सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: ०७:४७ |सिड्नीको समय: ०५:४७ |काठमाडौंको समय: ०१:३२

एनआरएन कार्यालयमै पत्रकार ओम शर्मा कुटिएकोमा सर्वत्र विरोध

एएनजेड खबरनोभेम्बर १, २०२३

एनआरएनएका अभियन्ता एवम पत्रकार ओम शर्मालाई एनआरएनएको मुख्यालय वालुवाटारमा एमाले निकट युवा संघका कार्यकर्ताले हातपात गरेको घटनाको सर्वत्र विरोध भएको छ । विभाजित समूहका अध्यक्ष डा. केसी र एमाले नेता महेश बस्नेतसहितका नेताहरु सहभागी भएको कार्यक्रममा पुगेका चारदिशा अनलाइनका सम्पादक एवम पत्रकार महासंघ बेल्जियमका अध्यक्ष शर्मालाई युवा संघका कार्यकर्ताले कुटपिट गरेपछि त्यसको विरोध भइरहेको छ ।

पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले घटनाप्रति खेद व्यक्त गरेका छन् भने नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले शर्मामाथि भएको सांघातिक आक्रमण खेदजनक भनेका छन् । नेपाल पत्रकार महासंघ युरोपका कार्यवाहक अध्यक्ष केजिन राईले एक विज्ञप्ति नै जारी गर्दै घटनाको घोर निन्दा र भर्त्सना गर्दै घटनाका जिम्मेवार व्यक्तिहरु साथै आक्रमणकारीहरुलाई कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।

पत्रकार एवम आरके शर्मा पक्षका अभियन्तालाई केसीको इशारामा आक्रमण भएको अनुमान गरिएको छ । शर्माले एनआरएनए कार्यालयमा युवा संघको परेड स्थल बनाइएकाले जोगाउन आफू तल्लिन रहेको बताए । यसैगरी उपाध्यक्ष गंगाधर गौतमले युवासंघाको कार्यक्रम एनआरएनएको कार्यालयमा गरिनु निन्दनीय रहेको बताए । उनले केसीले निलज्ज तरिकाले संघको दुरुपयोग गरेको भन्दै आक्रोश समेत पोखे ।

यसैबीच शर्माले प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएका छन् । यस्तै आरके शर्मासहित उपाध्यक्ष गौतम, महासचिव सुवेदी र कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले पनि कार्यालयमा भएको कुटपिटको सम्बन्धमा छानबिन र सीसीटीभी फुटेज सुरक्षित गर्न माग गरेका छन् । उनीहरुले सहज वातावरण नभएसम्म एनआरएनए कार्यालय बन्द गर्न पनि माग गरेका छन् ।

यसैगरी महेश श्रेष्ठले संघको मुख्यालयभित्र भएकोआक्रमण खेदजनक रहेको बताएका छन् । उनले अहिले संघमा ठूलो विश्वासको संकट रहेको बताउँदै भनेका छन्, ‘संघको दशौं र एघारौं महाधिवेशण अत्यन्तैनमा भए गरिएका गतिविधिहरुले गिराएको एनआरएनएको साख आजको घटनाले झन गिराएकोछ । डर, धाकधम्की, बल प्रयोगले कुनै पनि समस्याको समाधान कदापी गर्न सक्दैन ।’ उनले आपसी छलफल र संवादका माध्यमबाट समस्या समाधानका लागि अगाडि बढ्न सबैसँग आग्रह गरेका छन् । सहमति, सहकार्य र एकताको आवश्यकता अहिलेको सन्दर्भमा झन वढेको उनको भनाइ छ ।

तर केसीले मंगलबारको घटनाबारे जानकारी नभएको बताउँदै आएका छन् । आफू कार्यक्रमस्थलमा रहँदासम्म कसैमाथि कुटपिट नभएको दाबी गर्दै त्यसपछि भएको विषय भने आफूलाई थाहा नभएको बताए । एमाले नेता बस्नेतसहितका युवासंघका नेता कार्यकर्ता बधाई दिनका लागि कार्यालयमा आएको उनको भनाइ छ । ‘बधाई दिन आउँदाखेरी साथीहरुले अवरोध गरेछन्, भिडियो खिचेछन्’, केसीले भने, ‘त्यही बीचमा सायद भिडियो नखिच्नुस् भन्दा कुनै एक जना पत्रकार भनिएका साथीले जबरजस्ती गरेपछि अवरोध गरेको मात्रै हो । अरु केही भएको छैन ।’

कार्तिक ३ गते एनआरएनएको नयाँ नेतृत्वका लागि भएको मतदानका क्रममा गम्भीर प्राविधिक त्रुटी भेटिएपछि विवाद बढेको हो । त्रुटीबारे दुई साताभित्र अनुसन्धान गर्ने र सत्य तथ्य सार्वजनिक गर्ने सहमति विपरित डा.केसी अघि बढेपछि महेश–आरके समूहले अलग्गै अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको थियो ।

तपाइँको प्रतिक्रिया