बिहीबार, जेठ ३, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ००:५४ |सिड्नीको समय: २२:५४ |काठमाडौंको समय: १८:३९

एनआरएनए निर्वाचनमा धाँधली भएको दर्जनौं प्रमाणसहित आरके शर्मा परराष्ट्रमा

एएनजेड खबरडिसेम्बर ५, २०२३

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनका क्रममा भएको अनलाइन भोटिङ सिस्टममा धाँधली भएको भनी बेग्लै महाधिवेशनमार्फत अध्यक्ष बनेका आरके शर्माले संस्थाभित्र भएको एकाधिकारपूर्ण निर्णय र क्रियाकलापहरु सार्वजनिक गरेका छन् । तत्कालीन कार्यकारी अध्यक्ष बद्री केसीले गरेको त्रुटीका सन्दर्भमा परराष्ट्र मन्त्रालयमा उजुरी समेत परेको छ । १४०६ दर्ता नम्बरमा मंसिर १२ गते शर्माले उजुरी दर्ता गरेका हुन् ।

असोज ३० गतेदेखि काठमाडौमा भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि र्काितक २ गते भएको मतदानका क्रममा कार्यकारी अध्यक्ष एवम अध्यक्षका उम्मेदवार केसी समूहले गरेका धाँधलीका फेहरिस्त उनले सार्वजनिक गरेका हुन ।

भौतिक उपस्थितिमा साथै अनलाइन मतदानमा अष्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेशन पद्धति प्रयोग गरी भएको मतदानमा अनलाइन सिस्टम कब्जा गर्नु मात्र नभइ प्रतिनिधि चयनलगायतका काममा व्यापक अनियमितता गरेको तथ्यहरु सार्वजनिक गरेका हुन । मतदानका क्रममा धाँधली भएपछि अध्यक्षका प्रतिस्पर्धी महेशकुमार श्रेष्ठ र आरके शर्माले मत परिणाम अस्वीकार गरेका थिए । त्यसपछि शर्माको नेतृत्वमा एनआरएनएले विभिन्न गतिविधिहरु गरिरहेको छ ।

शर्माले अनलाइन मतदानका क्रममा मात्र नभइ ११औं महाधिवेशनका लागि प्रतिनिधि चयन प्रकृयामा कार्यकारी अध्यक्षको दुरुपयोग गरी विधान विपरितका गतिविधिहरु र त्रुटिहरु रहेको औंल्याएका छन् । अध्यक्ष शर्माले विभिन्न देशमा भएका विधान विपरितका गतिविधिहरुलाई बुँदागत रुपमा सार्वजनिक गरेका छन् । साथै मतदानका क्रममा परिणामलाई नै प्रभावित पार्र्नेगरी भएका गम्भीर प्राविधिक त्रुटीहरुलाई बुँदागत रुपमा सार्वजनिक गरेका हुन् ।

संघको विधान २००३(२०२२ संसोधन सहित)को दफा १३ः७ अनुसार राष्ट्रिय समन्वय परिषदको सदस्यता वितरण र निर्वाचनको सुपरिवेक्षण गर्न वहालवाला अध्यक्ष , सम्वन्धित क्षेत्रका क्षेत्रीय संयोजक र अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयले सिफारिश गरेको एक जना सदस्य सहितको समितिको व्यवस्था अनिवार्य हुनुपर्नेमा एनसीसी रसिया, एनसीसी किर्गिस्थान लगायतका देशहरुमा विधान मुताविक नभएको शर्माको ठहर छ ।

विधानको अनुसूची ६ को दफा ४ मा विधानको तोकिएको अवधी भित्र राष्ट्रिय समन्वय परिषदले प्रतिनिधि चयन गर्न नसकेमा प्रधिनिधिको चयन अनुसूची ६ (क) को दफा १ को उपदफा (१) (२) (७) र (८) अनुसार योग्यता पुगेका प्रतिनिधिहरुको मात्र चयन गर्नुपर्नेमा दक्षिण अफ्रीका र नाइजेरियामा विधान विपरित प्रतिनिधि चयन गरिएको शर्माको दाबी छ ।

अन्तर्रााष्ट्रिय महाधिवेशन प्रतिनिधि व्यवस्थापन सम्वन्धी निमावलीको दफा ३ को उपदफा (५) र (६) मा भएको व्यवस्था अनुसार एनसीसी रसियाको प्रतिनिधि चयन उक्त विधानमा व्यवस्था भए वमोजिम नभएको साथै प्रतिनिधि व्यवस्थापन सम्वन्धी निमावलीको दफा ३ को उपदफा (५) अनुसाार अन्तर्रााष्ट्रिय महाधिवेशन हुने वर्षको अगष्ट १० देखि २० तारिखसम्म प्रतिनिधिको लागि आवदेन आव्हान गरिनुपर्ने व्यवस्था गरिएको साथै दफा ३ उपदफा (६) अनुसाार प्रतिनिधिको लागिआवदेन संघले निर्माण गरेको एमआइएसबाट गर्नु पर्ने भनिएपनि विधानको अनुसूची ६(क) को दफा २ अनुसार चयन हुने वढीमा १० प्रतिशत प्रतिनिधिहरु मात्र प्रतिनिधिहरुका लागि आवेदन नखुलाइ एमआइएमा दर्ता नगराइकन पनि प्रतिनिधि वन्न पाउने व्यवस्था भएकोमा एनसिसि रसियाका ९९ जना प्रतिनिधि मध्ये ५४ जना प्रतिनिधिले मात्र संघको एमआइएसमा दर्ता गरिएकोले उक्त ५४ जना र विधानको अनुसूची ६(क) अनुसार चयन भएका १० प्रतिशत प्रतिनिधि वाहेक अन्य प्रतिनिधि विधान विपरित प्रतिनिधि वनाइएको उनको ठहर छ ।

