बिहीबार, जेठ ३, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: १९:२५ |सिड्नीको समय: १७:२५ |काठमाडौंको समय: १३:१०

प्रदेश मन्त्री सिंह भन्छन्- जाजरकोटमा ढुङ्गा र माटोबाट बनेका घरहरूको विकल्प सोच्दैछौं

एएनजेड खबरडिसेम्बर ४, २०२३

काठमाडौं । कर्णाली प्रदेश सरकारका आर्थिक प्रशासन तथा योजना मन्त्री वेदराज सिंहले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा रहेका सुत्केरी, नवजात शिशु, वृद्धवृद्धालगायत जोखिममा रहेका समुदायको जीवन रक्षा गर्न तीनै तहका सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

जय नेपाल फाउण्डेशनले आइतबार आयोजना गरेको भर्चुयल कार्यक्रमलाई संवोधन गर्दै मन्त्री सिंहले अहिले चिसो बढ्दै गएकाले जेष्ठ नागरिक, सुत्केरी र बालबालिकालाई जोगाउन अप्ठेरो परेको स्वीकार गरे। ‘न्यानो कपडा वितरण, घुम्ती स्वास्थ्य शिविर तथा अस्थायी टहरा निर्माण गरी जोखिममा रहेका जनताको ज्यान जोगाउन प्रदेश सरकारले सबै प्रयासहरु जारी राखेको छ,’ मन्त्री सिंहले भने ।

जाजरकोट जिल्लाको आफ्नै गाउँ भूकम्पको केन्द्र भएको बताउंदै उनले उद्धार तथा राहत वितरणमा संलग्न सबैलाई धन्यवाद दिए । ‘सरकार पुनः निर्माणको काममा समेत लागेको छ। आवश्यक श्रोत साधनका लागि संघीय सरकार, दातृ संस्था तथा प्राविधिक परामर्शका लागि स्वदेश र विदेशमा रहेका विज्ञहरुबाट हामीले सहयोगको अपेक्षा गरेका छौं,’ मन्त्री सिंहले भने ।

यस क्षेत्रमा ढुङ्गा र माटोबाट बनेका घरहरू भूकम्पबाट असुरक्षित रहेको हुँदा दीर्घकालीन रूपमा तिनलाई हटाइ भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने प्रदेश सरकारको सोचाइ रहेको पनि उनले बताए ।

त्रिचन्द्र क्याम्पस भूगर्भ विभागका प्रमुख डा. सुबोध ढकालले इन्डियन र तिब्बतियन प्लेटको विचमा रहेकाले नेपाल जहिले पनि भूकम्पको उच्च जोखिममा रहेको बताए । ‘सन् १५०५ पछि पश्चिम नेपालमा ठूलो भूकम्प गएको छैन । अब हामीले भूकम्प प्रतिरोधात्मक क्षमताका घरहरु निर्माण गर्नलाई जोड दिनुपर्छ । त्यसका लागि सरकारले बनाएको नीति नियमहरु कार्यान्वयन गरेर अघि बढ्नु पर्छ । यसैगरी भूकम्पको विषयमा जनचेतना जगाउनका लागि काम सुरु गर्नु पर्छ,’ उनले भने ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)संग आबद्ध भूकम्पविद् डा.शिव सुवेदीले सन् २००३ मा इरानमा ६.६ म्यग्निच्युडको भूकम्प जाँदा ३४ हजारको ज्यान गयो भने २०१६ मा न्युजिल्यान्डमा ७.७ म्यग्निच्युडको भूकम्पमा जम्मा ५७ जनाको ज्यान गएको बताए ।

गोरखा र जाजरकोटमा गएको भूकम्पको तुलना गर्दा घर निर्माण गर्दा प्रयोग गरिएको तरिका तथा सामाग्रीहरू नै धेरै क्षति हुनुको प्रमुख कारण रहेको पाइएको उनले बताए । नेपालमा पनि भूकम्प पूर्व सूचना प्रणाली विकास गर्न सके कुनै ठाउँमा भूकम्प जाँदा देशैभर तुरुन्त यस सम्बन्धी जानकारी पुग्ने र ठूलो क्षति हुनबाट जोगाउन सकिने उनको भनाइ थियो ,

अमेरिकन सोसाइटी अफ नेपाली इन्जिनियर्स ग्रेटर ह्युस्टन च्याप्टरका सल्लाहकार डा.राजेन्द्र श्रेष्ठले चिलीमा हैटीमा भन्दा शक्तिशाली भूकम्प जाँदा समेत भूकम्पको लागि पूर्व तयारी भएको कारण धेरै कम क्षति भएको बताए । ‘हाम्रो हिमाली क्षेत्र भूकम्पको धेरै जोखिममा रहेकाले अन्य देशहरूको अनुसरण गर्दै अहिले देखि नै पूर्व तयारीमा लाग्नु पर्ने आवश्यकता छ,’ उनले भने ।

क्यानाडास्थित बिजीसी इन्जिनियरिङ इङ्कसंग आबद्ध जियोटेक्निकल इन्जिनियर डा.केशव शर्माले नेपालमा सन् २०१५, चिलीमा सन् २०१० र २०१४ मा गएको भूकम्पको तुलना गर्दा चिलीमा कम क्षति हुनुमा चिलिले हरेक पटक भवन कोडमा सुधार गर्दै जानु मुख्य कारण रहेको बताए ।

अष्ट्रेलियास्थित वैज्ञानिक डा.राजु अधिकारीले प्राकृतिक प्रकोप पश्चात मानसिक रूपमा पर्ने असर कम गर्न मनोपरामर्श सेवा प्रदान गर्नु पर्ने बताए । भू(प्राविधिक समाज, नेपालका अध्यक्ष डा.मन्दिप सुवेदीले संस्थागत विकासको लागि बढी ध्यान दिनुपर्ने तथा गाउँको साधारण व्यक्तिले समेत बुझ्ने गरी योजना तयार गर्न जरुरी रहेको बताए ।

अमेरिकाको नेभादा विश्वविद्यालयमा पोस्ट डक्टरल स्कलर डा.सतिश मानन्धरले नेपाल, टर्की र न्युजिल्याण्डको उदाहरण दिँदै ठूलो भूकम्प पश्चात सोही स्थानमा पराकम्पन आउन सक्ने र त्यसले धेरै क्षति पुर्याउन सक्ने जोखिम रहेको बताए ।

उर्जा मन्त्रालयका पूर्व सहसचिव इन्जिनियर मोती बहादुर कुँवरले जाजरकोटमा गएको भूकम्प पश्चात आएको पराकम्पनले पचास हजार भन्दा बढी घरमा क्षति पुगिसकेको हुँदा यस तर्फ ध्यान दिन जरुरी रहेको बताए ।

कार्यक्रमका सभापति तथा जय नेपाल इन्टरनेशनल फाउन्डेशनका अध्यक्ष डा.यादव पण्डितले सेमिनारमा प्रस्तुत विषयहरूलाई समेटेर थप छलफल तथा कार्यान्वयनको लागि एक प्रतिवेदन तयार गर्ने तथा आगामी दिनमा समेत यसलाई निरन्तरता दिने बताए । डा. नीरज श्रेष्ठले उक्त कार्यक्रमको संचालन गरेका थिए ।

तपाइँको प्रतिक्रिया