शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १८:१० |सिड्नीको समय: १६:१० |काठमाडौंको समय: ११:५५

मन्त्री राणा भन्छन्ः : विदेशबाट आएका पर्यटकलाई बोर्डरमै गएर फुलमाला लगाऔं

एएनजेड खबरडिसेम्बर ३१, २०२३

बुटवल । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले होलट तथा रेष्टुरेन्ट व्यवसायीका समस्या समाधान गर्न आफू तयार रहेको बताएका छन् ।

शनिबार बुटवलमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीले आयोजना गरेको फुडफेस्टीभलको कार्यक्रमलाई सम्बोधन गर्दै राणाले व्यवसायीहरुलाई आफ्ना माग लिएर छलफल गर्न आग्रह गरे । उनले आफ्नो मन्त्रालयबाट हुने सहयोग गर्न तयार रहेको बताए ।

उनले भने, ‘हामी व्यवसायीहरु ऋणमा छौँ अथवा हामीले केही प्रयासहरु गरिरहेका छौँ भन्ने कुरा सबैले बुझिरहेका छौँ । म अलिक कडा बोल्छु । अलिक तिखो बोल्छु । सायद धेरैलाई चित्त नबुझ्ला । आयोजकलाई पनि यसलाई बोलाएर ल्याएर आइयो यसले यसो कुरा ग¥यो भन्नु होला । यसको लागि माफी चाहन्छु ।’

‘म यस्तो कार्यक्रमको विपक्षमा छु । जसले नेताभरि जम्मा गरेर भाषण गर्ने कार्यक्रमको विपक्षमा छु । तपाईहरुको समस्या के हुन् ? म उद्योग मन्त्री हुँ । आउनुस् । के गर्नुपर्छ छलफल गरौँ’, उनले भने, ‘मैले यहाँ के तपाईहरुको काम गर्दैन भन्छु होला ? स्टेजमा आएर कुनै नेता बोल्दै गर्दा हैन म गर्दैन भन्छु होला ? यसरी तपाईहरुको समस्या समाधान पक्कै हुँदैन ।’

मन्त्री राणाले भने, ‘खेलराज दाई (बुटलव उपमहानगरपालिकाको मेयर खेलराज पाण्डे) यहीँ हुनुहुन्छ । यहाँको नगरप्रमुख यहीँ हुनुहुन्छ । सीडीओ साप हुनुहुन्छ । संघीय सांसद हुनुहुन्छ । बसौँ छलफल गरौँ । तपाईहरुलाई व्यसाय गर्न के ले रोकेको छ ? हामी त्यसमा सहकार्य गरौँ ।’

उनले भने, ‘अहिले तपाईहरुले नेतालाई लगेर खाना चखाएर, के नेताहरुले चखाएको खानाले पैसा उठ्छ ? यो पक्कै हुँदैन । म यस्तो चिजहरुको विपक्षमा छु ।’

‘तपाईहरुले झाँकी देखाउनु हुन्छ यहाँ ? ल थारु संस्कृति देखाउने हो भने माघ १ गते के गर्ने हो ? त्यसको लागि तयार हौँ । सरकारले के गर्नुपर्ने हो ? नगरले के गरेको छ ? त्यसको लागि तयार गरौँ’, उनले भने, ‘भीआईपीहरु जम्मा हुँदा यति धेरै सुरक्षाकर्मी जम्मा भएका छन् । उनीहरुलाई काम गर्न दिऔँ । हामी हाम्रो काम गरौँ । हाम्रो काम नीति र नियम बनाउने हो ।’

‘हामी जे कामको लागि आएका हौँ त्यहीँ गरौँ । उद्योग तथा यातायात व्यवस्था मन्त्रीको हैसियतले मैले के गर्ने हो दिल र ज्यान दिएर सहयोग गर्छु’, उनले भने ।

‘उद्योग व्यवासयी निकै समस्यामा छन् । मर्कामा छन् । अहिले चार वटा विदेशबाट आएका पर्यटकलाई माला लगाउने अवस्था आयो’, मन्त्री राणाले भने, ‘भारतबाट स्वर्गद्वारी जान हजारौँ पर्यटक आउँछन् । बोर्डरबाट आएको गाडीलाई स्वर्गद्वारी जाँदा बीस ठाउँमा चेकजाँच हुन्छ । आजित भएर जान्छ । चेकजाँच गर्ने हो भने बोर्डरमा गर्दा हुन्छ । जे गर्नुछ बोर्डरमा गरौँ । बोर्डरबाट हिँडेपछि उनीहरुलाई बाटोमा फूलमाला लगाइँदिऔँ । लुकेर बस्ने विदेशी, अनि प्रहरीले टर्च लाइट बालेर नम्बर प्लेट हेर्छ । भारतीय हो कि होइन भनेर । यसरी पर्यटक कसरी आउँछ ।’

मन्त्री राणाले भने, ‘कार्यक्रममा नजाऔँ भन्यो । हार्नै नसक्ने व्यक्तिले बोलाउनु हुन्छ । फेरि राजनीतिमा असर पर्छ कि भनेर जानैपर्छ ।’ व्यवसाय गर्ने बेला व्यवसायीले ८ ९ प्रतिशतको दरले व्याजदरमा ऋण लिएर व्यवसायी गर्छ । अर्को वर्ष १५ प्रतिशतसम्म व्याज बढ्छ । व्यवसायीले कसरी तिर्न सक्छ ? त्यसलाई समाधान गर्नेतिर लागौँ’, मन्त्री राणले भनेका छन् ।

तपाइँको प्रतिक्रिया