शनिबार, वैशाख २२, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०३:०३ |सिड्नीको समय: ०१:०३ |काठमाडौंको समय: २०:४८

नेपालका राष्ट्रिय खेलाडी: जसले स्वदेश त्यागे, अष्ट्रेलिया रोजे

एएनजेड खबरडिसेम्बर २४, २०२३

काठमाडौं । नेपालमा ख्याती कमाएका राष्ट्रिय खेलाडीहरु अष्ट्रेलिया पहिलो रोजाइमा पर्ने गरेको पाइएको छ । पछिल्ला तीन बर्षमा करिब एक दर्जन बढी खेलाडी अष्ट्रेलिया उडेका छन् ।

राज्यले खेलाडी पलायन रोक्न कुनै नीति ल्याउन नसक्दा र खेलकुद क्षेत्रको भविष्य धराप बन्दै गएको भन्दै खेलाडीहरुले देश छाड्ने गरेका छन् । राष्ट्रिय फुटबल टिमका खेलाडी विमल घर्ती मगर, राष्ट्रिय फुटबल टिमका मिडफिल्डर सन्तोष तामाङ नेपालमा खेलकुदमा भविष्य सुनिश्चित नहुने ठानेर अस्ट्रेलिया पलायन भइसकेका छन् ।

राष्ट्रिय फुटबल टिमबाट खेलेका विमल राना, हेमन्त थापा मगर, आसिष लामा, सुमन लामा, दर्शन गुरुङ र नवीन गुरुङसहितका खेलाडी पनि अस्ट्रेलिया पुगिसकेका छन् । यसअघि स्ट्राइकर दीपकराज सिंह ठकुरी, पुजन उपरकोटी, रविशंकर पासवान र निशान खड्का अस्ट्रेलिया गइसकेका छन्। राष्ट्रिय टिममा रहेर चर्चा कमाएका सुजल श्रेष्ठ र रजिन धिमाल पनि अष्ट्रेलियामै संघर्ष गर्दैछन् ।

नेपालको कमजोर खेल संरचना र त्यसबाट जीवन निर्वाह गर्न कठिनाइका कारण खेलाडीहरु नेपाल छाड्न बाध्य छन् । ठ्याक्कै आधिकारिक तथ्यांक नभए पनि फुटबलका मात्र ३० खेलाडीले आफ्नो करियर छाडेर रोजगारीका लागि अष्ट्रेलिया पुगेका छन् ।

१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जितेका भूपेन श्रेष्ठ पनि अष्ट्रेलियामा करियर बनाइरहेका छन् । स्वर्ण नै जितेका सक्षम कार्की, पार्वती गुरुङ र सञ्जिला तिमल्सिना पनि अष्ट्रेलियामै छन् । यसरी नै कास्य पदक जितेका मनोज मल्ल, ज्ञानेन्द्र हमाल र निश्चलमान श्रेष्ठ अस्ट्रेलिया मै छन् ।

घरेलु टोलीमा सामेल हुने सिलसिलामा वा विद्यार्थी भिसामा अष्ट्रेलिया जाने खेलाडीको संख्या बढ्न सक्ने एन्फाका पूर्व केन्द्रीय सदस्य निरोज खड्गीको भनाइ छ । ‘स्वदेशमै खेलेर जीवन धान्ने अवस्था राज्यले सिर्जना गर्नुपर्ने हो तर जुनसुकै सरकार पनि खेलाडीप्रति त्यति उदार छैन,’ उनले भने । खेल क्षेत्रमा बढ्दो राजनीति साथै बिकृतीका कारण अवसर नपाएर खेलाडीहरुले विदेश रोज्ने गरेका छन् ।

तपाइँको प्रतिक्रिया