सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: १०:४७ |सिड्नीको समय: ०८:४७ |काठमाडौंको समय: ०४:३२

गैर आवासीय नागरिकता कार्यान्वयनका जटिलता र तत्काल गर्नुपर्ने काम

एएनजेड खबरडिसेम्बर १४, २०२३

–कुल आचार्य

२० वर्ष पहिले गैर आवासीय नेपाली संघको स्थापना भएदेखि नै हामीले सुरुमा दोहोरो नागरिकता र पछि नागरिकताको निरन्तरताको माग गर्दै आएका थियौं। उक्त माग अहिले आंशिक रुपमा भएपनि पुरा भएको छ। संविधानमा व्यवस्था भएको गैर आवासीय नेपाली नागरिकता गत अक्टोबर १५ मा पर्बतबाट जारी भै गत अक्टोबर १७ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट प्राप्त गरी त्यस्तो नागरिकता पाउने पहिलो एनआरएन हुन पाउँदा स्वाभाविक रुपमै म गौरवान्वित भएँ । केही भावुक भएँ। तर आफूले बंशजको आधारमा प्राप्त गरेको नेपाली नागरिकता त्याग्नुपर्दा दुःख पनि लाग्यो । गैर आवासीय नेपाली नागरिकतासंगै हाम्रा भावी सन्ततीलाई अब नेपालसँग जोड्ने बाटो खुला भएको छ । जुन गैर आवासीय नेपाली नागरिकता संविधानले व्यवस्था गरेको छ त्यो कार्यान्वयनमा आउँदा एक प्रकारले खुशीको अनुभूति पनि भएको छ ।

गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्नका लागि धेरै समस्याहरु आएका छन् । हामीले नागरिकता लिन सुरु गरेको डेढ महिनाको अवधिमा धेरै साथीहरुले उत्साहपूर्वक यो नागरिकता लिइरहनु भएको छ । तर यसको कार्यान्वयनमा केही समस्याहरु देखा परेका छन् । नेपाली नागरिकता लिइसकेपछि विदेशी पासपोर्टमा ट्राभल गर्दै गर्दा वा एयरपोर्टमा जाँदै गर्दा भिसा सिद्धियो, नेपाली नागरिक हुँ भनेर केही दिन उ नेपालमै बस्यो तर भिसाको अवधि सकिँदा अध्यागमनले पेनाल्टीसम्म लिएको अवस्था छ । यो व्यवस्था सहज बनाउनका लागि नेपाल सरकार तत्कालै गम्भीर बनेर समस्याको समाधान गर्न तयार हुनपर्छ । यी समस्याहरुलाई जति सक्दो चाडो सम्बोधन गर्न म नेपाल सरकारलाई आग्रह गर्दछु।

१. नेपालको संविधान २०७२ को दफा १४ मा नेपाली नागरिक सरह सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने उल्लेख छ। संविधानले व्यवस्था गरे अनुसार व्यवहार गर्न नेपाल सरकारले सम्पूर्ण सरकारी निकायलाई स्पष्ट निर्देशन दिन जरुरी छ । जसअनुसार एनआरएन नागरिकता वाहकलाई अध्यागमनमा छाप मात्रै लगाएर ‘इन र आउट’ हुने व्यवस्था गर्न तथा मालपोत कार्यालय, कम्पनी हाउस लगायतलाई संविधानले प्रदत्त गरेका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार नेपाली नागरिक सरह उपलब्ध गराउन सर्कुलर गर्न जरुरी छ ।

२. एनआरएन नागरिकता वाहकले नेपाल भ्रमण गर्दा लिएको भिसा सकिएपछि जरिवाना तिर्नुपर्ने जस्ता समस्या देखिएका छन्। त्यस्तै जिल्ला जिल्लामा एनआरएन नागरिकता प्रदान गर्दा फरक व्यवहार गरिएको पाईएको छ। त्यसैले एनआरएन नागरिकता वितरणमा समान व्यवहार गर्न एक रुपता ल्याउन निर्देशन दिन आवश्यक छ ।

३. एनआरएन नागरिकता पाएपछि पासपोर्ट पनि उपलब्ध गराउन अति आवश्यक तथा जरुरी छ। यसले गर्दा एनआरएनहरुलाई यात्रा गर्न सहज हुने छ भने नेपाल सरकारलाई पनि राजस्व प्राप्त हुनेछ ।

