शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: १९:२० |सिड्नीको समय: १७:२० |काठमाडौंको समय: १३:०५

आज जेठ १९ ! राजा वीरेन्द्रको वंशनास भएको कालो दिन

प्रदीप खड्काजुन २, २०२३

वि सं ०५८ साल जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रको वंशनासको कहालीलाग्दो हत्याकाण्ड भएको आज २२ वर्ष पुगेछ ! राजा वीरेन्द्रको वंश नै सखाप पारिएको त्यो कालो दिनको बारेमा आज सम्म कुनै तथ्य पत्ता लगाउन पहल भएको देखिँदैन।  विभिन्न अड्कलबाजी गर्दैमा २२ वर्ष  बितेको छ। 

देश भित्र प्रजातान्त्रिक आन्दोलनबारे सधैँ सकारात्मक सोच्ने भनिएका राजा वीरेन्द्रको परिवार एउटै घटनामा मारिनु देशको लागी अत्यन्तै दुर्भाग्य बन्न पुग्यो। उनको सबै परिवारका सदस्य मारिनुमा पहिलो कारण भनेको उनले आफ्नो शासनकालमा देश र जनताको ज्यु धनको रक्षा प्रति सजक हुनु हो भन्ने एउटा तथ्य बारम्बार बाहिर आइरहन्छ। देश र जनताप्रतिको माया अनि देशभक्ति अडानका कारण उनको परिवारको नामनिसान वाकी नहुनु देशको लागी ठुलो क्षति भएको महसुस आम नेपालीले गरिरहेका छन्।   

 वीरेन्द्र राष्ट्रवादी राजा हुनुको कारण पनि दरबार हत्याकाण्ड रचिएको भन्ने अनुमान गर्नेहरू धेरै छन्। भनिन्छ ,माओवादी विद्रोह दबाउनको निम्ति राजा वीरेन्द्रले अपनाएको नरम नीति पनि उनको निम्ति अभिसाप भएको अर्को थरीले अनुमान लगाएका छन्।  जे होस् जेठ १९ को त्यो अपत्यारिलो घटना घट्नुमा असामान्य षड्यन्त्र रचिएको थियो भन्न कुनै अप्ठ्यारो छैन। 

घटनाबारे सार्वजनिक गरिएका तथ्य हामी सबैलाई थाहा छ त्यसपछि देशमा केके भयो भन्ने कुरा ,घटना स्थलमै हत्या गरिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो ,केही घण्टामै उनको मृत्यु भयो पनि भनियो र ज्ञानेन्द्र शाह राजा स्वघोषित राजा बने। यो सारा कुराहरू हामीले भोगेका छौ देखेका छौ ,छानबिन समिति गठन भयो तारानाथ रानाभाट संयोजक बने रिपोर्ट पनि आयो उही घटना स्थलमै मृत्यु भइसकेका युवराज दीपेन्द्रले हत्याकाण्ड मच्चाएको भन्दै  ,यो सबै कुरा हेर्दा चाहे छानबिन कमिटी होस् या उसले बुझाएको प्रतिवेदन किन नहोस् सबै औपचारिकताको लागि मात्रै थियो। यतिका वर्ष बिते ५ वर्ष सम्म त ज्ञानेन्द्र शाह कै शासन समय रह्यो न कुनै तथ्य बाहिर आयो न त पुनः चासो नै दिइयो न त छानबिन गर्न कुनै पक्ष तयार देखियो। 

आन्दोलनमा चर्का नारा लगाएर दरबार हत्याकाण्डको आरोप पूर्व राजा लाई लगाउने राजनीतिकदलहरु नै अहिले देशको शासन सत्ता सञ्चालनको  मुख्य भूमिकामा छन्। कहिले कम्युनिष्ट को पालो कहिले काँग्रेसको गर्दै गणतन्त्र प्राप्ति पश्चात्  देशको बागडोर हाँक्न  जनताको छोरोले पनि सक्छ भन्ने हिसाबले राजतन्त्र हटाएर दलीय व्यवस्था ल्याएका दलहरूले न आज दरबारको वंश विनाशको बारेमा बोल्छन्  न त मदन भण्डारी जस्ता जनताको नेताको त्रिसूलीमा हत्या भएको कुरालाई खोजी गर्छन् ।

 देशको सान नै खस्किने गरी भएका कतिपय घटनाक्रमले कसैको सनक र चाहनामा भएका आपराधिक घटनाको सत्य तथ्य बाहिर ल्याउन कसैले पनि चाहेनन्।  स्वर्गीय नेता गिरिजा प्रसाद कोइरालाले त बेलाबेला “यसको ग्राइनडीजाईन मलाई थाहा छ” भन्दै शक्तिमा बसेकाहरूको मुटु कमाउने समेत गरे। 

राष्ट्रवादी छवि बनाएका राजा वीरेन्द्रले गद्दीमा रहँदा यो खराब काम गरे भनेर कहिकतै सुनिएन तर उनीभन्दा अगाडिका राजा हुन् या उनको हत्या पछि बनेका राजाको हकमा होस्  देश र जनता प्रति उनीहरूले गरेका कयौँ  धोकाधडी र देशको शिर खस्कने घटनाक्रम सर्वविदित नै छन्। 

पछिल्लो समयमा राजावादीहरूले राजतन्त्रको पक्षमा चर्का नारा लगाएको देखिएको छ। तर उनीहरूले दरबार हत्याकाण्डको  कालो इतिहासको बारेमा खोज अनुसन्धान गर्ने भन्दा पनि राजनीतिक खुद्रे पसलको व्यापक प्रचार गरेको पाइन्छ । संविधान र व्यवस्थाको चर्को विरोध गरेजस्तो गर्ने तर यही संविधान र गणतान्त्रिक व्यवस्था भित्र बसेर राजसंस्थाको नाममा खुद्रा पसल सञ्चालन गर्नेहरूले नै राजसंस्थाको बदनाम गरिरहेका छन्। राजसंस्था प्रति उत्तरदायी बनेका तिनै राजनीतिक दलहरूले जेठ १९ को राजदरबार हत्याकाण्डबारे जनतालाई प्रस्ट पार्नुपर्थ्यो कि पर्दैनथ्यो ? अनि राजसंस्थालाई फ्यालेर राज्य सञ्चालनको व्यवस्था नै बदलेका राजनीतिक दलहरूले दरबार हत्याकाण्डको बारेमा अनुसन्धान गर्नु पर्थ्यो कि पर्दैनथ्यो ? जवाफ कसले दिने ?

राष्ट्र प्रेमले भरिएका राजा हुन् या नेता हुन् उनीहरू सदैव नकारात्मक प्रवृतिको तारो बन्ने गरे। जेठ ३ गतेको मदन आश्रितको हत्याकाण्ड होस् या त जेठ १९ राजदरबार हत्याकाण्ड होस् हामी नेपालीहरूको लागि कालो दिन बन्न पुग्यो। यस्ता गम्भीर  अपराधको बारेमा छानबिन गर्न न राजनीतिक दलहरू तयार छन् न त राजसंस्थालाई बोकेर हिँड्ने दलनै तयार देखिन्छन्।

जेठ १९ गते शुक्रवार राति भएको दरबार हत्याकाण्ड कसले, किन र कसरी गर्यो भन्ने विषयको उत्तर हालसम्म पाइएको छैन ।

तपाइँको प्रतिक्रिया