बुधबार, जेठ २, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ०५:०७ |सिड्नीको समय: ०३:०७ |काठमाडौंको समय: २२:५२

४१ देशसँग नेपालको हवाइ सम्झौता, यस्तो छ पछिल्लो तयारी

एएनजेड खबरडिसेम्बर २४, २०२३

काठमाडौं । नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४१ पुगेको छ । हालै रुवान्डासँग सातामा १४ उडान गर्ने गरी सम्झौता भएसँगै उक्त देशमा बिनारोकतोक नेपाली वायु सेवा कम्पनीले उडान भर्न पाउने छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आगामी माघ तेस्रो सातासम्म थप दुई मुलुकसँग द्विपक्षीय हवाई सम्झौताका लागि प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने, रुवाण्डासँग दुवै देशका वायु सेवा कम्पनीले सातामा १४र१४ उडान गर्ने गरी सम्झौता भएको छ । माघ तेस्रो सातासम्म स्विट्जरल्यान्ड, इन्डोनेसियासँग काठमाडौँमा द्विपक्षीय हवाई सम्झौता गर्न मन्त्रीपरिषद्को बैठकबाट स्वीकृति पाइसकेका छौँ ।’

उनले नेपाल र रसियाबिच द्विपक्षीय हवाई सेवा सम्झौताको समेत समन्वय भइरहेको जानकारी दिए । मन्त्रालयका अनुसार रुवान्डासँग काठमाडौँमा बढीमा सात वटा र थप सात वटा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्नुपर्ने गरी हवाई सम्झौता भएको छ ।

नेपालले ४१ वटा देशसँग द्विपक्षीय हवाई उडान सम्झौता र युरोपियन युनियनसँग बहुपक्षीय सम्झौता गरे पनि १३ वटा मुलुकमा मात्रै उडान गरिरहेको छ । नेपालले सन् १९९५ देखि एकल र बहुपक्षीय उडान गर्ने गरी सम्झौता गर्दै आएको छ । यसबाट अन्तर्राष्ट्रिय उडानमा एकतर्फी करिब ८० लाख हवाई सिट उपलब्ध रहे पनि सञ्चालित उडानबाट करिब ३० लाख हवाई सिट मात्र उत्पादन हुन सकेको छ । हाल नेपालबाट अन्तर्राष्ट्रियतर्फ नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले उडान अनुमति पाएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सका आठ वटा जहाजले हाल अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । निगमले हाल आठ वटा देशका १० वटा गन्तव्यमा उडान गर्दै आएको छ। हिमालय एयरलाइन्सले सात वटा देशमा उडान गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया