मंगलबार, माघ १, २०८१ |Tue Jan, 2025
अक्ल्याण्डको समय: २२:१९ |सिड्नीको समय: २०:१९ |काठमाडौंको समय: १५:०४

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष मन्त्रिपरिषको सिफारिस

एएनजेड खबरमे २८, २०२३

सरकारले टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

आज  बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को सिफारिसअनुसार जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिनेछन्।

यसअघि सरकारले चौधरीलाई माफी दिनेबारे रायको लागी राष्ट्रपति कार्यालयमा निवेदन पठाएको थियो। उक्त निवेदन अध्ययन गरी राष्ट्रपति कार्यालयले ‘प्रचलित कानुन, यस सम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुन बमोजिम हुने गरी गर्न’ भनेर गृह मन्त्रालयमा फिर्ता पठाइएको थियो।

टिकापुर घटनामा  रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए। गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरिदिएको थियो।चौधरीलाई २०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटनामा ८ जना प्रहरी र १ जना दूधे बालकको हत्याको योजना बनाएको  सर्वोच्च अदालतको ठहर थियो । 

उक्त घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, प्रहरी हवलदार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवलदार ललित साउद, सहायक हवलदार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए।

तपाइँको प्रतिक्रिया