आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १३:३० |सिड्नीको समय: ११:३० |काठमाडौंको समय: ०७:१५

समाजवादी मोर्चा भोली असार ४ गते घोषणा हुने 

एएनजेड खबरजुन १८, २०२३

संसदीय व्यवस्थालाई स्वीकार गर्ने र नगर्ने दल मिलेर भोली असार ४ गते समाजवादी मोर्चा घोषणा हुने भएको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दलले  भोलि नै समाजवादी मोर्चा घोषणा गर्ने सहमति जुटाएका हुन्।

नेताहरूबिच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ ।  तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको बताइएको छ।  प्रगतिशील र समाजवादी शक्तिहरूको गठबन्धनलाई ‘समाजवादी मोर्चा नेपाल’ नाम दिइएको छ। 

भोलि राष्ट्रियसभा गृहमा एक कार्यक्रम गरी समाजवादी मोर्चा घोषणा गर्ने तयारी गरिएको छ। बालुवाटार बैठकमा सहभागी जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले आजको बैठकमा समाजवादी मोर्चा र त्यसको न्यूनतम कार्यक्रमका बारेमा आवश्यक सहमति भएको  जानकारी दिए। 

एमाले सहितको नेकपा  फुट पस्चात समाजवादी मोर्चा बनाउने प्रयास भए पनि औपचारिकता भने पाउन सकेको थिएन। माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको लगातार पहल पछि  विभिन्न राजनीतिक दलसँग यसबारेमा संवाद गर्न तयार भएका थिए। बैठकले मोर्चाको न्यूनतम कार्यक्रमसमेत तय गरेको र सोमबार नै सार्वजनिक गरिने बताइएको छ।

तपाइँको प्रतिक्रिया