शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १०:३० |सिड्नीको समय: ०८:३० |काठमाडौंको समय: ०४:१५

कहाँबाट परिचालित छन् दुर्गा प्रसाईं ?

एएनजेड खबरडिसेम्बर ३, २०२३

काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिबेला चर्चाको शिखरमा छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई साक्षी राखेर ‘नागरिक बचाउने महाअभियान’ भन्दै नयाँ अभियान शुरु गरेका प्रसाईं जनजीवनसँग जोडिएका मुद्दाका कारण मात्र चर्चामा छैनन मुलुकको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने अभिव्यक्तिका कारण पनि चर्चामा छन् ।

सार्वजनिक रुपमा दलका नेताहरुलाई गाली गौलौजमा उत्रिने गरेका प्रसाईंको रुखो बोली र असाधारण शब्दका कारण पनि चर्चामा छन् । उनले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउन भन्दै अभियान सुरू गरेका उनले झापाको काँकडभिट्टास्थित मेची नदी किनारमा पहिलो कार्यक्रम गर्दा पूर्वराजा ज्ञानेन्द्र र उनका छोरा पूर्वयुवराज पारस शाह साथमै थिए ।

आठ बुँदे माग राखेर अभियान शुरु गरेका प्रसाईं आफैंमा धनाढय व्यक्ति त हुँदै हुन तर उनले संचालन गरिरहेको अभियानलाई खर्च कसरी व्यवस्थापन हुन्छ भन्नेमा धेरैलाई जिज्ञासा छ । मंसिर ७ गते काठमाडौंको बल्खुमा विशाल प्रदर्शन गरेर सरकार र राजनीतिक दललाई चुनौति दिएका प्रसाईंलाई विभिन्न निकायबाट परिचालित भएको आरोप लाग्ने गर्छ । भारत तथा नेपालका हिन्दुवादी, बैंक तथा लघुवित्तका ऋणि, भारतको उच्चस्तरीय निकायको सहयोगमा प्रसाईंले अभियान चर्काएको चर्चा छ ।

यसै सिलसिलामा प्रसाईंलाई भारतले आन्दोलनका लागि ५० करोड रुपैयाँ सहयोग गर्न लागेको खबर बाहिर आएको छ । पूर्व बालसैनिक लेनिन बिष्टले गरेको दाबी अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजितकुमार डोभालका स्वकीय सचिवले प्रसाईंलाई व्यक्तिगत रुपमा भेटेर ५० करोडको प्रस्ताव राखेक छन् ।

बिष्टले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आन्दोलनको पूर्ण रोडम्याप तयारी अवस्थामा रहेको बताएका छन् । उनले भनेका छन्,‘दुर्गा प्रसाईंको अभियानलाई भारतीय प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजितकुमार डोभालका स्वकीय सचिवले दुर्गा प्रसाईंलाई व्यक्तिगत रुपमै भेटी ५० करोड आर्थिकसहित आन्दोलनको पूर्ण रोड म्याप तयारी अवस्थामा छ ।’

त्यस्तै,शिवरात्रीको मौका छोपी भारतले आन्दोलन चर्काउनका लागि दुई लाख भारतीय बाबा, भिक्षु नेपाल पठाउन लागेको उनले उल्लेख गरेका छन् । उनी भन्छन्,‘अब हुने २०८० फागुन २५ को शिवरात्रीमा भारतीय बाबा, भिक्षुहरु भारतबाट दुई लाखसम्म नेपाल पठाउने र आन्दोलन चर्काउने रणनीति रहेको पाइन्छ ।’

यता,प्रसाईं नेतृत्वको ‘राष्ट्र,राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपाल’ ले फागुन १ गते वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गर्ने जनाएको छ । वसन्तपुरमा पूर्वराजा ज्ञानेन्द्रको हातबाट दियो बालेर व्यवस्था परिवर्तन गरिने महाअभियानको जिकिर छ । भारतको आरएसएसले पनि प्रसाईंको अभियानलाई साथ दिएको साथै आन्दोलनका लागि सीमावर्ती क्षेत्रका केही मान्छे पठाएर सहयोग गरिरहेको चर्चा छ ।

त्यतिमात्र होइन नेपालमा अस्थिरता र द्धन्द्ध निम्त्याउन अन्तर्राष्ट्रिय शक्तिहरुले प्रसाईंतिर नजर लगाएको अनुमान गरिन्छ । हिमानी शाहको हिमानी ट्रष्ट, दुबईका राजकुमार जुमा अल मोक्तुमले पनि प्रसाईंलाई आर्थिक सहयोग गर्ने गरेको चर्चा छ । तर प्रसाईं आफूलाई कतैबाट सहयोग र परिचालन नभै स्वाभिमानी साथै राजनीतिक दलहरुबाट अवाक भएका नेपाली जनताको साथ रहेको दाबी गर्दै आइरहेका छन् ।

प्रसाईंले उत्पातै मच्चाउन लागे भनेर काउन्टरमा उत्रिएको एमाले भने प्रसाईंका कारण विक्षिप्त अवस्थामा छ । एमाले अध्यक्ष केपी ओली र युवा संघका संस्थापक महेश बस्नेत विरुद्ध खनिएका प्रसाईंलाई ठिक पार्न एमालेले अपनाएको रणनीतिले एमाले स्वयमलाई ड्यामेज बनाउँदै लगेको विश्लेषण भइरहेको छ ।

अध्यक्ष ओली आफैंले उठाएको प्रसाईंविरुद्ध शक्ति प्रयोग गर्नुपर्ने अवस्था आफैंले निम्त्याएको विश्लेषण भइरहेको छ । प्रसाईंको तुलनामा एमालेजस्तो ठूलो दलका अनुशासित कार्यकर्ता उत्रिनु निकै लाजमर्दो कदम भएको बुझाइ छ । यद्यपी, जेसुकै भएपनि राजनीतिक पृष्ठभूमि प्रष्ट नभएको, अराजक, असंगठित प्रसाईंको अभियानले राजनीतिक उपलब्धि भने हासिल नहुने राजनीतिक विश्लेषकहरुको दाबी छ ।

तपाइँको प्रतिक्रिया