बिहीबार, जेठ ३, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ०१:२३ |सिड्नीको समय: २३:२३ |काठमाडौंको समय: १९:०८

अष्ट्रेलिया भ्रमणबाट सुनिता डंगोलले सिकेका रोचक कुरा

एएनजेड खबरडिसेम्बर ४, २०२३

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले १० दिन अष्ट्रेलियाको भ्रमण गरिन । अष्ट्रेलियाको वैदेशिक मामिला मन्त्रालयको निम्तामा त्यहाँ पुग्दा नेपालले धेरै कुरा सिक्नुपर्ने प्रतिक्रिया दिएकी छन् ।

सिड्नी, क्यानबेरा मेलबर्न र होबार्ट शहरको भ्रमण गर्दा उनले नेपालमा गर्न सकिने कामका बारेमा विभिन्न संचारमाध्यमहरुमा संक्षिप्त कुराकानी गरेकी छिन् । विशेषगरी अष्ट्रेलिया र नेपालमा पालना गरिने नियम कानुनमा ठूलो अन्तर रहेको प्रतिक्रिया दिएकी छन् । काठमाडौंको फोहर व्यवस्थापनलाई दिगो विकासमा रुपान्तरित गर्न अष्ट्रेलियाका सहरहरुबाट प्रशस्त सिक्न सकिने बताइन ।

‘रियुज, रिसाइकल र रिड्युस कन्सेप्टमा वेस्ट म्यानेजमेन्ट साथै फोहर संकलन गर्दाखेरी घरमा छुट्याउने कामबाट प्रभावित भएँ । अष्ट्रेलियाका हरेक घर, बाटो बाटोमा ग्रीन, एल्लो र रेड गरेर तीन खालका विनहरु साथै नागरिकहरुको चेतनास्तर राम्रो रहेको पाएँ,’ उनले भनिन, ‘ठाउँ ठाउँमा धारा र सडक पेटीमा पिउने पानीको व्यवस्थाबाट हामीले सिक्नुपर्छ ।’

अष्ट्रेलियाको विकास र सिष्टमबाट नेपालका तीन तहको सरकारले प्रशस्त सिक्नुपर्ने उनको धारणा छ । को–अपरेसन, कोल्यावरेसन र कोएक्जिस्टेन्स गरी ‘थ्री–सी’को फर्मूलामार्फत काम गर्न सकिने उनको बुझाइछ । सार्वजनिक यातायात र निजी सवारी साधनका बारेमा पनि उपमेयर डंगोलले प्रशस्त सिक्न पाएको प्रतिक्रिया दिएकी छिन । मास ट्रान्सपोर्ट एकदमै सिस्टम्याटिक रहेछ ।

केभिसी खबरसँगको कुराकानीका क्रममा उनले भनेकी छिन्,‘धेरै जनाले आफ्नो गाडी ल्याउनुभन्दा सार्वजनिक यातायात प्रयोग गरेको देख्दा हामीले पनि काठमाडौँमा रिप्लिकेन्ट गर्नुपर्छ भन्ने फिल भएको छ। हामीले पनि काठमाडौँमा सार्वजनिक यातायातमा लगानी बढाउने प्रक्रियामा छौँ। हामी पीपीपी अर्थात् पब्लिक, प्राईभेट पार्टनरशिप मोडलमा पनि गएका छौँ। काठमाडौं जस्तो घना जनसंख्या भएको ठाउँमा त अबको विकल्प भनेको मास ट्रान्सपोर्ट नै हो।’

डंगोलले आफूले भ्रमण गरेका सिटीसँग सिष्टर सिटीका रुपमा काम गर्न चाहेको बताइन । ‘मल्टिकल्चर अथवा कल्चर एक्सचेन्ज एकदमै महत्वपुर्ण छ भन्ने मलाई लाग्छ। पल्टिकल लेवलमा हेर्ने हो भने क्यानबेरा देखिन्छ। एकदमै ह्यापिनिङ सिटीको रुपमा हेर्ने हो भने सिड्नी र मेलबर्न छ। यहाँ नेपालीहरुको जनसंख्या एकदमै धेरै भएकोले यी दुई सिटी पनि काठमाडौँ महानगरको सिस्टर सिटीमा उपयुक्त छन्। यी सबै सिटीसँग काठमाडौँ महानगरले सिस्टर सिटीको बारेमा कुरा पनि गरेको छ,’उनले उक्त कुराकानीमा भनेकी छिन् ।

उपमेयर डंगोलले अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुबीच भाइचाराको सम्बन्धबारे खुलेर प्रशंसा गरेकी छिन् । नेपाली समूदायले गरिरहेको काम र विभिन्न क्षेत्रमा नेपालीहरुले गरेको योगदानको खुलेर प्रशंसा गरिन । अष्ट्रेलियाको सामाजिक, स्वास्थ्य, पर्यटन, सांस्कृतिक क्षेत्रमध्ये कुनै एक क्षेत्रबाट काठमाडौंसँग सहकार्य गर्न सकिने उनको भनाइ छ । अर्का संचारकर्मी सरल गुरुङसँगको कुराकानीमा डंगोलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आँखाभरी आँशु पारेर अष्ट्रेलिया उड्न लागेका युवाहरुप्रति सदभाव व्यक्त गरिन । उनले अष्ट्रेलियाको नीति र कानुनबाट प्रभावित भएको सुनाइन ।

भ्रमणमा अस्ट्रेलियाका विभिन्न सहरमा रहेका खनिज तथा ऊर्जा, कृषि पर्यटन, विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रहररुको उनले अवलोकन गरिन । १० दिन लामो भ्रमणपछि उनी मंसिर १७ गते आइतबार स्वदेश फर्कने पूर्वतालिका थियो ।

तपाइँको प्रतिक्रिया