शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १७:५९ |सिड्नीको समय: १५:५९ |काठमाडौंको समय: ११:४४

नेपाली ध्वजाबाहक विमान अष्ट्रेलिया उडानको अन्तिम तयारीमा

एएनजेड खबरडिसेम्बर २०, २०२३

काठमाडौं । नेपाल वायु सेवा निगमले बहुप्रतिक्षीत नेपाल–अष्ट्रेलिया सिधा उडानको अन्तिम तयारी गरिरहेको जनाएको छ । सन् २०१९ मा नेपाल र अस्ट्रेलियाबीच हवाई सम्झौता भएको थियो ।

निगमले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाइसकेको र अष्ट्रेलियन नागरिक उड्डयनसँग उडान अनुमतिको प्रतिक्षामा रहेको निगमका प्रवक्ता रमेश पौडेलले एएनजेट खबरलाई जानकारी दिए ।

‘अनुमतिका लागि अष्ट्रेलियन नागरिक उड्डयनलाई पत्राचार गरिसकेका छौं । अरु सबै प्रक्रिया पुरा भइसकेको छ । राष्ट्रिय स्तरमा र दूतावासले अनुमतिका लागि पहल गरिरहेको छ । केही महिनाभित्रै उडान शुरु हुनेछ,’ प्रवक्ता पौडेलले भने ।

सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि स्लट दिइसकेकाले अब अनुमति पत्रको प्रतिक्षामा रहेको उनले बताए । ‘किङ्सफर्ड स्मिथ अन्तर्राष्ट्रिय विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको छ अब उडान अनुमति पत्र पर्खिरहेका छौं । अष्ट्रेलियन नागरिक उड्ययन प्राधिकरणमा आवश्यक कागजपत्र सबै पुरा गरेका छौं,’ प्रवक्ता पौडेलले भने ।

उडान अनुमतिका लागि नेपाल सरकार, पर्यटन मन्त्रालय र नेपाल एयरलाइन्सले प्रक्रिया पुरा गरेको र दूतावासले सहजीकरण गरिरहेको निगमले जनाएको छ । करिब दुई लाख नेपाली बसोबास रहेको अष्ट्रेलियामा नेपालीहरुको आउजाउ बाक्लो हुने गरेको छ ।

निगमसँग भएको एयरबस ३३० जहाजले सिधा अष्ट्रेलिया उड्न नसक्ने भएकाले सिंगापुरमा तेल भरेर उडान गर्ने प्रस्ताव पेस गरेको थियो। अब चाँडै राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले अस्ट्रेलिया उडान गर्नेछ । यसअघि कोभिडको समयमा निगमले सिड्नी र मेलबर्नबाट चार्टड उडान गरिसकेको छ।

तपाइँको प्रतिक्रिया