एनआरएन नागरिकताको कार्यान्वयनपछि संसारभरिका नेपालीहरुले नेपालमा रहेको उनीहरुको सम्पत्ति बिक्री वितरण गरेर विदेश लग्ने प्रवृत्तिमा कमी आइरहेको छ। नेपालमा लगानी गर्न उनीहरुको रुची बढेर गएको छ। त्यस्तै विदेशमा हुर्की रहेका दोश्रो र तेश्रो पुस्ताका एनआरएनहरुले पनि नेपालको नागरिकता लिन चासो देखाई रहेका छन्। त्यसैले मुलुकको स्वतन्त्रता र सार्वभौमिकता सुदृढ हुने तथा आर्थिक समुन्नतिमा पनि मद्दत पुग्ने यो ऐतिहासिक निर्णयको कार्यान्वयन प्रक्रियालाई अरु सहज र झन्झटमुक्त बनाउन म नेपाल सरकार समक्ष हार्दिक आग्रह गर्दछु।

के के छन् प्रक्रिया ?

सबैभन्दा पहिले त आफूले लिएको विदेशी पासपोर्ट तथा नागरिकताको कपी, आफ्नो पुरानो नेपाली नागरिकताको कपी र त्यो छैन भने बाबुआमा वा बाजेबज्यैको नागरिकताको कपी र वडा कार्यालयको सिफारिस लिएर गइ आफूले प्राप्त गरेको पुरानो नागरिकता परित्याग गरेपछि गैर आवासीय नेपाली नागरिकता पाउने व्यवस्था छ । नियमावालीमा यदि एनआरएन कार्ड लिएको छ भने त्यो पनि पेश गर्नु पर्ने भनिएको छ । एनआरएन कार्ड लिएको छैन भने त्यो अनिवार्य होइन ।

वंशजको नेपाली नागरिकता

संविधान बन्ने बेलामा सबैभन्दा बढी छटपटाएर हाम्रो अधिकार कटौती भयो भनेर हामीले आवाज उठाएका थियौं । संविधानमा सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारसहितको नागरिकताको कल्पना गरियो । हामी संविधानभन्दा माथी नभएकाले बाध्य भएर यस्तो व्यवस्था स्वीकारेका हौं । तर नागरिकता निरन्तरताको मुद्दा जारी नै छ । हामी नेपालका दोस्रो दर्जाका नागरिक होइनौं । एउटा नागरिकको एउटा अधिकार र अर्को नागरिकको अर्को अधिकार हुन सक्दैन । चाँडै संविधान नै संशोधन गरेर व्यवहार गरिनुपर्छ भन्ने हाम्रो माग हो । मैंले नागरिकता लिँदाको दिनमै प्रधानमन्त्रीज्यू समक्ष संविधान संशोधन ऐन, नियमावली र परिवर्तन गरेर समान अधिकारसहितको नागरिकताको व्यवस्था गर्न आग्रह गरेको थिएँ ।

बंशजको नेपाली नागरिकतामा भने केही कठिनाइ छ । सबैभन्दा राम्रो त बंशजको आधारमा प्राप्त नागरिकतलाई निरन्तरता गरेर पछि पुस्तौं पुस्तासम्म पाउने व्यवस्था भयो भने अति राम्रो हुन्छ । तर, हामी संविधानमै चुकेका छौं । त्यसैले एक पटक नागरिकता लिइसकेका नेपालीहरुले अरु देशमा पुस्तापुस्तासम्म पाउने व्यवस्था गर्नुपर्छ । अहिले पनि ६० भन्दा बढी देशहरुमा दोहोरो नागरिकताको प्रबन्ध छ । त्यसरी राख्न सकियो भने अझ समस्या समाधान गर्न सफल भइन्छ । हामीले मागेको नागरिकता बंशजको नागरिकता र नागरिकताको निरन्तरता थियो तर संविधानमा व्यवस्था गर्ने बेलामा थोरै चुकेका छौं । तर जे ब्यवस्था भयो त्यसलाई लिएर भए पनि एक स्टेप प्रगति भयो । यसमा सुरुआत भएको छ, तर यसलाई व्यवस्थित गर्नुपर्दछ ।

