बुधबार, जेठ २, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: ०८:४५ |सिड्नीको समय: ०६:४५ |काठमाडौंको समय: ०२:३०

डा.कोइराला भन्छन्: भ्रष्टाचारको काण्डमा नेताहरुको नाम मुछिएपछि ढाकछोप गरियो

एएनजेड खबरडिसेम्बर २८, २०२३

फिदिम । नेपाली काँग्रेसका बरिष्ठ नेता डा.शेखर कोईरालाले ठूलो भ्रष्टाचारका काण्डहरुमा ठूला नेताहरुको हात रहेको उल्लेख गरेका छन् । नेपाल प्रेस युनियन पाँचथरले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कोईरालाले भ्रष्टाचारको काण्डमा नेताहरुको नाम मुछिएपछि ढाकछोप गरिएको उल्लेख गरे ।

‘सुन काण्डमा ठूला नेता मुछिएपछि सामसुम भयो,’ कोईरालाले भने ‘एनसेल खरिद बिक्रि काण्डमा पनि त्यस्तै भएको छ ।’ देशमा दलका नेता, व्यापारी र कर्मचारीहरु मिलेर ठूला ठूला भ्रष्टाचार गरेको कोईरालाले उल्लेख गरे ।

पत्रकारसँग कुरा गर्दै उनले अहिलेको सरकारले देशलाई निकाश दिन नसक्ने बताए । देशलाई निकाश दिन प्रधानमन्त्री परिवर्तन गर्न कोशिस भईरहेको कोईरालाको भनाई थियो ।

अहिलेको सरकाले देशलाई बरवाद गरेको उनले जिकिर गरे । ‘देशलाई बचाउन सरकार परिवर्तन अपरिहार्य भईसक्यो,’ उनले भने ‘संसदीय व्यवस्थामा गणितको खेल हुन्छ । राम्रो सरकार निर्माणका लागि हामी पहल गरिरहेका छौँ ।’

देशको अर्थतन्त्र डामाडोल भएको उल्लेख गर्दै उनले बैंकहरु पनि मिटरव्याजी भएको उल्लेख गरे । उद्योगी र बैंकर्ष एउटै व्यक्ति हुनु नहुने कोईरालाले उल्लेख गरे । ‘नेपालमा उद्योगी र व्यापारीले नै बैंक सञ्चालन गरेका छन्,’ कोईरालाले भने ‘यसरी एउटै व्यक्ति सबैतिर हुनु ठीक हैन् ।’

तपाइँको प्रतिक्रिया