प्रशस्त छन कमजोरी

शर्माले विश्वका विभिन्न देशमा डा.केसीको निर्देशनमा विधि र विधान मिच्ने काम भएको प्रष्ट पारेका छन् । विधानको दफा २४ः१ र प्रतिनिधि व्यवस्थापन सम्वन्धी निमावलीको दफा ३ को उपदफा ७ अनुसार ३१ अगष्ट, २०२३ अगाडि प्रतिनिधिको नामावली सम्वन्धित एनसीसी अध्यक्ष र महासचिवको हस्ताक्षर सहित केन्द्रमा पठाउनुपर्ने स्पष्ट व्यवस्था गरिएता पनि एनसीसी कोरिया, युएई, अस्ट्रेलिया, माल्टा, युकेका प्रतिनिधिहरु विधानको दफा २४ः१ र प्रतिनिधि व्यवस्थापन सम्वन्धी निमावलीको दफा ३ को उपदफा ७ विपरित ३१ अगष्ट, २०२३ अगाडि पठाइएको प्रतिनिधिलाई नियतवस अस्वीकार गरी कार्यकारी अध्यक्षको अधिकार दुरुपयोग गरी ३१ अगष्ट , २०२३ पछि आफू अनुकुल पठाउन लगाइएको नामावलीलाई प्रतिनिधि वनाइएको शर्माले प्रमाण जुटाएका छन् ।

विधानको दफा २१ः९ अनुसार संघको सदस्यता वितरण, प्रतिनिधि छनोट तथा निर्वाचन लगायत विविध विषयमा विवाद आएमा समाधान गर्न न्यायिक आयोग मार्फत गरिनु पर्नेमा विधान विपरितको संरचनाले विवाद समाधान गर्न खोजिएको, कार्यकारिणी अध्यक्षले आफ्नो अधिकारको दुरुपयोग गरी आफू अनुकूल प्रतिनिधी चयन नभएसम्म एनसीसी युएइ, कोरिया, माल्टा, युके, अस्ट्रेलियाका प्रतिनिधिलाई अस्वीकार गरिएको शर्माको आरोप छ ।

एनसीसी युएइमा तत्कालिन तत्कालीन अध्यक्ष केसीका ३२ जना आफ्ना मान्छेलाई प्रतिनिधि वनाएपछि मात्र एनसीसीका प्रतिनिधिहरुलाई स्वीकार गरिएको शर्माको आरोप छ । अमेरिकाको ९० प्रतिशत प्रतिनिधि विधानको दफा ६ (क) को उपदफा १ वमोजिम चयन गरिनु पर्नेमा तत्कालिन कार्यकारी केसीले आफ्नो अधिकारको दुरुपयोग गरी युएसएबाट २४ जना प्रतिनिधि विधानको दफा ६ (क) को उपदफा १ विपरित चयन गरिएको शर्माले प्रमाण जुटाएका छनन् । त्यस्तै विधानको ५ः१ विपरित विदेशमा दुई वर्ष अवधी नपुगेका र विदेशी मूलका व्यक्तिलाई पनि प्रतिनिधि वनाइएको प्रमाण आफूसँग रहेको शर्माले ठोकुवा गरेका छन् ।

निर्वाचनका त्रुटीहरुको फेहरिस्त

२० अक्टोबर २०२३ मध्य राती घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण रहेको भन्दै परिणाम अस्वीकार गरेका अध्यक्ष शर्माले मतदान प्रक्रिया र परिणामका विषयमा प्रशस्त त्रुटीहरु फेला पारेको दाबी गरेका छन् । उपाध्यक्षका उमेदवार केशव पौडेलको नेपालबाट खसेको मत शुन्य हुनुलाई शर्माको समूहले गम्भीर त्रुटी औंल्याएको छ ।

डा.केसी समूहले उक्त विषयमा पहिलो स्पष्टिकरणमा ग्लोवल र लोकल मत पत्रमा नाम फरक भएको भनिएता पनि पछि मत पत्र चेक गर्दा नाममा फरक नभएको देखिएको तर पछिको स्पष्टिकरणमा ‘सिस्टम ब्याकइन’मा ‘इन्ट्रीगेसन मिस्टेक’ भएको भनिए पनि उक्त स्पष्टिकरणले सिस्टम प्रति नै झन गम्भीर आशंका पैदा गरेको उनको ठहर छ । ‘इन्ट्रीगेसन मिस्टेक’ मा अन्य नामहरुमा पनि गल्ती भएको हुनसक्ने शर्माको दाबी छ ।

