार्यक्रममा नेपालको समसामयिक राजनीतिक परिस्थिति र वर्तमान सत्तारुढ गठबन्धनबारे  बहस हुनुको साथै  नेपाल-अष्ट्रेलिया सम्बन्धका विविध आयामहरू र नेपाली समुदायको भूमिकाबारे छलफल गरिने प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाका अध्यक्ष अच्युत थपलियाले जानकारी दिए। 

उनले उक्त साक्षात्कार कार्यक्रममा गैर आवासीय नेपालीहरूका सरोकारहरूको उठान गर्नुको साथै  नेपालको आर्थिक विकास संवृद्धिमा  गैर आवासीय नेपालीको योगदान सुनिश्चित गर्न सरकार र दलहरूले गर्नुपर्ने न्यूनतम तयारीबारे छलफल हुने बताए। 

अध्यक्ष थपलियाका अनुसार कार्यक्रम काष्ठमण्डप फङ्सन सेन्टरमा आगामी जुन ३ तारिख साँझको ५:३० बजे हुनेछ। 

अध्यक्ष नेपाल न्यूजील्याण्डको अकल्याण्ड सहरमा आगामी सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन त्यता लागेका हुन। नेपालले उक्त अवसरमा हुने सभालाई सम्बोधन समेत गर्नेछन्। उनले भ्रमणमा क्रममा  न्युजिल्याण्ड सरकारका प्रतिनिधि, विभिन्न नेता, त्यहाँस्थित प्रवासी नेपाली र पार्टी निकट प्रवासी मञ्चका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ। 

न्युजिल्याण्डमा विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा सगरमाथा दिवस मनाइने भएकोले नेपाललाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएको हो । तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरेको दिनलाई २०१४ देखि सगरमाथा दिवसको दिनको रूपमा मनाइँदै आएको छ। 

तपाइँको प्रतिक्रिया