शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०६:३५ |सिड्नीको समय: ०४:३५ |काठमाडौंको समय: ००:२०

के स्वदेशको सम्पत्ति बेचेर नेपालीले अष्ट्रेलियामा १७ अर्ब ५८ करोडको घरजग्गा किनेका हुन् ?

एएनजेड खबरडिसेम्बर ६, २०२३

काठमाडौं । पछिल्लो समय अध्ययन ,रोजगारी तथा व्यवसायका लागि विदेशिएकाहरुले जहाँ जान्छन् त्यहीँ घरजम गर्ने क्रममा नेपालबाटै पैसा उतै लाने गरेको तथ्यहरुश्र सार्वजनिक भइरहेका छन् ।

घर व्यवस्थापनका लागि रोजीरोटी मजबुत बनाउन खाडी लगायतका मुलुकमा मजदुरी गर्न जानेहरुको पैसा नेपालमै आए पनि महत्वाकांक्षा बोकेका र सकभर विदेशमै बस्ने लक्ष्य राखेकाहरुले नेपालमा भएको पैसा पनि सोहोरेर उतै लैजाने गरेको पाइएको हो ।

पछिल्ला केही जोडी वर्षदेखि निकै आकर्षणको देश बनेको अष्ट्रेलियामा पर्मानेन्ट रेसिडेन्सी (पीआर) प्राप्त गरेपछि बस्ने एउटा घर हुनुपर्छ भन्ने मान्यता राखेकै कारण नेपालमा भएको पुर्ख्यौली सम्पत्ति बेचेरै भए पनि घर बनाइरहेको खुलेको हो ।

नेपालमा भविष्य नै छैन भनेर सोच्ने युवा र उनीहरुका अभिभावकका कारण पुर्ख्यौली सम्पत्ति बेचेरै भए पनि सुविधा सम्पन्न अष्ट्रेलियामा घर घडेरीको जुगाड गर्ने गरेको पाइएको हो । तर

अष्ट्रेलियाको विदेशी लगानी नियामक निकायको ट्रेजरी डिपार्टमेन्टले हालै सार्वजनिक गरेको वैदेशिक लगानी सम्बन्धी प्रतिवेदनमा अष्ट्रेलियाको घर–जग्गा व्यवसायमा नेपालीको ठूलो लगानी रहेको जनाइएको छ ।

सन् २०२२ को जुलाई १ तारिखदेखि २०२३ को जुन ३० सम्मको अवधिमा २० करोड डलर नेपालबाट अष्ट्रेलिया भित्रिएको र उक्त रकम त्यहाँको घर–जग्गा व्यवसायमा लगानी गरिएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । यो रकम भनेको १७ अर्ब ५८ करोड ६० लाख रुपैयाँ हो ।

यो अवधिमा अष्ट्रेलियाको घर–जग्गा व्यवसायमा नेपालीहरुले आफूलाई सातौँ ठूलो लगानीकर्ताको रुपमा उभ्याएका छन् । अष्ट्रेलियाको घर–जग्गा व्यवसायमा चीन, हङकङ, भियतनाम, ताइवान, भारत र सिंगापुरपछि ठूलो लगानी नेपालको रहेको छ । अष्ट्रेलियाको घरजग्गा व्यवसायमा लगानी गर्ने प्रमुख १० राष्ट्रमा नेपालले इन्डोनेसिया, बेलायत र मलेसियालाईसमेत पछाडि पारेको छ ।

पछिल्लो एक वर्षमा अष्ट्रेलियामा घर–जग्गा कारोबारका लागि नेपालीको २ सय ८१ वटा प्रस्ताव पास भएको थियो भने २०२३ को अप्रिल, मे र जुनमा मात्र नेपालीले १० करोड डलर लगानी गरेको पाइएको छ । उक्त अवधिमा मात्र नेपालीहरुको घरजग्गा किन्ने ८८ वटा प्रस्ताव स्वीकृत भएको प्रतिवेदनमा समेटिएको छ ।

लगानीको अभावमा नेपालभित्र घरजग्गा कारोबार सुस्ताइरहेको बेला अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीले ठूलो लगानी गरेको यस्तो तथ्यांकलाई आश्चर्यजनक रुपमा हेरिएको छ ।

अष्ट्रेलियाको पीआर र नागरिकता लिइसकेकाहरुका हकमा यस्तो लगानीलाई बैदेशिक लगानी भनिदैन तर अस्थायी भिसामा रहेका नेपालीहरुले गरेको उक्त लगानी विदेशी मुद्राका रुपमा चिनिन्छ । तर उक्त रकम कसरी भित्रियो भन्ने विषयमा ब्यापक बहस भइरहेको छ । कतिपयले उक्त रकम गैर कानूनी रुपमा नेपालबाट भित्रिएको अनुमान गरेका छन भने सबै रकमलाई गैर कानूनी भन्न नसकिने कतिपयको दाबी छ ।

यद्यपी, नेपालमा गैर कानुनी रूपमा कमाएको सम्पत्ति अवैध बाटो अर्थात हुण्डीको माध्यमबाट छोरा छोरीको नाममा बिदेश पठाउने चलन कायम छ । विचौलिया वा विभिन्न अवैध माध्यमबाट पैसा अष्ट्रेलिया पुगेको अनुमान गरिन्छ । राज्यले एन्टी मनी लन्डरिङ अन्तगर्त बिभिन्न नियम र कानुन बनाए पनि यसको पालना गर्ने राष्ट्र बैंकसँग संयन्त्र नभएका कारण हुन्डीजस्ता कारोबार बढेको बताइन्छ ।

नेपालको सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी विषयमा अन्य देश र अन्तर्राष्ट्रिय संघसंस्थाले पनि चासो व्यक्त गरिरहे पनि प्रभावकारी कानुनको अभाव रहेको औंल्याइएको छ । गैरआवासीय नेपालीको पहिचान बनाएका कतिपयले विदेशस्थित ‘ट्याक्स हेवन’ मुलुकमा लगानी गरेको चर्चा हुने गरेको छ । तर सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन नियमहरु संशोधन गर्न नसक्दा नेपालको सम्पत्ति विदेश पलायन रोक्न नसकिने विश्लेषकहरुको भनाइ छ ।

तपाइँको प्रतिक्रिया