त्यस्तै सिस्टमको फिचर अनुसार सवै पदाधिकारीको मत संख्या अनिवार्य वरावर हुनु पर्नेमा फरक फरक भएको, नेपालमा आउने प्रतिनिधिहरु अनिवार्य सोल्टी होटलको वुथवाट मतदान गर्नुपर्ने वाध्यात्मक व्यवस्था गरिएकैले नेपालबाट खसेको मत र सोल्टी होटलवाट खसेको मत समान हुनुपर्नेमा फरक भएकोप्रति आपत्ति जनाइएको छ ।

विधानको दफा २१ः७ अनुसार अन्तर्राष्ट्रिय महाधिवेसन प्रतिनिधि छनोटको प्रक्रिया सुरु भएपछि निर्वाचनमा प्रभाव पार्नेगरी कुनै पनि निमावली परिवर्तन वा परिमार्जन गर्न नपाइने व्यवस्था भए पनि निर्वाचन निमावलीमा व्यापक परिवर्तन गरिएको शर्मा समूहको आरोप छ । अनलाइन भोटिङको फेस भेकिफिकेसनको रिजोलुसनलाई निर्वाचनको केही घण्टा पछि ९९ प्रतिशतबाट घटाएर ६५ प्रतिशत वनाउनुले निर्वाचनको स्वच्छतामा गम्भीर आशंका थपेको उनको ठहर छ ।

फेस भेरिफिकेसनको रिजोलुसन ८० प्रतिशत भन्दा कम गरिनु भेस भेरिफिकेसनको अन्तराष्ट्रिय मापदण्ड विपरित भएको र निर्वाचनको वीचमै यसरी निर्वाचनको प्रकृया परिवर्तन गरिनु निर्वाचन निमावलीको पनि उल्लंघन भएको दाबी छ । सोल्टी होटलमा मतदान गर्नका लागि प्राप्त भएको युजर आइडी र पासवर्ड निर्नाचनमा खटिएका कर्मचारीवाट पुनः फिर्ता लिनुले उक्त पासवर्डको दुरुपयोग गरिएको हुन उनले आशंका व्यक्त गरेका छन् ।

नेपालमा आइसकेका प्रतिनिधिहरुको नामवाट विदेशवाटै अर्कैले मतदान गरिसकेको केही प्रमाणले अनलाइन भोटिङ सिस्टमको विश्वासनियतामा गम्भीर आशंका पैदा गरेको साथै निर्वाचनमा नेपालको समय राती १२ वजे सम्म ‘जुम’ माध्यमवाट पनि मतदान गर्ने व्यवस्था गरिएता पनि १२ वजे अगावै ‘जुम’ भित्र प्रवेश भैसकेका ५४ जना प्रतिनिधिलाई मतदानवाट वञ्चित गरिएको शर्मा समूहको आरोप छ ।

मत शुन्य भए पश्चात निर्वाचन समितिले समेत निर्वाचन परिणाममा आशंका व्यक्त गर्दै अर्को सुचना नभएसम्मका लागि निर्वाचन परिणाम घोषणालाई स्थगित गरेको र भोलीपल्ट तीन जना तत्कालिन वहालवाला अध्यक्षहरुले सहमतिमा निर्वाचनका सवै प्रकृया स्थगित गरी दुइ हप्ता भित्र निश्पक्ष छानविन समिति वनाई सत्य तथ्य पत्ता लगाउने निर्णय गरि विज्ञप्ती निकालेको भएपनि पालना नगरेको उनको आरोप छ ।

शर्मा समूहले निर्वाचन अनुगमन समितिले समेत महाधिवेसन प्रतिनिधि चयन विधान विपरित भएको र निर्वाचनमा अनियमिता भएको प्रतिवेदन पेश गरेको खण्डमा मिति २०८० मंसिर ६ गतेको नेपाल प्रहरीको सिआइबीको प्रतिवेदनमा पनि निर्वाचन निश्पक्ष तरवबाट नभइ म्यानुपुलेट भएको संभावना व्यक्त गरिएको अवस्थामा निर्वाचन निष्पक्ष नभएको प्रष्ट पारेको छ ।

साथै शर्माले निर्वाचनको निश्पक्षताका सन्दर्भमा गम्भीर आशंका देखिएकोले परराष्ट्र मंत्रालयले गैरआवासीय नेपाली सम्वन्धी निमावलीको दफा १६ को अधिकार प्रयोग गरी एक स्वतन्त्र छानवीन समिति वनाई सत्यतथ्य पत्ता लगाइ संघमा रहेको विवाद अन्त्यका लागि अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

तपाइँको प्रतिक्रिया