शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १७:०३ |सिड्नीको समय: १५:०३ |काठमाडौंको समय: १०:४८

बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई १०/१० लाख रुपैयाँ राहत

एएनजेड खबरडिसेम्बर ३०, २०२३

काठमाडौं । सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई जनही १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो घटनाका मृतक दैलेखका सुजन रावत र अछामका वीरेन्द्र साहको परिवारलाई १०/१० लाखका दरले राहत उपलब्ध गराउने निर्णय हो ।

सो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।

बैठकले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ । त्यसैगरी मन्त्रिपरिषद् बैठकले सो घटनामा परी घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको पनि सञ्चारमन्त्री शर्माले बताए ।

सो घटनामा निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गर्न र आगामी दिनमा त्यस्ता प्रकृतिका घटना हुन नदिन पनि गृह मन्त्रालयलाई मन्त्रिपरिषद् बैठकले सचेत गराएको छ । सरकारले सो घटनालाई संयमतापूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन पनि सबैलाई अपिल गरेको छ ।

मन्त्रिपरिषद् बैठकले आगामी दिन त्यस्तो घटना हुन नदिने प्रतिवद्धता समेत जनाएको छ । मन्त्री शर्माले आगामी दिनमा त्यस्ता घटना हुन नदिने गरी शतर्कता, संयमता बनाउन गृह मन्त्रालय र मातहतका निकायलाई पनि बैठकले निर्देशन दिएको बताए ।

तपाइँको प्रतिक्रिया