आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १९:०७ |सिड्नीको समय: १७:०७ |काठमाडौंको समय: १२:५२

बझाङमा मन्त्री चढेको गाडी दुर्घटना, अवस्था गम्भीर 

एएनजेड खबरजुन २०, २०२३

बझाङमा भएको गाडी दुर्घटनामा  सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहसहित ५ गम्भीर घाइते भएका छन्। दुर्घटनामा मन्त्रीका सम्पत्तिसहित ५ जनाकै अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी भरतबहादुर सिंहका अनुसार दुर्घटनामा आज  दिउँसो बझाङ केदारस्यु गाउँपालिका १ झारछडा स्थित जयपृथ्बी राजमार्गमा मन्त्री सवार गाडी दुर्घटनामा परेको हो। 

डडेलधुराबाट चैनपुर बझाङतर्फ आउँदै गरेको सु प प्र ०१००१ झ ४८० नम्बरको गाडीमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री  सिंहसहित ५ जना सवार थिए। 

गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालङगा नदीको किनारमा खसेको थियो। घटनास्थलमा तत्कालै  प्रहरी टोली पुगेर  उद्वार गरी घाइतेहरूलाई उपचारको लागी रितु पोलीक्लिनिक र प्राथमिक स्वास्थ्य केन्द्र देउरा बझाङमा पुर्‍याएको थियो। 

घाइतेहरूलाई थप उपचारको लागी काठमाडौं लैजाने तयारी भइरहेको छ। सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर पठाइएको छ। 

दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सिंह, उनकी पत्नी ५० वर्षीया अमृता सिंह, चालक ३५ वर्षीय  धर्मराज जोशी, बझाङ जपृथ्बी नगरपालिका १० का ६० वर्षीया जयादेवी सिंह र मन्त्रीका पीएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारी घाइते भएको बताइएको छ। 

तपाइँको प्रतिक्रिया