अहिलेको संविधानले जुन नागरिकताको कल्पना गरेको छ यसमा राजनीतिक अधिकार दिइएको छैन । त्यसैले हामीले नेपालको चुनावमा भोट हाल्न वा उम्मेदवारी दिन पाउँदैनौं। तर मतदानको अधिकारसहितको गैर आवासीय नेपाली नागरिकताको पहलमा लाग्न जरुरी छ । केही अभिव्यक्तहरुरु सुनिएको छ, संविधान बनाउने बेलामा चुकेको कुरा हामी चुक्यौं भने संविधान बनाउने बेलामा चुक्यौं, अहिले चर्को कुरा गरेर केही अर्थ छैन।

भूतपूर्व गोर्खाहरुको हकमा चाहिं उहाँहरु त्रिपक्षीय सन्धि अनुसार बेलायत आउनु भएकाले उहाँहरुले ब्रिटिस पासपोर्ट पाएपछि नेपाली नागरिकता खोस्ने कुराले अन्याय हुन्छ । त्यो अन्याय गर्न हुँदैन । त्यसका लागि संविधान संशोधन गरेर भएपनि नेपाली नागरिकता व्यवस्था गर्नुपर्छ ।

देशको सेवा गर्ने अपूर्व अवसर

हामी एनआरएनहरु माथि जहिले पनि मागी रहने भन्ने आरोप लाग्ने गरेको छ, अब हामीले मात्री भूमिसंग माग्ने होइन दिने बेला आएको छ। चाहे भूकम्पको बेला होस् वा बाढी पहिरो, नेपालीलाई दुःख पीर पर्दा हामीले सँधै हातेमालो गर्ने गरेका छौं। एक अध्ययनका अनुसार गैर आवासीय नेपालीहरुले नेपालका विभिन्न क्षेत्रमा झन्डै एक खर्ब रुपियाँ बराबरको लगानी गरेका छन् भने अरबौं रुपियाँ बराबरका कल्याणकारी कार्यहरु गरेका छन्। अब हामीसंग रहेको सीप र श्रोत नेपालको विकासमा तथा रोजगारी सृजना गर्न लगाउनुपर्छ। देशप्रतिको मायाको भावनाले गर्दा विदेशमा निर्व्याजी रुपमा रहेको पैसा नेपालमा ल्याउने र चाहेको बेला लैजान पाउने व्यवस्था गर्नुपर्छ । एनआरएनहरुले नेपालका बैंकहरुमा खोलेको डलर एकाउन्टमा रहेको पैसाबाट नेपालमै लगानी गर्ने र मुनाफा फिर्ता लग्न पाउने व्यवस्था गरिनुपर्छ। त्यस्तै जन्मेको माटोलाई विदेशी माटोमा लगेर नमिसाउन र यहाँको सम्पत्ति बेचेर विदेश नलगिदिन पनि सबै एनआरएन मित्रहरुप्रति मेरो सधैं अपिल छ ।

दुःखका साथ भन्नुपर्दा गैर आवासीय नेपाली संघ जुन हिसावले हामीले बनाउन चाहेका थियौं, अहिलेको अवस्था रह्यो भने हामीले कल्पना गरेको जस्तो एनआरएनए बनाउन सकिँदैन । हामी जबसम्म एकै ठाउँमा बसेर काम गर्दैनौं, तबसम्म हाम्रो उद्देश्य पूरा हुँदैन । तर संस्थामा कहिलेकाँही अलिकति विकृति र संस्था आफ्नो मुठ्ठीभित्र राख्न प्रयास गर्दैगर्दा र केही स्मार्ट एनआरएनए र टेक्नोलोजीको नाममा संस्थालाई दुरुपयोग गर्ने काम धेरै नै भएको छ । अब सबै एकै ठाउँमा बसेर छलफल गरेर गैर आवासीय नेपाली संघको हितमा अगाडि बढ्नुको विकल्प छैन । अहिले भएका तिता मिठा कुराहरु छन्, सबैले बसेर छलफल गरेर समस्याको समाधान गरेर अघि बढ्नका लागि सबै पक्ष विनम्रताका साथ जुट्नुपर्ने जरुरी छ ।

(आचार्य एनआरएनएका निवर्तमान अध्यक्ष हुन्)

तपाइँको प्रतिक्रिया