मंगलबार, जेठ १, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: १४:४८ |सिड्नीको समय: १२:४८ |काठमाडौंको समय: ०८:३३

अष्ट्रेलियाकी आरिज्ञा रेग्मी एनआरएन नागरिकता लिने दोस्रो पुस्ताकी पहिलो नेपाली !

एएनजेड खबरडिसेम्बर २८, २०२३

सिड्नी । सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेपछि नागरिकता लिनेहरुको संख्या बढ्दै गएको छ ।

अष्ट्रेलियामा जन्मिएकी दोस्रो पुस्ताकी आरिज्ञा रेग्मीले हालैमात्र गैरआवासीय नेपाली नागरिकता लिएको उनका पिता डाक्टर ज्ञानेन्द्र रेग्मीले फेसबुकमार्फत जानकारी गराएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रेग्मीका बावुछोरीलाई नागरिकता प्रदान गरेका हुन्।

आरिज्ञा सम्भवतः गैरआवासीय नेपाली नागरिकता लिनेमध्ये दोस्रो पुस्ताकी पहिलो नेपाली हुन । ‘सम्भवतः दोस्रोपुस्ताको गैर आवासीय नेपालीहरु मध्ये छोरी आरिज्ञा रेग्मी पहिलो नेपाली हुन् गैर आवासीय नेपाली नागरिकता लिने मध्येमा,’ ज्ञानेन्द्रले फेसबुकमा लेखेका छन् ।

डाक्टर रेग्मी एनआरएनए अन्तराष्ट्रिय समितिका सचिव हुन् भने लामो समयदेखि एनआरएनए अभियानमा सकृय रहदै आएका छन् । गैरआवासिय नेपालीलाई दोहोरो नागरिकता दिनु पर्ने अभियानका अभियन्ता समेत रहदै आएका डा. रेग्मी एनआरएनको संस्थागत सुदृढिकरण अभियानमा पनि त्यतिकै सकृय छन् ।

अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी आरिज्ञा केही दिन अघि मात्र परिवारका साथ नेपाल आएकी हुन । सरकारले गैरआवासीय नेपालीलाई गत अक्टोबरदेखि गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको थियो। नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ।

सरकारले ७७ वटै जिल्लाबाट गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था मिलाएको छ। गत अशोज अन्तिम साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनआरएनएका तत्कालीन अध्यक्ष कुल आचार्यलाई पहिलो नागरिकता प्रदान गर्दै नागरिकता वितरणको शुभारम्भ गरेका थिए ।

आचार्यले जिल्ला प्रसासन कार्यालय पर्वतबाट २०८० असोज २८ गते लिनुभएको गैर आवासीय नेपाली नागरिकता प्रधानमन्त्रीको हातबाट पहिलो पटक हस्तान्तरण गरिएको थियो । त्यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट असोज २९ गते जारी भएको एनआरएनएका अध्यक्ष डा.बद्री केसीलाई दोस्रो नागरिकता लिएका थिए ।

तपाइँको प्रतिक्रिया