शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २२:४५ |सिड्नीको समय: २०:४५ |काठमाडौंको समय: १६:३०

कोशी प्रदेशमा प्रतिवादमा उत्रन कार्यकर्तालाई केपी ओलीको निर्देशन 

एएनजेड खबरजुन ८, २०२३

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा आफ्ना पार्टीका नेता–कार्यकर्तालाई  आक्रमण भएको भन्दै प्रतिवादमा उत्रन निर्देशन दिएका छन्। 

आज पार्टी मुख्यालय च्यासलमा भएको एक कार्यक्रममा बोल्दै ओलीले नेता कार्यकर्ताहरूको रक्षा आफैँले गर्नुपर्ने परिस्थिति आएको भन्दै आक्रमणमा उत्रन भड्किलो निर्देशन दिएका हुन्। 

अध्यक्ष ओलीले पार्टीका  प्रदेश सभा सदस्य राम रानालाई इलाममा शरीरमा मोबिल छर्केर आगो लगाउने प्रयास गरिएको ओलीको दाबी छ।

उनले भने ‘मोबिल छर्केर आगो लगाउने सम्मको हर्कत यो राजनीति हो? अब एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था भयो। सरकारले यो गराइराख्या छ भने एमाले चुप लागेर बस्न सक्दैन। हाम्रा कार्यकर्ताहरूको रक्षा हामी आफैँले गर्नुपर्छ भने तयारी गर्नुपर्छ।’

ओलीले कोशी प्रदेशमा भइरहेको आन्दोलनलाई सरकार आफैले संरक्षण गरेको आरोप लगाएका छन्। ,‘प्रचण्ड सरकारले प्रोत्साहित गरेको छ, संरक्षण गरेको छ। यसको जवाफ दिनुपर्ने बेला आइसक्यो जस्तो लाग्छ,’ उनले भने, ‘अस्ति म जाँदाखेरि ढुंगामुढा गरे। तर, सरकारले केही गरेन। प्रहरीको टाउको फुट्यो, टाउको कुच्चियो। सबै हुँदा पनि प्रहरीलाई केही नगर्नु भनेको छ।’

‘यस कुरामा हाम्रो पार्टी किञ्चित डराउँदैन। लच्किँदैन, झुक्दैन। नो कम्प्रोपाइज। किरात प्रदेश किन राख्न खोजिएको रहेछ हामी बुझ्दैछौं नि, नराख्दा त यस्तो छ, राखेपछि के होला? गैरकिरात त त्यहाँ बस्न पनि नसक्ने रहेछ नि,’ उनको अभिव्यक्ति थियो।

 प्रचण्डले जाति-जातिको राज्य बनाउँछु भनेर पहिला नै विष फैलाउन खोजेको ओलीको आरोप छ। उनले माओवादीले जातिवादी राज्य बनाउन  नसकेपछि फरक तरिकाले अहिले कोशी प्रदेशको जातिवादी अभियानलाई संरक्षण गरेर जातीय आन्दोलन लाई सहयोग गरेको आरोप लगाएका हुन्। 

तपाइँको प्रतिक्रिया