शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०६:४५ |सिड्नीको समय: ०४:४५ |काठमाडौंको समय: ००:३०

इजरायलमा रोजगारीको प्रलोभन देखाउने गिरोह सक्रिय

एएनजेड खबरडिसेम्बर १४, २०२३

काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

विभागले इजरायलमा कृषि श्रमिक माग भएको प्रलोभन देखाएर ठगी भएका धेरै गुनासो विभागमा आएकाले सचेत रहन आमयुवालाई आग्रह गरेको हो । नेपाल सरकार र इजरायल सरकारबिच श्रम समझदारी भए अनुसार मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने काम भइरहेको विभागले जनाएको छ । यस्तै इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा इजरायलसँग छलफल भइरहेको भए पनि यस विषयमा कुनै निर्णय भइनसकेकाले कुनै व्यक्तिको प्रलोभनमा नपर्न विभागका निर्देशक कविराज उप्रेतीले विज्ञप्तिमार्फत आग्रह गरे ।

विज्ञप्तिका अनुसार इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति तथा समूहले गैरकानुनी रूपमा प्रलोभनमा पारी रकम उठाउने गरेको सूचना आएको भन्दै विभागले सचेत गराएको छ । विभागका निर्देशक एवं प्रवक्ता कविराज उप्रेतीले कृषि क्षेत्रको ‘लर्न एन्ड अर्न’ कार्यक्रम तथा अरू क्षेत्रमा रोजगारीको अवसर भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेकाले सचेत रहन आग्रह गरे ।

बेनामी वेबसाइट खडा गरी त्यसमार्फत सूचना गरेर इजरायलमा आकर्षक रोजगारीको प्रलोभन देखाई लाखौँ रुपियाँ उठाउने धन्दा चलिरहेकाले त्यस्ता गलत सूचनाप्रति सचेत रहन उनले आग्रह गरे ।

तपाइँको प्रतिक्रिया