शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०१:०१ |सिड्नीको समय: २३:०१ |काठमाडौंको समय: १८:४६

बजेटले देशको आर्थिक सङ्कट टार्न सक्दैन :केपी ओली 

एएनजेड खबरजुन ६, २०२३

नेकपा एमालेका अध्यक्ष तथा  प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले देशको विद्यमान आर्थिक सङ्कट टार्न नसक्ने दाबी गरेका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलमा भाग लिँदै ओलीले मुलुकको अर्थतन्त्रलाई शीघ्र सुधारका लागि लिनुपर्ने नीति तथा कार्यक्रम बजेटमा नरहेको भन्दै सङ्कटापन्न नेपाली अर्थतन्त्रको पुनः स्थापनाका लागि योजना नरहेको टिप्पणी गरे ।

करिब दुई घण्टासम्म बोलेका ओलीले भने ,“आगामी आवको बजेट समस्याको पहिचान नगरी प्रस्तुत भएको छ । मेरो नेतृत्वको सरकार हुँदा अर्थतन्त्र उकालो लाग्दै गएको अन्तर्राष्ट्रिय क्षेत्रले उल्लेख गरेको थियो तर पछिल्ला वर्षमा ओरालो लाग्दै गएको छ ।”

उनले आगामी आवको बजेटले १५औँ आवधिक योजना तथा दिगो विकासका लक्ष्य हासिल गर्न नसक्ने जिकिर पनि गरेका छन्। अध्यक्ष ओलीले देशको गौरव, इज्जत, प्रतिष्ठालाई ख्याल गर्दै जनताका इच्छा आकाङ्क्षालाई सम्बोधन गरी भावी पुस्तालाई सबल र समृद्धि मुलुक हस्तान्तरण गर्नुपर्नेमा दायित्व रहेको बताए ।

ओलीले आर्थिक वर्ष २०८०/०८१ को बजेट सच्याउन सरकारसँग माग गरेका छन्। बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरूले नभन्ने अध्यक्ष ओलीको भनाइ थियो। 

तपाइँको प्रतिक्रिया