मंगलबार, जेठ ८, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: ११:१५ |सिड्नीको समय: ०९:१५ |काठमाडौंको समय: ०५:००

अष्ट्रेलियामा विदेशी भिसामा कडाइ, कोभिडपूर्वकै अवस्थामा लैजान नयाँ नीति लागु हुँदै

एएनजेड खबरडिसेम्बर १२, २०२३

एजेन्सी । अष्ट्रेलियाले अध्यापन र अल्पसीप भएका विदेशी नागरिकलाई भिसा सम्बन्धी नियम थप कसिलो बनाउने नीति अवलम्बन गर्ने भएको छ । नेपालीहरुको सर्वाधिक रोजाइको देश अष्ट्रेलियाले यस्तो माइग्रेसन नीति लिएसँगै नेपाली विद्यार्थीहरु मारमा पर्ने निश्चित छ ।

विदेशी विद्यार्थीलाई सहज रुपमा भिसा दिँदै आएको अष्ट्रेलियाले पछिल्लो समय क्रमशः भिसासम्बन्धी नियम कठोर बनाउँदै लगेको त्यहाँका गृहमन्त्री क्लेर ओनिलले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । अष्ट्रेलियाको आप्रवासन प्रणालीलाई पुनःसामान्य अवस्थामा झार्न यस्तो नीति लिइएको उनले जनाए । कोभिडपूर्वको अवस्थामा लैजान नयाँ नीति लिइएको उनको भनाइ छ ।

आगामी दुई वर्षमा आप्रवासीको आगमन आधामा झार्न विदेशी विद्यार्थी र अल्पसीप भएका कामदारका लागि दिइने भिसा नियम कसिलो बनाउन लागिएको हो । नयाँ नीति अन्तरगत विदेशी विद्यार्थीहरुले अंग्रेजी भाषा परीक्षामा उच्च अंक ल्याउनु पर्नेछ । विद्यार्थीले अष्ट्रेलिया बसाई लम्ब्याउन दिने दोस्रो भिसा आवेदनको प्रक्रियामा पनि थप कडाई गरिनेछ ।

त्यहाँको सरकारले विदेशी विद्यार्थीहरुकोको संख्या घटाउन, एक पटक टीआर भिसामा गइसकेपछि फेरि अष्ट्रेलियाबाटै एप्लाइ गर्न नपाइने, टीआर पाएकाको हकमा दुइबर्षको अवधी हटाइने, विद्यार्थी भिसामा रहेका विद्यार्थीलाई फेरि एप्लाइ गर्दा थप अनुसन्धान गरिने, जिटीको ठाउँमा जिटीए लागु गरिने, माथिल्लो कोर्ष पढिरहेकाहरुलाई तल्लो कोर्ष पढ्न प्रतिबन्ध लगाइने, आइएलटीएसलाई ५.५ लाई बृद्धि गरेर ६ अंक अनिवार्य गरिने साथै टीआर भिसालाई ६ बाट बढाएर ६.५ अंक अनिवार्य ल्याउनुपर्ने नीति अवलम्बन गरिने भएको हो ।

सन् २०२२–२३ मा अष्ट्रेलियामा अहिलेसम्मकै सबैभन्दा धेरै ५ लाख १० हजार विदेशीहरु गएका थिए । खासगरी विदेशी विद्यार्थीको आगमनमा भएको वृद्धिका कारण यो संख्या बढेको हो । कोभिडको बेलामा सीमामा गरिएको कडाइबिच दुई वर्षसम्म अष्ट्रेलियामा विदेशी विद्यार्थी र कामदारहरु जान पाएका थिएनन् । यसका कारण श्रम बजारमा देखिएको श्रमिक अभावको पूर्ति गर्न गएको वर्ष अष्ट्रेलियाले आप्रवासीको संख्या बढाएको थियो ।

तपाइँको प्रतिक्रिया