मंगलबार, जेठ १, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: १९:२३ |सिड्नीको समय: १७:२३ |काठमाडौंको समय: १३:०८

कोरियामा नेपाली युवाको आकर्षणः ईपीएसमार्फत करिब ६४ करोड रुपैयाँ विदेशिने

एएनजेड खबरडिसेम्बर २८, २०२३

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)बाट दक्षिण कोरिया जान १ लाख ४३ हजार भन्दा बढिले आवेदन दिए । उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेकोमा १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए ।

उनीहरूले प्रतिव्यक्ति २८ अमेरिकी डलर दस्तुर तिरेर आवेदन फाराम भरेका हुन् । उनीहरूले तिरेको उक्त पैसा एचआरडी कोरियाको खातामा जान्छ । त्यो पैसाले एचआरडी कोरियाले परीक्षा सञ्चालन गर्न खर्चिँदै आएको छ ।

उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूबाट ईपीएस शाखाले ५३ करोडभन्दा बढी रकम सङ्कलन गरेको छ । प्रति अमेरिकी डलर बराबर १३३ रुपैयाँ हुँदा आवेदन दिएकाहरूबाट ५३ करोड ५५ लाख ५५ हजार रुपैयाँ सङ्कलन भएको हो । यसमा २८ हजारभन्दा बढी यसअघि सीप विल्डिङका लागि आवेदन दिएर अनुउत्तीर्ण भएकाहरूले फाराम भर्न बाँकी छ ।

उनीहरूलाई समेत आवेदन फाराम भर्न दिएको खण्डमा आवेदन दिनेहरूको सङ्ख्या १ लाख ७२ हजारको हाराहारीमा हुन्छ । उक्त हिसाब गर्दा २८ डलरको दरले ६४ करोड भन्दा बढी रकम हुन आउँछ । ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीले तिरेको सबै २८ डलर नै कोरिया पठाइने गरेको बताए । कोरिया पठाएपछि कोरियाले ८ डलर ईपीएस कार्यालयलाई फिर्ता गर्ने गरेको उनको भनाई छ ।

सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला भइसकेको छ । उनीहरूलाई पुस १३ गते बिहान १० बजेदेखि ३ बजेसम्म ईपीएस शाखा ग्वार्कोमा सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षाको प्रवेशपत्र र तोकिएको शुल्क लिइ सम्पर्क गर्न ईपीएस कोरिया शाखाले अनुरोध गरेको छ ।

यसअघि ईपीएस शाखाले मंसिर १९ गते उत्पादनमूलक क्षेत्रका लागि कोरियन भाषा परीक्षाको आवेदन फाराम खुलाउँदा अन्य क्षेत्रतर्फ कोरियन भाषाको परीक्षाको लागि आवेदन दिएका आवेदकले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउने उल्लेख थियो ।

यो व्यवस्थाविरुद्ध सिप बिल्डिङ क्षेत्रमा सामेल भएका आवेदकले उच्च अदालत पाटनमा निवेदन पेस गरेपछि अदालतले फाराम भर्न रोक नलगाउन आदेश दिएको थियो । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखाले आवेदन फाराम खुला गरेको हो ।

तपाइँको प्रतिक्रिया